बस्तु र चेतनाको अन्तरद्वन्द्वभित्र
घात र प्रतिघातका बिचबाट
सङ्गीनको सङ्गीतमय धुनमा
जब तिमी मयुरनाचमा मुग्ध भयौ
तब पृय कमरेड,
निशाचर बारुदी सुरुङबाट उत्पन्न
धुवाका मुस्लाहरूभित्रबाट पनि
विद्रोहको तापमान प्रकाश बोकेर
तिमीले चेतनाको सुन्दर दियो बाल्ने हिम्मत गर्याै ।

चुनौती र संभावनाको दोबाटोबाट
भीमकाय मौनतामाथि बिजेता बनेर
सतिसाल झै अकन्टक साहस बटुल्दै
दुश्मनका सेता अखडाहरूमा
बारुदी चट्ट्याङ बनेर बर्सने आँट ग¥यो ।
त्यसैले त कमरेड,
सुनाखरी फुल्ने पाखाहरूसँग
लालिगुराँसहरूले मित्रता गाँस्न पुगे ।
लालिगुराँस र सुनाखरी फुल्ने भेगहरूमा
लालुपाते मखमली र चाँपहरूले मिलेर
एक आपसमा सुगन्ध बाढ्न थाले ।
अनि सुगन्धित पुष्पउद्यानमा
माहुरीहरू भुनभुनाउन थाले ।
भ्रमराहरू भुनभुनाउन थाले ।
कोइलीहरूको कोकिल अवाजमा
गौथलीहरूले स्वर हाल्न थाले ।
अनि तिमीद्वारा रचित,
युगौयुग गाइने तुफानका गीतहरूमा
डाँफे मुनाल र मयुरको नाचसँगै
कोइली र गौथलीहरूले हालेको भाकामा
हजारौ माहुरी र भ्रमराहरू हाँस्न थाले ।

मानव सभ्यता सुचित
नवीन विहानीको सौन्दर्यागमनमा
पृय कमरेड,
जब तिमीले उषाको लालि बनेर मुस्कान छोड्न थाल्यौ,
तव दुश्मनका वम, गोला र बारुदबाट
उजाड बनेका मरुभूमिहरूले रङ्ग भर्न थाले ।
भालेको डाकोसँग कोइलीको अवाज समिश्रण हुनथाल्यो
गरिबका बस्ती र टोलहरूमा
अन्यायको बर्खिलाप र समानताको पक्षमा
विद्रोह र चेतनाको नुतन दीप जल्न थाल्यो ।

गतिको महासागरदेखि आस्थाको सगरमाथासम्म,
तिमीले निर्दिष्ट गरेका मृत्यु र मुक्तिका मार्गहरूले
दुनियाँको बिचमा,
तिमीलाई कहिल्यै नअस्ताउने ध्रुवतारा बनाएर
क्रान्ति प्रदिपपुञ्जमा रुपान्तरण गरिदियो ।
पृय कमरेड,
सबैको मृत्युको उँचाइले
सगरमाथाको क्यानभाससँग
मित्रता गाँस्न नसक्दो रहेछ ।
सबैको विचार दृष्टिकोण र आस्थाले
समुन्द्रको गहिराई नाप्न नसक्दो रहेछ
शहिदहरूको वलिदानको आलो घाउमा टेकेर
मृत जीवनको बोझिलो भारी बोकेर बाँच्न विवस
ती एक थान निरीह मान्छेहरू,
अहिलेसम्म पनि,
आततायीहरूका शहर र राजधानीहरूमा
वर्गदुश्मनका बगैँचा र फोहर गल्लीहरूमा,
भौतारिदै र समयको क्यानभासमा हराउँदै
मृत्युको प्रतीक्षा गरिरहेका छन् ।

सपना आदर्श र निष्ठाप्रतिका धोकेवाजहरू,
गद्दारीयुक्त विभिषण मार्गबाट
अफ्नो जीवनका बोझिला लासहरू
आफैले घिसार्दै आर्यघाटतिर गइरहेका छन् ।
नव वर्गचेतना आस्था र दृष्टिकोणमाथि
वर्गबैरीसँग काँधमा काँध मिलाएर
जीउँदा मान्छेहरूलाई गिज्याइरहेका छन् ।
त्यसैले कमरेड,
अब मरेर बाँचेका जीउँदा मान्छेहरूले
बाँच्न असक्षम कथित जीउँदाहरूको
गद्दारी र धोकाधडिबाट मुर्छित वर्गचेतनामा
क्रान्ति ज्योतिर्गाभा फर्काउनु पर्दछ ।
रक्ताम्य सडक र नदिका किनारहरू
पहाडका खोँच र जङगल झाडिहरू,
अनि पहाडका पखेरा र तराईका फाँटहरूमा
मारिएका मान्छेहरूका प्रतेक छातिहरूमा,
तिमीले जस्तै
चेतना र विद्रोहको गीत लेख्न सक्नु पर्दछ ।
अन्जान बस्ती र सुदुर भेगसम्म
क्रान्तिचेतका मशालहरू बाल्न सक्नु पर्दछ ।
दुश्मनका हरेक किल्लाहरूमा
लक्षभेदित क्रान्तिमिसायल बन्न सक्नु पर्दछ ।

विद्रोहका हरेक आर्कहरूमा
सङ्गीनको धारहरूमा
हजार माइल लामो क्रान्ति यात्रा भर्न सक्नु पर्दछ ।
तोपका गोला र बारुदी धुँवाका मुस्लाहरूलाई छिचोल्दै,
क्रान्ति, हुङ्कार र तुफानका गीतहरू गाउनु पर्दछ ।
अनि पलपलको मृत्युुलाई पराजित गर्दै
कठिनाइका अनगिन्ती पहाडहरू छिचोल्नु पर्दछ ।
योजनाको गोरेटाबाट लक्ष्यको राजमार्गतर्फ
छाति खोलेर अगाडि बढ्ने साहस गर्नु पर्दछ ।
पृय कमरेड,
यो निकै कठिन
तर उत्तिकै जोखिमयुक्त कर्मको स्वर्णिम यात्रा
अब मर्ने जोखिमबाट बाँच्ने अबसर पाएका
अनि शहिदहरूको सपनाको भारी बोकेर हिडिरहेका,
सडकभरी छरिरहेका जीउँदा मान्छेहरूले तय गर्नु पर्दछ
यो जोखिम तर महान् र अनिवार्य यात्रामा
चुनौती र जटिलताका हजारौ ढिस्काहरू
बिना सङ्कोच पार गर्नै पर्दछ ।
कठिनाइ र सङ्कटका सयकडौैं पहाडहरू
सहास र हिम्मतका साथ उक्लनै पर्दछ ।
त्यतिमात्र होइन,
घात प्रतिघातक र यातनाका
हजारौं शृङ्खला पार गरेर
अटुट सम्भावनाको विजयी सगरमाथामा
स्वर्णिम क्रान्ति ध्वजा फहराउनै पर्दछ ।
पृय कमरेड,
यो काम तिमी जस्तै शरीरमा
तातो र रातो रगत उमाल्न सक्ने
जीउँदा तर राता मान्छेहरूले गर्नु पर्दछ ।
२०७९ फागुन २१, इच्छुक सास्कृतिक प्रतिष्ठान घट्टेकुलो काठमाडौं ।

प्रतिक्रिया

सम्बन्धित खवर