कमरेड कृष्णदास श्रेष्ठप्रति फाउन्डेसनद्वारा श्रद्धाञ्जली व्यक्त

कमरेड कृष्णदास श्रेष्ठप्रति फाउन्डेसनद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । कृष्णदास फाउन्डेसनको तर्फबाट अध्यक्ष महालक्ष्मी श्रेष्ठले एक वक्तव्य जारी गरी कमरेड कृष्णदास श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :
नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता कमरेड कृष्णदास श्रेष्ठको निधन २०७५ साल फागुन ११ गते भएको सर्वविदितै छ । उहाँको निधनबाट माक्र्सवादी सिद्धान्तको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा गम्भिर क्षति पुगेको नेपाली कम्युनिष्ट आन्दोलनका नेता कार्यकर्ताहरू खासगरी सच्चा कम्युनिस्ट क्रान्तिकारी धाराका नेता कार्यकर्ताहरुले महसुस गरिरहनु भएकै छ । यो धर्तीमा ८७ वर्ष बाँचेर जानुभएका कमरेड कृष्णदास श्रेष्ठले आफ्नो जीवनको अधिकांश समय माक्र्सवादी सिद्धान्तको विकास, प्रबद्र्धन र प्रचार प्रसारमै व्यतित गर्नुभयो । उहाँलाई नेपाली कम्युनिस्ट आन्दोलनको एक आधिकारिक स्कूल नै मान्ने गरिन्छ ।

माक्र्सवादप्रति अविचल निष्ठा, सर्वहारा वर्गको मुक्तिप्रति प्रतिबद्धता र वर्गसंघर्षप्रति अविचलित आस्था र निष्ठा उहाँका प्रमुख गुण हुन् । माक्र्सवादी दर्शनलाई नेपालको वस्तुगत स्थिति अनुसार मिलाउन उहाँले ठूलो प्रयास गर्नुभयो । खासगरी नेपाली समाजको चरित्र निरूपण गर्ने सम्बन्धमा र क्रान्तिको सिद्धान्त निर्माण गर्ने सम्बन्धमा उहाँका योगदान उल्लेखनीय महत्वका छन् । उहाँ अवसरवादी र संशोधनवादी कम्युनिस्टहरुको कट्टर आलोचक रहनु भयो । र, सँधै क्रान्तिकारी धारमा उभिदै आउनु भयो । उहाँले कहिल्यै पनि शुभलाभको राजनीति गर्नुभएन । राजनीतिमा इमान्दार चरित्र उहाँको मुख्य विशेषता हो ।

२००९ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा आबद्ध भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै उहाँले २०३६ सालमा आफ्नै नेतृत्वमा नेपाल माक्र्सवादी लेनिनवादी पार्टी स्थापना गर्नुभयो ।
२०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन नामक वामपन्थीहरूको मोर्चाको निर्माणमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । २०४६ साल पुस २९ गते कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारमा सक्रिय नेकपा माक्र्सवादी लेनिनवादी पार्टी (कृष्णदास श्रेष्ठ), नेकपा मशाल (मोहन वैद्य), नेकपा मसाल (मोहनविक्रम सिंह), सर्वहारा श्रमिक संगठन नेपाल (रुपलाल विश्वकर्मा), र शम्भुराम श्रेष्ठ समूहलाई मिलाएर ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामक अलग वाममोर्चाको गठन गर्नुभयो । सोही मोर्चाले २०४६ साल चैत २४ गते आयोजना गरेको देशव्यापी आम हड्ताललाई पञ्चायत विरोधी आन्दोलनको महत्वपूर्ण ऐतिहासिक दिनको रुपमा लिइन्छ । सोही आम हड्तालको स्मरणमा त्यो दिनलाई जनआन्दोलन दिवसको रूपमा कम्युनिस्ट पार्टीहरुले मनाउने गरेका छन् । २०४७ सालमा उहाँकै सक्रिय पहलमा नेकपा (मालेमा) गठन भएको थियो ।

२०५२ सालबाट जनयुद्ध सुरु भएपछि उहाँ प्रत्यक्ष परोक्ष रुपमा माओवादी नेताहरुको सम्पर्कमा रहनुभयो । बेला बेलामा उहाँसँग नेताहरुले सरसल्लाह लिइरहनु हुन्थ्यो । शान्ति प्रक्रियापछि उहाँको नेतृत्वमा रहेको नेकपा (मालेमा) र तत्कालीन नेकपा (माओवादी) बीच पार्टी एकता भयो । उहाँलाई पार्टीको सल्लाहकार समितिको अध्यक्ष बनाइयो । २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी) विभाजन हुँदा उहाँ मोहन वैद्य किरणसँगै क्रान्तिकारी धारमा उभिनु भयो । विभाजन पछि बनेको नेकपा –माओवादीमा पनि उहाँ पार्टीको सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्थ्यो । त्यही जिम्मेवारीमा रहेकै बेला उहाँको निधन हुन पुग्यो ।
उहाँले आफ्नो जीवनको अन्तिम घडीमा भनिरहनुहुन्थ्यो– एक दिन फेरि माक्र्सवादी सिद्धान्त अध्ययनको लहर अवश्य आउने छ । यो देशमा जब उथलपुथल आउनेछ, तब मानिसहरुले मेरा कृतिहरुको खोजी खोजी अध्ययन गर्नेछन् । मेरा किताबहरुको संरक्षण गर । संस्थागत गर । प्रकाशन गर्न बाँकी लेखहरुलाई प्रकाशित गर । यस्तै कुरा कृष्णदास फाउन्डेसनका सदस्यहरु र विरामी हुँदा भेट्न आउने सबै पार्टीका नेता कार्यकर्ताहरुलाई भनिरहनु हुन्थ्यो ।

कमरेड कृष्णदास श्रेष्ठको यो चौथो स्मृति दिवसमा छरिएर रहेका सबै सच्चा कम्युनिस्ट नेता कार्यकर्ता कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु कि कमरेड कृष्णदास श्रेष्ठले लेखेका कृतिहरु खोजी खोजी अध्ययन गरिदिनुस् । माक्र्सवादी सिद्धान्त बुझ्न र व्यवहारमा उतार्न उहाँका कृतिहरु निकै नै उपयोगी र सहयोगी सिद्ध हुनेछन् । नेपालमा गरिखाने श्रमजीवी शोषित उत्पीडित जनताको वास्तविक राज्य व्यवस्था स्थापना गर्ने उहाँको जीवन र कर्मको अभिष्ट थियो । त्यो अझै पूरा भएको छैन । नेपालमा फेरि पनि कम्युनिस्ट क्रान्तिको खाँचो छ । त्यस दिशामा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्ने विश्वास लिदै कमरेड कृष्णदासको स्मृति दिवसमा कृष्णदास फाउन्डेसन पनि यसै मार्गमा हिडिरहने प्रतिबद्धता व्यक्त गर्दछ । र, कमरेड कृष्णदास श्रेष्ठप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।
फागुन ११, २०७९
महालक्ष्मी श्रेष्ठ
अध्यक्ष
कृष्णदास फाउन्डेसन