फाल्गुन १०, २०७९

गण्डकी — सूर्य नेपाल वेस्टर्न ओपनमा ४५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत बुधबारदेखि हिमालयन गल्फ कोर्समा हुन लागेको चौथो प्रतियोगितामा ४५ खेलाडीले भाग लिनेछन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आयोजना गर्न लागेको वेस्टर्न ओपनको २३ औं संस्करण हो । ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गल्फरले भाग लिने एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । तीन दिन चल्ने प्रतियोगितामा दोस्रो दिनपछि उत्कृष्ट २१ व्यावसासिक र ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउने छन् । प्रो–एम शनिबार हुनेछ ।

नेपाल नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगरले भाग लिनेछन् । १३ औं सागका दोहोरो स्वर्णधारी सुवास तामाङ, राष्ट्रिय टोलीका सद्भाव आचार्य मुख्य दाबेदार मानिएका छन् । इस्टर्न ओपन एमेच्योर विजेता राजेन राईले पनि यही प्रतियोगिताबाट व्यावसायिक करियर सुरु गर्न लागेका छन् । वेस्टर्न ओपन एमेच्योर गल्फ वरीयताअन्तर्गत रहेकाले वरीयता सुधार गर्ने मौका पनि रहेको आचार्यले बताए । प्रतिस्पर्धालाई रोचक बनाउन हिमालयन गल्फ कोर्सलाई परिमार्जन गरेर कठिन बनाइएको कोर्सका सञ्चालक भुवन गुरुङले बताए । ६९ पारको १६ होलको कोर्समा पहिलो र दोस्रो होल दोहोर्‍याएर खेल्नु चुनौतीपूर्ण हुने उनले बताए । पुरस्कार राशि बढाएर ८ लाख पुर्‍याइएको छ । विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रोले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर