संशोधनवाद–विरोधी संघर्षको महत्व

संशोधनवाद–विरोधी संघर्षको महत्व

संशोधनवाद मजदूर आन्दोलनभित्र पूँजीवादी प्रभावको एउटा मुख्य अभिव्यक्ति हो, र संशोधनवादीहरु उक्त प्रभावका बाहक हुन्, सर्वहारावर्गको क्रान्तिकारी लक्ष्यको विरुद्ध उक्त आन्दोलनभित्र पूँजीपतिवर्गको स्वार्थका रक्षक हुन् ।

संशोधनवादी र अवसरवादीहरु मार्फत नै पूँजीवादी–सुधारवादी र निम्न–पूँजीवादी विचारधाराहरुले मजदूर आन्दोलनभित्र आफ्नो प्रभावलाई फैलाउने गर्छन् । मजदूर आन्दोलनभित्र संशोधनवादीहरुको भूमिका शोषक–शाषक वर्गहरुको हितकोसंरक्षक र संबर्धकको भूमिका रहेको हुन्छ । तिनीहरुको भूमिकाको सम्बन्धमा लेनिनले कम्युनिष्ट (तेस्रो) इन्टरनेशनलको दोस्रो महाधिवेशनमा प्रस्तुत (जुलाई १९, १९२०) आफ्नो प्रतिवेदनमा लेख्नुभयो :
̎रोग एउटा दीर्घकालीन रोग हो, त्यसको निदान आशावादीहरुले आशा गरेको भन्दा बढी दीर्घकालीन रहन्छ । अवसरवाद हाम्रो मुख्य शत्रु हो । मजदूर आन्दोलनका माथिल्ला पंक्तिहरुमा रहेको अवसरवाद सर्वहारा समाजवाद होइन, बरु पूँजीवादी समाजवाद हो । व्यवहारले कुन कुरो देखाइएको छ भने मजदूरवर्गीय आन्दोलनमा जो सक्रिय मानिसहरु अवसरवादी प्रवृतिका दृढ समर्थक छन्, उनीहरु पूँजीपतिवर्गभन्दा पनि बढी पूँजीपतिवर्गका संरक्षक छन् । मजदूरहरुमा उनीहरुको नेतृत्व नभएको भए पूँजीपतिवर्ग सत्तामा रहन सक्दैनथ्यो । यस कुरालाई रुसमा केरेन्स्की शासानको इतिहासले मात्र सावित गरेको छैन, जर्मनीमा सामाजिक–जनवादी सरकार प्रधान रहेको जनवादी गणतन्त्रले पनि सावित गरेको छ, यसलाई पूँजीवादी सरकारप्रति अबर्लट थामसको दृष्टिकोणले सावित गरेको छ । यसलाई ग्रेट बृटेन र संयुक्त राज्य अमेरिकामा उस्तै अनुभवले सावित गरेको छ । यहाँ नै हाम्रो प्रमुख शत्रु रहेको छ, र हामीले यस शत्रुलाई जित्नै पर्छ ।”
(मजदूर आन्दोलनको भित्रैबाट सो आन्दोलनलाई भताभुङ्ग पार्ने र माक्र्सवादको चिन्हपाटी राखेर माक्र्सवादलाई निरर्थक बनाउने प्रयत्नको रुपमा देखापरेको संशोधनवाद आफ्नो उत्पतिदेखि नै सर्वहारावर्गको क्रान्तिकारी संघषको विरुद्ध पूँजीपतिवर्गको पक्षमा एउटा ठुलो साधन रहिआएको छ । सर्वहारावर्ग र त्यसको मुक्ति लक्ष्यप्रति विश्वासघात गरेर संशोधनवादीहरुले पूँजीपतिवर्गको सहयोग र दलालको रुपमा सो वर्गको हितको पक्षमा सेवा पुर्‍याउने काम गर्दै आएका छन् ।)
कुनै पनि मुलुकमा संशोधनवादीहरुको प्रयत्न त्यहाँका सर्वसाधारण जनतालाई क्रान्तिको बाटोमा लाग्न नदिनमा र तिनीहरुलाई सुधारवादी बाटोमा लैजानमा केन्द्रित रहन्छ भने क्रान्तिपछि तिनीहरुको प्रयत्न त्यहाँ स्थापित क्रान्तिकारी सत्ताको विरोधमा र क्रान्तिका लाभहरुलाई खतम पार्नमा केन्द्रित रहन्छ । लेनिनको समयमा कुन कुरो देखिएको थियो भने अक्टोबर क्रान्तिभन्दा पहिले संशोधनवादीहरुले श्रमिक जनतालाई तिनको शत्रुको विरुद्ध निर्णायक संग्रामको लागि शक्ति बटुल्ने काममा ठुलो बाधा हाले र तिनीहरुलाई क्रान्तिको बाटोमा लाग्न नदिन भगिरथ प्रयत्न गरे । पहिलो महायुद्धको बेलामा तिनीहरुले आ–आफ्नो पितृ–भूमिको रक्षा गर्ने बहानामा पूँजीपतिहरुलाई लुटेरा युद्ध चलाउनमा सहयोग पुर्‍याए र त्यसरी सामाजिक अन्धराष्ट्रवादीमा आफूलाई पतित गरे । महान अक्टोबर समाजवादी क्रान्तिपछि तिनीहरुले लेनिन, बोल्शेविक पार्टी र सोवियत राज्य–सत्तामाथि भयानक हमला बोले र हंगेरी, जर्मनी आदि मुलुकहरुमा भएको क्रान्तिप्रति ठुलो विश्वासघात गरेर आफूलाई क्रान्तिका खुल्ला शत्रु ु पूँजीपतिवर्गका खुल्ला चाकरको रुपमा प्रस्तुत गरे । कुन कुरो देख्नमा आएको छ भने मजदूरवर्गीय पार्टीहरुभित्रका संशोधनवादीहरु (दक्षिणपंथी र ̎बामपंथी” दुबै खाले) ̎शान्तिपूर्ण” बेलामा अर्थात वर्गसंघर्ष नचर्केको बेलामा माक्र्सवादको विकृतिकरण र मिथ्याकरणमा र आम जनतामाझ पूँजीवादी ( र निम्न–पूँजीवादी) विचारहरुको प्रभाव फैलाउनमा क्रियाशील रहन्छन् भने क्रान्तिको बेलामा, अर्थात वर्ग–संघर्ष चर्को बन्ने बेलामा खुल्ला रुपमा शोषक–शाषकवर्गहरुका सहयोगी र चाकरको रुपमा देखापर्ने गर्छन् ।
संशोधनवादीहरु कम्युनिष्ट आन्दोलनभित्र घुसेका शोषकवर्गहरुका सहयोगी हुन् र क्रान्ति, समाजवाद र माक्र्सवादका शत्रु हुन् । कुन कुरो विल्कूल स्पष्ट छ भने पूँजीपतिवर्गका सहयोगीहरुलाई आफ्नोभित्र राखेर मजदूर आन्दोलन कहिले पनि क्रान्तिकारी आधारमा अघि बढ्न सक्दैन । सर्वहारा पार्टीले आफूलाई क्रान्तिको एउटा सशक्त हतियारमा विकसित गर्न सक्दैन । संशोधनवादीहरु कम्युनिष्ट आन्दोलनभित्र घुसेका कम्युनिज्महरु शत्रु हुन् र सुविदित तथ्य के हो भने आन्तरिक शत्रु बाहिरी शत्रुभन्दा खतरनाक हुन्छ । यसको कारण बिलकूल स्पष्ट छ– बाह्य शत्रुलाई जोसुकैले सजिलैसित चिन्न सक्छ र त्यसैले त्यसप्रति सतर्क रहन्छ, तर भित्री शत्रुले मित्रको स्वाँग रचेर भित्रैबाट बिगार्ने गर्दछ । एउटा सामान्य ज्ञानको कुरो के छ भने बाह्य शत्रुसित सफलतापूर्वक लड्नका लागि पहिले भित्री शत्रुलाई परास्त गर्नै पर्दछ । त्यसरी लेनिनले संशोधनवाद र अवसरवादको विरुद्ध दृढ र निर्मम संघर्ष चलाउनुपर्ने खाँचोमा निकै जोड दिनु भयो । उहाँको विचारमा, संशोधनवाद–विरोधी र अवसरवाद–विरोधी संघर्षको अँह महत्व छ र उक्त संघर्ष क्रान्तिकारी आन्दोलनको विकास र विजयको लागि एक अपरिहार्य शर्त हो । उहाँले भन्नु भयो :
̎सर्वहारावर्गलाई त्यसको विजयको लागि तयार पार्नको निम्ति एउटा आवश्यक शर्त अवसरवाद, सुधारवाद, सामाजिक–अन्धराष्ट्रवाद र त्यस्तै खालका पूँजीवादी प्रभाव र प्रवृतिहरुको विरुद्ध लामो, कठोर तथा निर्मम संघर्ष हो । त्यस्ता प्रवृतिहरु अनिवार्य छन्, किनभने सर्वहारावर्गले पूँजीवादी वातावरणमा काम गरिरहेको हुन्छ । त्यस्तो संघर्ष भएन भने, सर्वहारावर्गको अधिनायक तन्त्र हुन सक्दैन । यदि बोल्शेशेविकवादले १९०३–१९१७ मा मेन्शेविकहरुलाई, अर्थात अवसरवादी, सुधारवादी र सामाजिक अन्धराष्ट्रवादीहरुलाई पराजित गर्न र सर्वहारा अग्रणीको पार्टीबाट तिनीहरुलाई निर्मम ढंगले निकालेर पठाउन नसकेको भए, त्यसले १९१७–१९१९ मा पूँजीपतिवर्गलाई पराजित गर्न सक्ने थिएन होला ।”
̎त्यसैले, कुन कुरो स्पष्ट छ भने संशोधनवाद र अवसरवाद विरुद्धको संघर्ष पूँजीपतिवर्गको विरुद्ध सर्वहारावर्गको मुक्तिको लागि क्रान्तिकारी संघर्षको एक अभिन्न अंग रहन्छ । अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुकहरुको सम्बन्धमा संशोधनवाद–विरोधी संघर्ष साम्राज्यवाद, प्रभुत्ववाद र देशीय प्रतिक्रियावादको विरुद्ध जनताको क्रान्तिकारी संघर्षको एक अभिन्न अंग रहन्छ । माक्र्सवादको सिर्जनात्मक प्रयोगको लागि र आम जनतालाई क्रान्तिको निम्ति तयार पार्नका लागि सबै खालका अवसरवादको विरुद्ध लामो, कठोर र दृढ तथा सम्झौताहीन संघर्ष चलाउनु एकदमै आवश्यक छ । यस्तो संघर्ष नचलाउने कोही पनि सच्चा माक्र्सवादी–लेनिनवादी हुन सक्दैन, किनभने उक्त संघर्षविना क्रान्तिकारी आन्दोलनको विकास एकदमै असंभव हुन्छ । तसर्थ, लेनिनले यसको विरुद्ध संघर्षमा अत्यधिक मात्रामा जोड दिनु भयो र त्यस्तो संघर्ष चलाएर आम जनतालाई क्रान्तिको पक्षमा ल्याउनु र क्रान्तिको निम्ति तयार पार्नु एकमात्र सही माक्र्सवादी कार्यदिशा रहने कुरालाई औंल्याउनु भयो ।
स्वाभाविक रुपले, लेनिन संशोधनवादी र अवसरवादीहरुसित मेलमिलापको दृढ विरोधी हुनु हुन्थ्यो र उहाँले मेलमिलाप गर्न खोज्ने ̎मध्यमपंथीहरु” को कठोर रुपमा आलोचना गर्नुभयो । उहाँको दृढ मत भने अवसरवादीहरुसित मेलमिलाप गर्नुको अर्थ पूँजीपतिवर्गका दलालहरुलाई मजदूरहरुको बीचमा उक्त वर्गको हितमा झुठहरुको प्रचार र षडयन्त्र गर्न र मजदूरहरुको मनलाई कलुषित पार्न छुट दिनु मात्र हुन्छ । क्रान्तिकारी माक्र्सवादीहरुले तिनीहरुलाई त्यस्तो छुट दिनु कदापी ठीक हुँदैन । व्यवहारमा अक्सर कस्तो देखिएको छ भने जो नेताहरु संशोधनवादी र अवसरवादीहरुसित मेल र एकता गर्ने पक्षमा रहन्छन् वा त्यस्तो मेल गर्दछन्, तिनीहरु आफै समयको क्रममा अवसरवादको भासमा जाकिन पुग्छन् । लेनिनले संशोधनवादी र अवसरवादीहरुलाई खटेरामा जम्मा भएको फोहोर पीपको रुपमा लिनु भई त्यस्तो पीपलाई निकालेर फाल्नुपर्ने खाँचोमा जोड दिनुभयो । उहाँ भन्नु हुन्छ :
̎ यहाँ सम्पूर्ण प्रश्न यस रुपमा रहेको छ : काट्स्की डफ्फाले गरिरहे झैं, (पीपसित) ‘एकता’को लागि शरीरभित्र पीपलाई फेरि घुसाउन खोज्नु उपयुक्त छ कि अथवा पीपलाई हटाउँदा सामयिक रुपले तीव्र पीडा हुने भए पनि मजदूरवर्गिय आन्दोलनको शरिरलाई पूरै निको पार्न मदत गर्नका लागि सकेसम्म छिटो र पूर्ण रुपमा पीपलाई हटाइदिनु उपयुक्त हुन्छ ?”

‘लेनिनवाद र संशोधनवाद’ पुस्तिकाबाट