चित्र र चरित्र

चित्र र चरित्र

निबन्ध
प्रकृति र मानव समुदायको युगौंदेखिको अन्योन्याश्रृत सम्बन्ध रहिआएको छ । प्रकृति रहित मानव समुदायको कल्पनासम्म पनि गर्न सकिँदैन । प्रकृति विना मानव समुदाय मात्र होइन थलचर, जलचर र नभचरको जीवन पनि सम्भव छैन । प्रकृति छ र त घाम, पानी, हावा, दिन रात एउटा प्रकृयामा चलेका हुन् चलिरहेका छन् । रुख विरुवा पौलिनु, खौरिनु, फुलफुल्नु, फुल्न एउटा अलिखित विनियम भित्र जेलिएको चरित्र हो । जुन चरित्रसित यो क्रियाप्रकृया चलेको छ । कहीँ कतै यो मानव समुदायको खरखिचलोले अवरोध पनि गरेको छ ।

कहिले काँही अचानक केही दृश्यहरूले चित्तलाई घोच्न आइपुग्छन् । दृश्यको यो कुरुपताले गहिरो एैंठन गर्छन् । म केहीदिन अघि वस्तिको कोलाहलबाट भागेर प्रकृतिले जोगाएको र मान्छेको ज्यादति खपेर बाँचेको जंगली बोट, बिरुवासित एकालाप गर्न पुगेको थिएँ । भित्री मधेसको एक छेउको कुनो र महाभारत पहाडको अन्तिम शृङ्खलाको दोसाँधमा उभिएर चारै दिशा नियाल्छु । हामी मान्छेले जे जति ज्ञान सीप सिकेका छौं प्रकृतिबाट पाएका हौं । प्रकृतिको सुन्दर रचनालाई विनिर्माण गरेर हामी आफूलाई सभ्य, शिष्ट र सुसंस्कृत छौं भन्ने भ्रम पाल्छौं । यही भ्रममा हामीले चित्त निवारणका हेतु अथाह दोहन गरेका छौैं । म यतिखेर कयरखोलाको शिर नजिकै छु । खोलामा बाढी नियन्त्रण गर्ने निहुँमा यसको अवयव घाइते भएको दृश्यले मभित्र नमिठो अनुभूति जन्मायो । खोलो आफ्नो मार्गमा निर्वाधरूपमा बग्न पाउनु पर्छ, चाहे साउन, भदौको भेल बोकेर कुदोस् वा चैत बैशाखको कुल्कुले रूपले सुकोस् । तर हामी मध्ये साधन श्रोतको र शक्ति श्रोतको पहुँच भएकाहरूले खोलालाई लैनो गाई बनाएर अवैध रूपमा आर्जन गरेका छौं । खोलालाई घोच्ने कोपर्ने र नदीजन्य सम्पदामा रमाउने हामी विनाश निम्त्याउन उद्धत छौं । विना लगानी नदीजन्य वस्तुको बिक्री गरेर कयर जस्ता खोला कुरुप गर्ने संस्कृति यत्रतत्र संस्कृति बनेको छ ।

म सय वर्ष अघिको चितवनको कल्पनामा पुग्छु । यहाँका वनस्पति बोट बिरूवाहरू जंगली जीव जनावरहरू संसारबाट डाइनासोर लुप्त भएझैं लुप्त हुने भए, हामीले भेउ पाएनौं । मानवीय आवश्यकताले वनवृक्षको फँडानी भयो तर यसको असरबारे विकल्पको खोजि भएन । हामीले निर्माण गरेका शहरहरू जस्ता विश्वमा थप्रै शहर निर्मित भए परिणिति भने विश्व वातावरण असन्तुलित भयो भनेर वैज्ञानिकहरू भनिरहेछन् । हामी सुनिरहेछौं तर लाटो भएका छौं । हामी प्रकृतिलाई माया गछौं भन्छौं तर दृश्यहरूले यो भनाइलाई मिथ्या बनाइरहेछन् किनकि माया गर्नेले ध्वंश गर्न सक्दैन । माया गर्नेले त प्रकृतिकै अङ्ग उपाङ्गमा लठ्ठिन्छ, लुट्पुटिन्छ ।

हुन त हामी मिथ्यालाई सत्य र सत्यलाई मिथ्या भनेर बुझ्छौं । एकाथरी चिन्तकहरू व्रह्मसत्य जगत मिथ्या पनि भन्छन् । यो मान्यता भित्रको रहस्य कति भ्रमपूर्ण छ आउनोस् छलफल गरौं ।

ब्रह्म अदृश्य छ र जगत दृश्यवान छ । अदृश्य वस्तु सत्य मान्नु र दृश्य वस्तु मिथ्या भन्नु भ्रम हो भन्नु तर्कसङ्गत विषय हुन सक्दैन र । जगतसित जीवन जोडिएको हुन्छ यद जीवन नै मिथ्या हो भने यो जिजिविषा किन ? अभाव र गरिबीमा श्लाघा किन ? यो विषय चिन्तन दर्शनसित जोडिएको मान्यता हो । कसैको मान्यतामाथि उछितो पार्ने वा आलोचना गर्ने मेरो अभिष्ट होइन एउटा स्वस्थ छलफल हो ।

हाम्रा पुर्खाहरूले पछिल्लो पिंढिलाई अर्तिदिने सन्दर्भमा भन्ने गर्थे नराम्रो हेरेर निराश नहुनु, राम्रो हेरेर आशावादी बन्नु तर चित्रहरूको कुरूपताले यति ऐंठन गरेको छ कि आम समाजमा निराशा छाएको छ । अर्थले सम्पन्नता बन्ने होडमा व्यवहारले विपन्नता निम्त्याइ रहेछौं ।

म मेरो समुदायतिरै फर्कन्छु । हामी सभ्य र शालिन हुने निहुँमा सामूहिकबाट कटेर नितान्त निजात्मकतातिर गइरहेछौं । विश्वमा स्थापित मानिएका धार्मिक, दार्शनिक, मान्यताले लोकहितको अपेक्षा गरेकाछन् तर हामी त्यो मार्गमा हिँड्न हिच्किचाउँछौं । मानिस अहिले भीडमा छ तर एक्लै छ आफ्नो बाहेक अरूहरू बारेको सोच चिन्तनमा किन फेरिन सक्दैन चिन्तनको समय पनि छैन ।

चित्रहरूले तानेर मलाई एकछिन उठि सुख न बसी सुख भने जस्तो बनाउँछन् । हामीले देख्दै गरेका विशाल खेतका पाटाहरूमा ठूला ठूला भवनहरू उभिएका छन् । रूपमा हामी विकाशशील बन्दै आइरहेछौं तर चरित्रमा भने कुन मोडतिर डोरिँदै छौं अन्यौलमा छौं ।

अरूको खिसी किन गर्नु म आफ्नै आङ कन्याउछु । मधेसको उर्वर फाँटमाथि लामखुट्टेको पैताला बराबर क्षेत्रफलको भुमिमाथि टाउको लुकाउने गुँड बनाएर वरपरका नकारको व्याख्यान छाँटि रहेछु । म अझै पनि अन्यौलतामा छु कि हामीले निर्माण गर्न खोजेको समाजको चरित्र के हो, हाम्रा सिरानीमा आदि मानव कहलिएका मिथक पात्र शिव छन्, कथामा उनिएका उनको चरित्र जस्तो अवस्था र व्यवस्था अनुरूप रङ र रूप फेर्न मिल्ने समाजको चरित्र फेरिने रहेछ ।

म विज्ञानको विरुद्धमा जान सक्दिन तर विज्ञान जाने श्रीखण्ड नजाने खुर्पाको बिँड भएको छ । युग परिवर्तित हुँदै आउँदा विज्ञानको फड्को उत्कर्षमा उक्लियो । हामी सम्पन्न भएर कि सहज उपलब्ध भएर हो हामीले श्रमलाई विस्थापन ग¥यौं । हाम्रो भान्सामा आमा हजुरआमाहरूले खर्चेको श्रम अहिलेको भान्सामा खर्च हुँदैन । त्यसको सट्टामा धन खर्च हुन्छ । श्रम सञ्चित हुन्छ त्यो श्रम बजारमा जाँदैन । भान्सामा खर्च हुने श्रम र सीप पछिल्लो पुस्ताले चिन्दैन वा बुझ्दैन । लोहोरो सिलौटोमा अभ्यस्त आमाहरूको हात अब इतिहास भयो ।

प्राणीका लागि श्रम अनिवार्य शर्त हो, तर अहिले श्रमले उत्पादनमा खर्चिन पाउँदैन । म भान्सामा यही बारे सोचिरहेछु । हाम्रा भान्सामा खाद्य वस्तु भित्रिएका छन् । खाद्य उद्योगहरूले विभिन्न परिकारका खाद्य वस्तुको उत्पादन गरेका छन् । उत्पादनमा वैज्ञानिकीकरण हुनु उत्पादित वस्तु सस्तो र सर्वसुलभ हुनु युगानुकुल जायज विषय हो तर हाम्रो भान्सा बजार आत्मनिर्भर बन्न सकेन, आवश्यक श्रमको व्यवस्थापन भएन ।

हामीले विकसित मुलुकको देखासिकी गर्न थाल्यौं । पूँजीले सम्पन्न वा पूँजी आर्जनमा व्यस्त हुनेहरूको देखासिकीले हाम्रो चेतना भुट्यो । प्लाष्टिकको पोकामा बन्द गरिएका खाद्य वस्तु स्वास्थ्यका दृष्टिले कति लाभदायक छ हामी अनुगमन गर्दैनौं । बरू छिटो छरितो बन्ने नाउँमा बाह्य उत्पादित खाद्यको उपभोग गर्छौं । यो संस्कृति शहर र शहरोन्मुख वस्तीमा विस्तार भइरहेको छ ।

केही दशक अघिसम्म हाम्रो मुलुक खाद्य उत्पादनमा आत्मनिर्भर थियो । तर अहिले परनिर्भर बन्दै गयौं । अहिले हाम्रो श्रम अन्तराष्ट्रिय बजारमा खपत त भयो अनि त्यसबाट नगद आर्जन पनि भयो तर हाम्रो खेतबारी बाँझिएर उत्पादनमा ह«ास आयो । जसका कारण बाह्य मुलुकबाट खाद्य वस्तुको खरिद अनिवार्य भयो । हाम्रो सञ्चिती पूँजी बाहिर थुप्रन पुग्यो । औसत परिवारको एक सदस्य आय आर्जनका लागि बाह्य मुलुक वा आफ्नै देशको श्रम बजारमा छ र उनीहरूका प्रायः सबै परिवार त्यही कमाइमा निर्भर छन् । प्राप्त पारिश्रमिक भने जुन बाटो आयो उही बाटो गयो भन्ने चेतना चाहिँ ग्रहण गरेको पाइँदैन । विज्ञानले नयाँनयाँ सम्भावनाको खोजी गर्छ । पूँजीले लगानी र त्यसबाट बढोत्तरीको अपेक्षा गर्छ । हाम्रो समाजमा भित्रन थालेको उपभोक्तावादी संस्कृतिले हाम्रो श्रम र पूँजीमाथि धावा बोलिरहेको छ । वर्गीय आँखाले हेर्दा यस्तो संस्कृतिले धनी झन् धनी हुँदै जाने र गरिब झन् गरिब बन्ने अवस्था आइसकेको छ । तयारी खाद्य वस्तुलाई विना हिचकिचाहट हाम्रो भान्सामा भित्र्याई रहँदा हाम्रो उत्पादनको स्रोत साँघुरिने हुन्छ । हाम्रो श्रमको अवमूल्यन हुन्छ । हाम्रो उत्पादनको पहिचान हराउँछ । पछिल्लो उत्तराधिकारी पुस्ताले के सिक्छ वा हामीबाट कसरी बुझ्छ आजको पुस्ता सचेत हुन जरुरी भैसकको छैन र ?

केही दशक अघिसम्म हाम्रो भोजन विज्ञान अति अर्गानिक थियो, तर अहिले बजारमा खाद्य र पेय वस्तुहरू रसायन मिश्रित छन् । यस्ता खाद्य तत्वले स्वास्थ्यमा हानी पुग्ने खतरा पनि उत्तिकै छ । अहिले मानव समुदायमा फैलिएको मधुमेय, अमलपित्त वा थाइराइड जस्ता समस्याको मूल स्रोत परजैविक वा अजैविक खाद्यवस्तु पनि हो ।

भान्सा र खाद्य परिकारमा शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्र अझै स्वस्थ छ । आफ्नै खेतबारीको धान, मकै, कोदो, गहुँलाई परम्परागत परिकारको प्रचलन केही बाँकी छ । हिजो पहाडी उत्पादनको खाद्यवस्तु ढिंडोसँग सम्बन्ध विच्छेद गरेर मधेश, तराई वा शहर छिरेका वर्ग अहिले कोदो मकैको ढिंडो भन्दै होटल चहार्दै हिँड्नुले अर्गानिक खाद्यको महिमा बढाएको छ । हामी नयाँ युग र नयाँ उत्पादनमा नयाँ स्वाद लिन रुचाउँछौं । युगानुरूप उत्पादित वस्तुहरू पनि एकनासका हुँदैनन् तर उदार पूँजीवादी अर्थतन्त्रको मेरुदण्ड बनेको औद्योगिक उत्पादनले खाद्यतन्त्रलाई कब्जा जमाएको छ ।

खाद्य वस्तुको रूपमा भन्सासम्म आइपुग्ने अनाज तथा तरकारी सबै वस्तुको उत्पादन वर्णशंकर बनेको छ । हाम्रो परम्परागत उत्पादन उपभोग र भण्डारणलाई हामीले पुरातनमुखी वा निर्वाहमुखी वा जिविकोपार्जनको सामन्तवादी प्रणाली भन्यौं तर त्यस उत्पादन विधिमा अपनाइने सामुहिक श्रमको परिपाटि उत्पादनका साधन निर्माणका लागि प्रयोग गरिएका शीप यी विषयभित्रको विज्ञानको जगेर्ना गरेनौ । यसले गर्दा परनिर्भरताको खतरा बढ्ने भयो ।

श्रमले अर्थको बञ्चिती, शरीर र मन दुबैलाई स्वस्थ राख्छ भनेर जान्दाजान्दै पनि श्रमप्रति अनुदार बन्दै जानुले हाम्रो गन्तव्य कहाँसम्म हो अन्योल छ । अघिल्लो पुस्ताको श्रम विज्ञान उनीहरूको उत्पादन प्रणालीमा अपनाइएका विज्ञानसम्मत विधिको संरक्षण सम्वर्धन र भूगोलको आधारमा उत्पादित खाद्यवस्तुको उपयोगितालाई परिमार्जित गराउन सक्नु पर्दछ ।