‘युगान्तर’ महाकाव्यमा व्यक्त भावधारा

‘युगान्तर’ महाकाव्यमा व्यक्त भावधारा

पुस्तक समीक्षा

दशैँ अगाडि नेपाली साहित्याकाशका एक स्थापित सिद्धहस्त प्रगतिवादी कवि मित्रलाल पंज्ञानीको ‘युगान्तर’ महाकाव्य मेरो हातमा परेको थियो । हतारमा म काठमाडौंबाट दाङ जानुपर्ने भएकाले उक्त किताब काठमाडौंमै छुटेको थियो । दशैँ र तिहारको समयमा उक्त काव्य पढ्ने अवसर मिल्ने कुरा भएन । जब म पुनः साङ्गठानिक कामले काठमाडौं पुगेँ त्यतिबेला मेरो पहिलो रोजाईमा उक्त पुस्तक प¥यो र पढ्ने जमर्को गरेँ । त्यसपछि एक दिन काव्य पल्टाएर पढ्न बसेँ । एकै बसाइमा किताब आद्योपान्त पढेर सिध्याएँ । निकै धेरै बर्सपछि मैले एकै बसाइमा एउटा पुस्तक पुरै पढेको यो नै हो । यसो हुनुमा पुस्तकले पाठकको हृदय छुनु हो । यसलाई कविको सामथ्र्य मानिन्छ । पुस्तक सबल छ भन्ने कुराको प्रमाण यो भन्दा अरू धेरै के खोज्नु । चुम्बकले फलामका टुक्राटाक्रीलाई जसरी आफ्नो गुरुत्वमा तान्छ र आफैँसित अँठ्याएर राख्छ त्यसैगरी पुस्तकले पाठकलाई आकर्षित गर्न सक्यो भने त्यो कृति सबल कृति ठहर्छ । प्रस्तुक पुस्तक एक प्रभाकारी चुम्बकको रूपमा मैले लिएको छु ।

मित्रलाल पंज्ञानीको थप परिचय यहाँ दिइरहनु म आवश्यक ठान्दिन । २०३० को दशकदेखि साहित्याकाशमा उदाएका कविका हालसम्मका डेढ दर्जन कृतिले उहाँलाई सुपरिचित बनाइसकेका छन् । कविता लेखनमा उहाँको मुख्य विशेषता शास्त्रीय छन्दमा लेख्नु हो । प्रस्तुत महाकाव्य गीतिलय अर्थात् सवाई छन्दमा लेखिएको छ । यसलाईं अर्को शब्दमा लोकछन्द पनि भनिन्छ । लोकछन्दमा भएको हुनाले यो पुस्तक शास्त्रीय छन्दबारे जानकारी नभएका जो कोहीले पनि पढ्न सजिलो छ । साथै यसलाई बुभ्mन पनि त्यति नै सजिलो छ । त्यसका लागि कविताका विभिन्त तत्वबारे जानि रहनु पर्दैन । यो बोधगम्य छ । पाठक र पुस्तक एकापसमा सहजवृत्तिमै सम्वाद गर्न सक्छन् । पुस्तकले पाठकलाई बुझाउन खोजेको कुरा सरल, सहज र मिठो लयमा प्रष्ट बुझाउन सक्छ । सरलतम कुराकानी छन् । जीवन र जगतलाई कसरी बुभ्mने र त्यसलाई आत्मसात कसरी गर्ने तथा त्यसको निकासका लागि मान्छेले के गर्न हुने के नगर्ने भन्ने कुरा पुस्तक पढ्दै जाँदा पाठक छर्लङ्ग हुँदै पनि जान्छ ।

माक्र्सवादी साहित्यले साहित्यलाई लेखकको मनको लहड वा आत्मरतीको साधन मान्दैन । यो ‘स्वान्तः सुखाय’का लागि नभई ‘पर हिताय’का लागि लेखिन्छ भन्ने मान्यता माक्र्सवादले बोक्दछ । प्रस्तुत कृति ‘युगान्तर’का लेखक माक्र्सवादी धाराका साहित्यकार हुनाले उहाँले आफ्नो काव्यिक कलमबाट नेपाली समाजका उत्पीडित वर्गको सेवा गर्न खोज्नु भएको छ । यसले मात्रै कति सेवा पुग्ला त्यो समीक्षाको अर्को पाटो त छँदैछ, तथापि हाम्रो साहित्यले राज्यसत्ताबाट दलिएका जनताको सेवा गर्नै पर्छ । माक्र्स–एङ्गेल्सपछिका महान् दार्शनिक लेनिनले साहित्यका बारेमा चर्चा गर्दा साहित्यलाई ‘मेसिनका दाँती र पेचकिला’ बताउनु भएको छ भने अर्का दार्शनिक माओले साहित्यले ‘जाडो याममा रेशमी कपडाको नभई कोइलाको काम गर्नु पर्छ’ भनेर प्रगतिवादी साहित्यको मर्मबारे बताउनु भएको छ । यसको सार तत्व भनेको साहित्यले उत्पीडित वर्ग र समुदायका मानिसहरूलाई आफू दलिनुको रहस्य पत्ता लगाउन सहयोग पु¥याउनु र त्यसको निदानका उपाय बताउनु । त्यसो भन्दा एउटा प्रश्न उठ्न सक्छ कि त्यो काम त राजनीतिको हो । अवस्य पनि जनतालाई सत्ताको उत्पीडन र शोषणबाट मुक्त गर्ने काम राजनीतिकै हो, तथापि साहित्यले राजनीतिकै सेवा गर्ने भएकाले यसले राजनीतिको विकासका निम्ति भूमि तयार गर्ने काम गर्छ । प्रस्तुत महाकव्यले त्यही काम गरेको छ र युगान्तरका नाममा वर्तमानको सत्ता, व्यवस्था, यसले उत्पीडित वर्गका समुदायलाई कसरी पलपलमा पीडित बनाएको छ भन्ने कुरालाई अत्यन्तै सरल भाषामा सुक्ष्म ढङ्गबाट सादाहरणा कुराबाट जनतालाई बुझाउने कोशिष गरेको छ ।

अब चर्चा गरौँ महाकाव्यले पश्किएको वैचारिक तथा सामाजिक कुराहरूको सन्देश तर्फ । म महाकाव्यका तत्वविधान र यसका विभिन्न शारीरिक अङ्गोपाङ्गका बारेमा त्यति जानकार व्यक्ति होइन । परन्तु म यहाँ प्रस्ततु महाकाव्य ‘युगान्तर’ले नेपाली समाजलाई दिन खोजेको सन्देश के हो भन्ने विषयमा सङ्क्षिप्त टिप्पणी गर्न गइरहेको छु ।

महाकाव्य आफैँमा एक महाख्यान पनि हो । महाकाव्यमा आख्यान तत्व अनिवार्य हुन्छ । यसले आफ्नो एउटा कालखण्डको समाजको कथावस्तु समेटेको हुन्छ । काव्यमा कथाको सिलसिलेबार वर्णन हुन्छ । यहाँ पात्र, परिवेश तथा त्यसले ओगटेको भूगोलको चित्रण पाइन्छ । प्रस्तुत कृतिमा ती सबै तत्वको निकै सुविचारित ढङ्गबाट प्रस्तुत गरिएको छ । बीस वटा सर्ग अर्थात् अध्यायमा समेटिएको महाकाव्यमा पचासी वटा शीर्षकमा काव्याख्यान रहेका छन् । काव्यको मुख्य नायकका रूपमा कविले दिपा दिदीलाई अगाडि सार्नु भएको छ भने सहायक नायकका रूपमा सिर्जनालाई प्रस्तुत गर्नु भएको छ । कथावस्तुले मागे अनुसारका विभिन्न पात्रहरू परिवेश अनुसार सम्वादमा अगाडि सारिएका छन् । काव्यका पात्रहरू दीपा दिदी र सिर्जना (नर्स), को जीवनवृत्तमा आधारित भएर यो उनीहरूकै जीवनकथाले मागेका थप पात्र र परिवेश उल्लेख भएको हुनाले पनि यो महाकाव्यलाई नारी उत्पीडन र तिनको जीवनवृत्त विशेषका रूपमा लिन सकिन्छ ।

महाकाव्यमा काव्यकारले म पात्रलाई सूत्रधार बनाउनु भएको छ । म पात्र विरामी परेर अस्पताल भर्ना भएको समयमा त्यहाँ कार्यरत एकजना स्टाफ नर्सले निज विरामीप्रति आत्मीयताका साथ गरेको साँच्चिकैको मानवताले म पात्रलाई बेस्सरी प्रभावित पार्छ । आफ्नै छोरीले गरेको सेवा जस्तै नर्सको ब्यवहारबाट म पात्रआकर्षित हुन्छ र यहीँबाट महाकाव्यको पहिलो सर्ग अर्थात् अध्याय सुरु हुन्छ । पहिलो सर्गमा ‘म अस्पतालमा’, ‘सिर्जना नर्स’, ‘सिर्जनामाथि मेरो जिज्ञासा’ र ‘ड्युटीको मर्यादा’ गरी चार शीर्षकबाट काव्यको शृङ्खला अगाडि बढ्छ । पहिलो सर्गमा रहेका यी चार शीर्षकमा व्यक्त काव्यधाराले मुलतः अस्पतालकी नर्स सिर्जनाको जीवनबारे बुभ्mने तीव्र हुटहुटी पैदा गरिदिन्छ र नर्सप्रति सूत्रधारको आकर्षण बढाउँछ । त्यसपछि दोस्रो सर्गमा सिर्जना नर्सको जन्मदेखि विवाह र त्यहाँ उनले पाएको अमानवीय बुहार्तन र अन्त्यमा घर त्याग गर्ने सम्मको परिवेश चित्रण गरिएको छ र सिर्जना गाउँबाट काठमाडौं सहर पसेपछि पुरानो जीबनको कष्टकर अवस्थाबाट नयाँ जीवनको सुरुआतसम्मको कथावस्तु समेटिएको छ । यसबीचमा सिर्जनाले खाएका ठक्कर र हण्डर सडकमा फालिएका असाहाय बालबच्चाहरूको जीवनी जस्तै छ ।

म यहाँ हरेक सर्गमा अभिव्यक्त विषयवस्तु, तिनले व्यक्त गरेका विचार, त्यसको काव्यरस आदि समग्र विषयको चर्चा गर्न गइरहेको छैन । त्यसका लागि निकै लामो समालोचना विधिमा जानुपर्ने हुन्छ । म यहाँ केवल प्रस्तुत महाकाव्यका सन्दर्भमा सङ्क्षिप्त परिचय दिन गएको छु । यसो हुनुमा दैनिक अखबारमा पश्किने सामग्रीको सीमा पनि हो ।

प्रस्तुत महाकाव्य मुलतः दीपा दिदी तथा सिर्जना नर्सको जीवनवृत्तमा विचरण गरेको भएता पनि यहाँ वर्तमान समयको चित्र प्रस्तुत गरिएको छ । वर्तमान समयमा भएको सूचना प्रविधिको विकास, पर्यावरण, विश्व भूमण्डलीकरण र त्यसले पारेको नेपाली जनजीवनको प्रभाव, देशमा भएका राजनीतिक परिवर्तनहरू, सरकार र सरकारी रवैया आदि मानिसलाई जन्मेदेखि मृत्युसम्मका दिनमा पार्ने प्रभावका विषयमा अत्यन्तै सुक्ष्मतम ढङ्गबाट सरल रूपमा वोधगम्य तरिकाले विषयवस्तु प्रस्तुत गरिएका छन् । यसको सबैभन्दा सवल पक्ष भनेको हरेक मानिसले जीवन र जगतलाई बुभ्mनका लागि ठूला ठूला राजनीतिक (जार्गन) पदावलीहरूको प्रयोग नगरिकन त्यही विषयलाई सरल र जनवोलीका भाषामा व्यक्त गर्नु रहेको छ ।

आज नेपालमा बेरोजगारी दिनप्रति दिन कहालीलाग्दो तरिकाले बढ्दै गएको छ । देशमा रोजगारीको अभावले गर्दा नेपाली युवाहरू खाडि मुलुकमा ५० डिग्री उच्च तापक्रममा हाडछाला घोट्न बाध्य छन् । यस्ता विषयलाई पनि महाकाव्यमा प्रस्तुत गरेर कविले नेपालको वर्तमान सामाजिक जीवनको चित्र प्रस्तुत गर्नु भएको छ । रेमिट्यान्सले जेनतेन धानिएको नेपाली अर्थतन्त्र, नेपाली समाज, त्यसले समाजमा पारेको सकारात्मकता सँगै नकारात्मक प्रभाव आदि कुराहरू पनि महाकाव्यमा समेटिएका छन् । देशमा लोकतन्त्र, गणतन्त्र आयो भनिएको छ तर त्यो हिजोकै शाषकवर्गहरूको हालिमुहालीमा सीमित छ । लोकतन्त्र ल्याउन युद्धसमेत गरेका नेताहरूको एउटा पङ्क्ति नवधनाढ्य वर्गमा रूपान्तरित भएको छ र उसैगरी गरिबहरूको रगत र पसिनामा मोज गरेको छ । यो कुरालाई महाकाव्यमा खाडिमा पसेको एक मजदूरले पत्रमार्फत् गरेको चित्रण सत्यापित भएको छ । यहाँ भनिएको छ –
‘धनाढ्यका भतेरमा मासु लोकतन्त्र
गरिबका आँखाभरि आँसु लोकतन्त्र
श्रमिकको च्यातिएको कट्टु लोकतन्त्र
त्यै कट्टुमा नाफा देख्ने चट्टु लोकतन्त्र ।’ (पृ. १४०)

तीन वर्ष अगाडि संसारभरि कोभिडजन्य रोग महामारी भएर फैलियो । संसारका सबै मुलुकलाई कोरोना कहरले आक्रान्ति बनायो । यसको मार सबैभन्दा बढी श्रम गरेर खाने वर्गका जनतामा पर्न गयो । पाखुरा बजारेर खानुपर्ने वर्गका जनता झण्डै एक वर्ष कामबाट हात धुनुपर्ने अवस्था सिर्जना भयो । त्यसले पारेको प्रभावबारे प्रस्तु काव्यमा ‘कोरोनाजन्य चोट’ शीर्षक दिएर यसरी चित्रण गरिएको छ –
‘घर छाडी भारतमा श्रम गर्न गा’को
रुझी आफ्नै पसिनाले दुःखसित खा’को
कोरोनाको हल्लापछि बन्द भयो काम
मुख जोर्ने बाटो टुट्यो द्युँसै डुब्यो घाम । (पृ. ९८)

यहाँ यस्तो अवस्था हुँदा पनि गरिब दुःखी जनतालाई यो लोकतन्त्रले केही गरेको छैन भन्ने सन्देश सोही शीर्षकको अन्तिम श्लोकमा यसरी व्यक्त गरिएको छ –
‘कता आयो लोकतन्त्र ? जान्न पाइन मैले
यो देशमा दशैँ पनि मान्न पाइन मैले
उनी मात्रै बाँच्नुपर्ने खुनी व्यवस्थामा
गरिबको भलो कैल्यै हुन्न रै’छ आमा । (पृ. ९९)

यहाँ अन्तिम पङ्क्तिले निरासा भाव व्यक्त गरेपनि काव्यले समाजको यथार्थ चित्रण गरेको छ र यही पङ्क्तिले मात्रै समग्र काव्यको मूल्याङ्कन हुँदैन । काव्यको मूल सार भनेको वर्तमान समाजको यथार्थ चित्रण गर्नु हो र राज्यसत्ताको उत्पीडनका विरुद्ध उत्पीडनमा परेका, राज्यसत्ताले किनारामा पारेका वर्ग, जाति, समुदाय र लिङ्गका जनतालाई सचेत गराउनु र त्यसको विकल्पमा उन्नत समाज निर्माणका लागि विद्रोह गर्न प्रेरित गर्नु रहेको छ । जस्तो कि यहाँ के सुन्दर हो र के असुन्दर हो भन्ने कुराको बारे बताउने क्रममा वर्गसङ्घर्षको आवश्यकता बताइएको छ –
‘बादलको सुन्दरता पानी बर्सनुमा
तिर्खाएका बिरूवामा जल पर्सनुमा
शोषितको सुन्दरता सङ्घर्षमा जानु
वर्गस्वार्थ नबिर्सनू परे गोली खानू । (पृ.१३१)

आज देशमा नेपाली जनताले इतिहासमै पहिलोचोटी गरेको यति ठूलो वलिदानले ओतप्रोत क्रान्ति महान् जनयुद्धलाई गलत सावित गर्न, जनताको महान् उद्धेश्यका लागि गरिएको बलिदानलाई हत्याका रूपमा सावित गर्न र जनयुद्धबाट प्राप्त सीमित उपलब्धीलाई समेत अवमूल्यन गर्ने धृष्टता भइरहेको छ । त्यसका विरुद्धमा पनि महाकाव्य बोलेको छ र त्यसको महानतालाई स्थापित गर्ने प्रयास यहाँ यसरी गरिएको छ –
‘नेपालमा जतिबेला जनयुद्ध जाग्यो
जनताको ठूलो पङ्क्ति त्यतैतिर लाग्यो
दलिएका मान्छेहरू बन्दुकमा आए
जागृतिले जनताका बस्ती मुस्कुराए ।

भान्छाबाट युद्धतिर निकालिए नारी
बन्दुकले सिँगारिए वीरत्वले खारी
बन्धनका डोरी काटी धुजाधुजा पारे
दुर्बलता, निराशा र कुण्ठा सबै मारे । (पृ.७३)

यसरी निष्कर्षमा के भन्न सकिन्छ भने प्रस्तुत महाकाव्य ‘युगान्तर’ले वर्तमान समयको यथार्थ पश्किएको छ । यो भौतिकवादी चेतनाले लैस छ । समाजमा आध्यात्मिक मिथकले पारेका प्रभावलाई अत्यत्तै सरल भाषा, शैली र शब्दमा खण्डन गर्न खोजेको छ र मानिसलाई प्रकृतिको सत्य कुरा बताउने जमर्को गरिएको छ । त्यसैगरी नेपालमा भएका राजनीतिक क्रान्तिहरूको चर्चा गर्दै त्यसको आवश्यकता र औचित्य सावित गर्ने प्रयास गरिएको छ । राज्यसत्ताको विभेदकारी ब्यवहारको भण्डाफोर गरिएको छ । त्यसका साथै प्राकृतिक प्रकोपबाट मानिसले भोग्नुपरेको सास्ती र त्यसमा राज्यसत्ताको उदासिन र विभेदकारी चरित्रलाई उजागर गर्ने प्रयत्न गरिएको छ । समग्रमा भन्नु पर्दा दीपा दिदी र सिर्जनाको जीवन भोगाइको कथावस्तु मार्पmत् वर्तनको युग र यो युगमा भएका विज्ञान, प्रविध, सूचना क्रान्ति तथा वैश्वीकरणले पारेको प्रभावलाई समेत सङ्केतकै रूपमा भएपनि अत्यन्तै सरल भाषामा आम जनमासमा सूचित गर्ने प्रयास गरिएको छ । कवि मित्रलाल पंज्ञानीलाई प्रस्तुत कृतिका लागि बधाई तथा धन्यावात ।