भुकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

भुकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

 

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ भने सयौं घाइते भएका छन्। टर्की र सिरियाका अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, दुवै देशमा गरी ५११ जनाको ज्यान गइसकेको छ। टर्कीमा २८४ र सिरियामा २३७ जनाको मृत्यु भएको छ। त्यस्तै, भूकम्पले ठूलठूला भवन भत्किँदा टर्कीमा दुई हजार तीन सयभन्दा बढी घाइते भएका छन्। भूकम्पले भत्किएका भवनमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने टर्कीका उपराष्ट्रपति फौट अक्टेले जनाएका छन्।

भूकम्पमा घाइते भएकाहरूको संख्या बढी रहेको सिरियाली अधिकारीहरूले जनाएका छन्। सिरियाका अस्पताल घाइते भरिएका छन्। उपचार गर्न अप्ठ्यारो भएको अल जजिराले जनाएको छ। शक्तिशाली भूकम्पका कारण कतिपय अस्पतालमा समेत क्षति पुगेको छ। सिरियाको उत्तर–पश्चिमी क्षेत्रका लाखौ नागरिक भूकम्पबाट प्रभावित भएको जनाइएको छ। आज बिहान सिरियाको सीमा नजिक टर्कीको दक्षिण(पूर्वी क्षेत्रमा ७।८ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा पनि महसूस गरिएको थियो।

अझै पनि परकम्प आइरहेको टर्की र सिरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। शक्तिशाली भूकम्पपछि आइरहेका परकम्पले पनि क्षति बढाइरहेको जनाइएको छ।