तेजविलास अधिकारी
नेपाली राजनीतिको क्षेत्रमा इन्द्रमोहन सिग्देल स्थापित नाम हो । नेपालको कम्युनिस्ट आन्दोलमा विचारलाई जीवित तुल्याउँदै धारिलो आन्दोलन गर्नुपर्ने विचारको बहस पटक पटक उठेको छ । यसै सन्दर्भमा २०६२÷०६३ को जनआन्दोलन र जनयुद्धको शक्तिबाट प्राप्त आंशिक उपलब्धिलाई खासै उपलब्धि नमान्ने मत बलियो बनेको छ । मूलतः नेपालको जनयुद्धले समाज परिवर्तन र राज्यको शासकीय स्वरूपमा हेराफेरी ल्याउन सकेन । हजारौँ योद्धाहरूले नेपाली क्रान्तिको लागि गरेको बलिदानलाई सत्तासँग साट्ने प्रवृत्तिको धेरै कोणबाट आलोचना भएकै छ ।
२०७२ को संविधानले जनयुद्धको मागलाई सम्बोधन गर्न त सकेन सकेन यसले आम नागरिकमा आशाको सञ्चार समेत गर्न सकेको देखिँदैन । सर्वसाधारण मानिसलाई वर्गीय चेतना दिन र राज्यको स्वरूपलाई फेर्ने मूल आधार भनेको विचारधारात्मक सङ्घर्ष नै हो । जब जनता निराश हुन्छ, त्यसपछि सत्ताका लागि मरिमेट्ने मान्छेहरू हावी हुन्छन् । त्यति मात्र नभएर मूल नेतृत्वले आफ्नो बाटो छोड्न थालेपछि धेरै असजिला घुम्तीहरू बेहोर्नु पर्दछ । नेपालको राजनीतिमा कम्युनिस्ट धारको महत्वपूर्ण र निर्णायक शक्ति बनेको माओवादी धाराले शान्ति प्रक्रियामा आइसकेपछि बाटो बिराउँदा धेरै क्षति बहोर्नु परेको स्पष्ट प्रमाण पाउन सकिन्छ । यही सन्दर्भलाई इन्द्रमोहन सिग्देलले आफ्नो ‘विचारधारात्मक सङ्घर्ष’(२०७९) कृतिमा समावेश गरेका छन् ।
यस ग्रन्थमा लेखकले ६ ओटा परिच्छेदमा दर्शनको विषयदेखि अन्य समसमासायिक विषयलाई प्रस्तुत गरिएको छ । पहिलो परिच्छेदमा ‘विचार’ शीर्षक दिएर १० वटा लेखहरू समावेश गरिएको छ । यस परिच्छेदमा प्रचण्डलाई केन्द्रित गरेर लेखिएका दुई ओटा लेख छन् । ‘प्रचण्डलाई रूपान्तरण गर्ने मेरो प्रयत्न, र प्रचण्डको नवसंशोधनवादका अन्तर्राष्ट्रिय आयामहरू’ भन्ने लेखहरूले नेपाली जनयुद्धको प्राप्तिलाई गलत तरिकाले प्रयोग गरेर नेतृत्वले धोका दिएको तर्क र तथ्य पेस गरिएको छ । ‘विचार’ शीर्षकको परिच्छेदमा पार्टी सङ्गठन र दर्शनको विषयमा केन्द्रित रही विषयवस्तु प्रस्तुत गरिएको छ । यसैगरी नेपालको राजनीतिभित्र चल्ने गरेको जातीय प्रश्न, संविधान निर्माणको विषय, स्थानीय निर्वाचन बहिष्कार गर्नुपर्नाको कारण जस्ता विषयमा मौलिक विचार प्रस्तुत भएको छ । यसैगरी तेस्रो, चोथो, पाँचौँ एकाइमा क्रमशः अर्थ राजनीति, राष्ट्रिय स्वाधीनता, सङ्गठन, अन्तर्राष्ट्रिय र विविध गरी जम्मा सात ओटा परिच्छेदमा ऐतिहासिक सन्दर्भ र समसामयिक राजनीतिको चिरफार गरिएको पाइछ ।
राजनीतिलाई जनसमस्याको समाधान गर्ने विषय र माध्यमका रूपमा चर्चा गर्दै लेखकले नेपालमा भइरहेको अन्तर्राष्ट्रिय हस्तक्षेपको कारक तत्व देशभित्रको राजनीति, राजनीतिभित्रको सत्ता दलाली नै प्रमुख पक्ष हो भन्ने ठहर गरिएको छ । कम्युनिस्टको नाममा अब र अझ पनि सत्ताको फन्दामा परेकालाई मूल धार मान्न नसकिने निष्कर्ष निकालिएको छ । यसका अतिरिक्त नेपाल एमसीसी, आइपिएस जस्ता परियोजनाले राष्ट्रिय अस्तित्व नै सङ्कटतर्फ उन्मुख गराएको सन्दर्भ उल्लेख भएको छ । यस पुस्तकले दर्शन र राजनीतिको अध्ययन गर्न चाहने पाठक, राजनीतिक कार्यकर्ता र अनुसन्धानकर्ताहरूलाई सहयोग पु¥याउने देखिन्छ ।
०००