लेख्नै पर्ने कुराहरु
आफैँभित्र कतिपय अस्वीकृतिहरुले स्थायी डेरा जमाएका छन्, म खोजतलासको अभियानमा छु । धरतिले रूप फेर्ने अभियानमा छ । केहिदिनको बदली पछि आकास स्वच्छ र खुला देखिन्छ । पुसे पहारको फाइदा लिएर म कारागारकाे पश्चिमी बुर्जा मुनि उभिएको छु । कारागारको पर्खालले छेक्न नसकेको आहाले डाँडामाथिको वन नाङ्गिदै गएको देखिन्छ । गोर्खाली बजारियाहरु त्यो वनलाई रानिवन भन्छन् । शिशिरको लक्षण देखिदै गर्दा पातहरु झर्दै गएको र रुप बदल्न लागेकोमा एकप्रकारको सुन्दरता झल्केको छ । म आफ्नो टाउकोसँगै दृष्टि घुमाउछु । दक्षिणतिर ढल्कदै गएको र थुम्का थुम्की परेको ठिङ्गुरेस्वाँरा नजिक नाम्जाली डाँडाको दृश्य आँखामा ठोक्किन आउँछ । यो त्यही नाम्जाली डाँडा हो जसको आँगनमा कयौँ योध्दाहरुको रगत कट्कटिएको छ । खोतलेर हेर्ने आँट गर्न सकियो भने सयौँ युवाहरुको हाड भेटिन सक्छ । मेरो नाङ्गो आँखाले नाम्जाली डाँडाको नाङ्गो रुपको साङ्गोपाङ्गो दृश्य समेट्न भ्याउदैन । प्रकृतिमा रुख बिरुवा नाङ्गो हुँदाको दृश्य र हतियार बोकेका जत्थाहरुको नाङ्गो चरित्रमा आनकाे तान फरक छ ।
पुर्वतिरको ध्यान मोडेर म उत्तरतिर फर्किन्छु ।कारागार भवनको झण्डै दुईसय मिटरको दुरिमा एउटा वयस्क पलाँसको वृक्ष छ । यसको अवयवमा छिटफुट कोपिला लागेका छन् । भर्खर फक्रन लागेका राता पत्रहरु हेरेर म एकछिन गम खान्छु । यो वृक्ष कति शान्त र स्थिर छ । जतिसुकै ठूलो बर्षाद होस् उ चुपचाप उभिन्छ । पुसे जाडोले काठियोस् वा बैशाखे असिनाले चुटियोस् चोटहरु बोकेर उ चुपचाप उभिएको छ । तर म मान्छे नामको प्राणी एक दर्को पानीमा भिजिँदा ओत खोजेर भौतारिन्छु । आङमा अलिकती ठण्डी खसोस् यिनै बृक्षका हाँगाबिगा बालेर न्यानो अनुभव गर्छु । प्रकृतिमा रमाएका वनस्पती जगतले मानव लगायत कैयन प्राणिलाई अक्सिजन दिएको छ । म यतिबेला समकक्षी मित्र र म बिच तुलना गर्छु एउटै प्रकृतिका मुद्दा ब्यहोरेका हामी थुनुवा एक अर्काप्रति सद्भाव राख्न पनि हिच्किचाउछौँ ।
एउटै आस्था हुनु भनेको एउटै परिवार हुनु हाे ।हामी आस्थाको बन्दिहरु एउटै भान्सामा पाकेको भात खान्छौँ । त्यो बाहेक हामी इच्छा वा हैसियत अनुसार माछ मासु पनि खान रुचाउँछौ । आज बिहान मात्र सोम बहादुरले बजारबाट काचो मासु खरिद गरेर ल्याए । आफ्नो स्टोभमा पकाए र प्लेट सिस्टमले भाग लगाए । कतिपय साथिहरुले आफ्नो हिस्सामा मासु भन्दा हाड धेरै परेकोमा बिरोध जनाए । बिक्रेता वा साहुले नमिठो जबाफ दियो “मासु मात्र खोज्छौ भने चिप्ले कीरा खाउ ।”
मैले एकछिन गम खाएँ यी दुबै बिषय अति हुन् । एउटा आस्था बोकेर यहाँसम्म आएका हामी सादा खानामा चित्त बुझाउन सक्दैनौ । कारागारमा आइपुगेपछि राज्यले जुन सिदा उपलब्ध गराएको छ त्यसप्रतिको बिरोध आलोचना आफ्नो ठाउँबाट हुनु न्यायपुर्ण हुन्छ तर यस बिषय हाम्रो प्राथमिकतामा पर्दैन ।
हामी आस्थाका कारणले जेलभित्र नजरबन्दमा छौँ । जे होस आजसम्म सुरक्षित छौँ तर बाहिर वन जङ्गल गाउँ वस्ती बजार असुरक्षित छन् । हामी थुनुवाहरु भावनाले त्यो बिषयलाई महत्व दिदैनौ । आज पनि कतिपय साथिहरु जि प्र का र नाम्जाली डाँडा ब्यारेकमा गैह्र कानुनी थुनामा छन् । सदरमुकाम बाहेक बाहिर राखिएका सुरक्षा क्याम्पभित्रको अवस्था कति कष्टकर होला हामी चिन्तन गर्दैनौ ।
गोरखा कारागार
२०५९ पुस २८ ।