नयाँ राष्ट्रिय एकताका आधारबारे विमर्शको खाँचो

नयाँ राष्ट्रिय एकताका आधारबारे विमर्शको खाँचो

देशमा बेलाबेला ‘राष्ट्रिय एकता’को एकोहोरो आलाप बज्ने गर्छ।‌ अग्रगमन कमजोर देखिन थाल्दा यस्ता धुन बढी बज्न थाल्छन्।‌ जाडोले ठिँगुरिएको साँप, घामको न्यानो पाउनासाथ चलमलाएझैँ ‘एकतावाला’हरू चलमलाउँछन्। राप्रपा नामको दक्षिणपन्थी दलले गत निर्वाचनमा अलिकता संख्या बढाएपश्चात् यो धुन फेरि सुनिन थालेको छ।‌

राष्ट्रिय एकता 
राष्ट्रिय एकताको गीत गाउनेहरूको मत छ, यो देशको एकताको केन्द्रमा पृथ्वीनारायण शाह छन्, देश उनै शाहको दिव्य चेतना र साहसका कारण बनेको हो। शाह नभएको भए यो देशै हुँदैनथ्यो, हामी अलप भएका हुन्थ्यौँ। अंग्रेजहरूले देश उहिल्यै कप्लक्क खाइदिएका हुने थिए र अहिले हामी भारतको कुनै प्रान्तका नागरिकका रूपमा हुने थियौँ।

देशको भौगोलिक एकीकरणको नेतृत्व पृथ्वीनारायणले नै गरेका हुन्।‌ तर, उनी मात्रै एक्लै लडेका होइनन्।‌‌ एक्लै लडेर राज्य विस्तार सम्भव हुने कुरा होइन। अरू लड्नेहरूको हिसाबकिताब इतिहासकारहरूले बिरलै लेखेका छन्। आखिर इतिहास पनि राजा महाराजाहरूले कसैका हातबाट लेखाउने कुरा नै थिए र हुन्। अर्को प्रश्न, जित्नेहरू मात्रै एकताका प्रतीक हुन्छन्‌ कि अन्यायपूर्वक हारेर पनि एउटै देशमा बस्न राजी हुने अन्य समुदायहरू पनि राष्ट्रिय एकताका आधार हुन्छन्?

राष्ट्रिय एकताको अर्थ ‘हामी एकीकृत छौँ, मिलेर बसेका छौँ, अप्ठ्यारो पर्दा हामी एक अर्काको जीवन र आत्मसम्मानका लागि हातेमालो गरे सँगै अघि बढ्छौँ’ भन्ने हो। त्यस्तो एकता सबै नागरिकहरू आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक रूपमा समेत सम्मानजनक अवस्थामा रहँदा मात्र हुन्छ। ख्याल राख्नुपर्ने कुरा, एकताका अर्थ र भाष्य पनि समय अनुसार बदलिँदै जान्छन्।‌ त्यसो हुँदा राष्ट्रिय एकतालाई पनि परिवर्तित आजको चेतनामा हेर्नुपर्छ। आज हामी गणतान्त्रिक युगमा छौँ। गणतन्त्रको चेतनालाई राजतन्त्रको प्रशस्ति गाउने तहमा ओराल्न खोज्नु त सरासर पछि फर्कन कुरा हो।‌ त्यसो हुँदा आजको एकताको अर्थ हिजोको भन्दा फरक हुन्छ र छ।

राज्य विस्तार
पृथ्वीनारायण शाहले आजको भूगोलवाला नेपालको जग हाल्दा ‘राष्ट्रिय एकता’ पैदा हुने गरी खालको कुनै उदार कदम चालेका थिएनन्। राज्य विस्तार गरेर ठूलो राज्यको ‘महाराजा’ हुने महत्त्वाकांक्षा हुर्कने क्रममा शाहले आफ्नै ससुरालीहरूमाथि समेत चरम अत्याचार गरेका थिए।‌ आफ्नै जातका र अझ आफ्नै ससुरालीमाथि समेत अत्याचार गरेका उनले अन्य जातिका राज्यहरूमाथि हमला र कब्जा गर्दा कति अत्याचार गरे होलान्?

गोरखा राज्यमाथि कुनै आक्रमण गरेको बदला लिन उनले अन्य राज्यमाथि प्रतिआक्रमण गरेका पनि थिएनन्। बरू गोरखासँग गोरु बेचेको साइनो पनि नभएका गोरखाभन्दा टाढाका राज्यहरूमाथि उनले आक्रमण र कब्जा गरेका थिए। त्यसरी आक्रमण गर्नुपूर्व उनले कुनै पूर्व सूचना दिने या एउटै राज्य किन बनाउनु परेको हो भनेर बहस चलाउने कुनै काम‌ गरेका थिएनन्। ध्यान दिनुपर्ने कुरा के छ भने पृथ्वीनारायणले आक्रमण र विजय गरेका अधिकांश राज्यहरू गैह्र आर्य-खस राज्यहरू थिए।

त्यसो हुँदा पृथ्वीनारायणको कब्जापछि ती राज्यमा‌ बसोबास गर्ने समुदायहरूको राज्य मात्र गुमेन बरू उनीहरूको भाषा, संस्कृति, खानपान, वेषभूषा, तथा समस्त कुराहरूमाथि क्रमशः लगाम लाग्न थाल्यो। पराजितहरू माथि विजयी जातीका भाषा ,संस्कृति, धर्म र मूल्यमान्यताहरू थोपरिन थाले। जातपात भन्ने कुरै नमान्ने जातीहरूलाई समेत शाहले छोइछिटो गर्न सिकाए। वर्णाश्रमको नियमभित्र नरहेका जातिहरूलाई पनि बलपूर्वक वर्णाश्रमभित्र हालेर शासन गर्न थाले। जंगबहादुरको कालमा‌ आइपुग्दा मुलुकी ऐनजस्तो ब्राह्मणवादी नीतिलाई देशको मूल कानुन बनाएर अन्य जातिहरूलाई जबरजस्ती त्यसमा छिर्न बाध्य बनाइयो।‌

‘एक भाषा एक भेष’ र खारेजयोग्य पुरानो भाष्य 
यस्तो स्थितिमा‌ पृथ्वीनारायण शाहलाई‌ धुरी र हिन्दु-सामन्ती-पहाडिया-ब्राह्मणवादी भाषा,संस्कृति, चाडपर्व, वेषभूषा तथा मूल्य-मान्यतालाई मियो बनाएर राष्ट्रिय एकताको बासी गन्थन गर्नु एक्काइसौँ शताब्दीको गणतान्त्रिक चेतना हुन सक्दैन। बरू त्यसो गर्नु बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देशका अन्य समुदायको भावना र अपनत्वको ख्यालै नगरी बलात् एक भाषा एक भेष लाद्ने निरंकुशता हुन जान्छ। आजको युगमा राष्ट्रिय एकताका आधारहरू सामन्ती राजा महाराजा तथा तिनका खलकले अपनाएका मूल्य मान्यता हुन सक्दैनन्। आजको युग-चेतनालाई दुई सय पचास वर्ष अघिको अन्यायी मान्यता स्वीकार्य छैन, न त आजको पुस्तालाई महेन्द्रीय सकस नै स्वीकार्य छ।‌ राष्ट्रिय एकताको कुरा गर्ने ‘पश्चमुखी’हरूले यो कुरा बुझ्न जरुरी छ कि ढुंगे युगको आदर्श र भाष्य यस युगलाई सुहाउँदैनन्। त्यस कारण पनि अब राष्ट्रिय एकताका नयाँ आधार र बिम्बहरूको खोजी गर्नुपर्छ।

राष्ट्रिय एकताको नयाँ आधार खोज्नुअघि हामीले यसको पुरानो भाष्य खारेज गर्नुपर्छ।‌ आजको युगानुकूल राष्ट्रिय एकताको आधार जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन तथा अन्य आन्दोलनहरूको संयुक्त बलद्वारा स्थापित तथा अनुमोदित गणतन्त्र , संघीयता, समानुपातिक प्रतिनिधित्व एवम् धर्मनिरपेक्षता हो।‌ जनताका हजारौँ छोराछोरीले बलिदान दिएर स्थापना गरेका नयाँ आधारहरूलाई अझ व्यवस्थित, अझ सुदृढ तथा अझ प्रभावकारी एवम् प्राकृतिक बनाउने बेला हो यो।

हिजो भनिने गरेको राष्ट्रिय एकता माथिबाट बन्दुकको नाल तेर्स्याएर थोपरिएको थियो। अत्याचारी कानुनहरूद्वारा पाता कसेर कोच्याइएको तथा विद्यालयदेखि अड्डा अदालत सबैतिरबाट पढाइएको र घोकाइएको नक्कली राष्ट्रिय एकता थियो।‌ डराएर नागरिकहरू चुपचाप बसेका थिए। त्यसको मतलब त्यो मन खुशीको नागरिक मौनता थिएन। आतंकबीचको मौनता थियो।

पृथ्वीनारायणको राज्य बिस्तारपछि यहाँका विजित समुदायहरू इच्छापूर्वक होइन, अनिच्छापूर्वक एउटै राज्यमा रहेका थिए।‌ मित लगाउने बहानामा निःशस्त्र व्यक्तिलाई बोलाएर मार्ने, बालुवामुनि तरबार लुकाएर नरसंहार गर्दै राज्य कब्जा गर्ने भिन्न जातको राजाको रैती हुन् र उसका सारा अत्याचार खप्न यो देशका अन्य समुदायहरू सजिलै कसरी तयार भए होलान्? केही विदेशी लेखकले त कीर्तिपुर जितिसकेपछि त्यहाँका नागरिकको नाक कान काटिएको समेत उल्लेख गरेका छन्।

त्यसो हुँदाहुँदै पनि ‘पहिले स्वर्ग थियो, अहिले बर्बाद भयो’ भन्ने ‘प्रेतवादी’हरू ‘राष्ट्रिय एकता’को बासी गफ ठोक्छन्। आफ्नो वर्गीय सीमा, स्वार्थ र स्मृतिहरूका कारण पनि उनीहरू यस्ता कुरा उठाइरहेका छन्। तर यस्ता फजुल भाष्य र वाहियात गफहरूलाई एक्काइसौँ शताब्दीका नागरिकहरूले ठाडै खारेज गरिदिनुपर्छ।‌ आफूलाई कमसेकम वामपन्थी भन्न रुचाउनेहरूले त अझ यस्ता थाङ्ने कुरामा फस्नै हुँदैन।‌ भलै, पश्चगामीहरूको सहानुभूति र समर्थन प्राप्त गर्न केपी ओलीले रथ यात्रा गर्नु तथा दौरा शुरूवालको नयाँ अवतारमा प्रचण्डले साइत हेरेर ढोका छिर्नु अलग कुरा हो। यो तिनको स्खलित चेतनाको कुरा हो। तर सबै वामपन्थीहरूका दिमाग त्यही स्तरमा कुहिसकेका पक्कै छैनन्। त्यसो हुँदा सच्चा वामपन्थीहरूले यस मुलुकका हरेक नागरिक राष्ट्रिय एकताका प्रतीक हुन् भन्ने कुरा बुझ्नुपर्छ। बुझाउनुपर्छ।

समाजवाद हुनसक्छ नयाँ आधार
वामपन्थीहरू मात्र होइन, सच्चा लोकतन्त्रवादीहरूले पनि राष्ट्रिय एकताको मृत भाष्यलाई खारेज गर्नुपर्छ। विरोध गर्नुपर्छ। किनकि राजा महाराजाहरूलाई केन्द्रमा राख्ने,  एकल जाति-धर्मको वर्चस्ववाला मान्यता बोकेर लोकतन्त्र बलियो हुँदैन।‌ यस्तो बासी बकवासलाई सिङ्गो मधेशी समुदायले पनि खारेज गर्नु पर्छ किनकि राष्ट्रिय एकताको यो बासी मान्यतामा मधेशीहरू नागरिक होइनन्, बरू ‘शंकास्पद विदेशी घुसिपैठिया’हरू हुन्।‌ काठमाडौँ छिर्दा  भिमफेदीमा मधेशीलाई भिसा लिन लगाउने यो तथाकथित ‘राष्ट्रिय एकता’ उनीहरूले बोक्न जरुरी छैन।

राष्ट्रिय एकताको यो पञ्चायती रोदनलाई जनजाति समुदायले पनि खारेज गर्नुपर्छ किनकि यो मान्यताले जनजातिहरूलाई समेट्दैन।‌ यस मान्यताले महिला, दलित र अल्पसंख्यक समुदाय कसैलाई पनि समेट्दैन।‌ यो मान्यताले फेरि एक पटक पहाडे, त्यो पनि खस-आर्य र त्यसमा पनि खसहरूलाई पृथक् गरेर अन्य पहाडिया आर्यहरूको श्रेष्ठता थोपर्छ। टोपी, शुरूवाल र राजा महाराजाको प्रशस्ति र महिमालाई केन्द्रमा राख्ने यस्तो ‘एकता’को म्याद गुज्रियो।

माथि नै चर्चा गरियो कि अब राष्ट्रिय एकताका नयाँ आधारको खोजी गर्नुपर्छ।‌ सामन्ती राष्ट्रवाद यस युगको राष्ट्रियताको आधार हुन सक्दैन।‌ युगौँ पुरानो तथा अलोकतान्त्रिक कुरा थोपर्ने कुरा अब स्वीकार्य हुनै सक्दैन।‌ त्यसको सट्टा जनताले आफैँले लडेर स्थापित गरेका कुराहरूलाई राष्ट्रिय एकताको आधार मान्नु पर्छ।‌ त्यस मानेमा गणतन्त्र, संघीय, समावेशी तथा समानुपातिक र धर्म निरपेक्षता नै अबको नयाँ आधार हुन सक्छ।‌

अझ अगाडि बढेर भन्ने हो भने संविधानमा समेत ‘समाजवाद उन्मुख’ भनेर लेखिएको हिसाबले संवैधानिक हिसाबले पनि समाजवाद राष्ट्रिय एकताको बलियो आधार हुन सक्छ।‌ समाजवाद यस मानेमा पनि दह्रो आधार हुनेछ किनभने यसले सबैभन्दा अभिजात-अल्पसंख्यक वर्गको आधारलाई भत्काएर सबैभन्दा शोषित पीडित मजदुर किसान तथा अन्य उत्पीडित जाति, जनवर्ग, भाषा भाषी, क्षेत्र तथा लिंगको प्रतिनिधित्व गर्छ।‌

स्वाभाविक हो कि शुरूशुरूमा मानिसहरू पुरानै धुनमा लट्ठिन्छन्। त्यसमै मान्छेलाई अभ्यस्त पारिएकाले तिनलाई त्यही सही लाग्छ पनि। लामो समयसम्म पुरानो राज्यसत्ताले जे रटायो, पहिले त धेरैले त्यसैलाई सत्य मान्छन्। सामन्ती धङधङीले नछोडेका र ‘राजा आऊ देश बचाऊ’ भन्नेहरूले नै अहिले राष्ट्रिय एकताको पुरानो धुन बजाइरहेका छन्। पश्चगामीहरूले आफ्नो गुमेको लुटको स्वर्गको पुनर्स्थापनाको मनसायले राष्ट्रिय एकताको बासी बकवास गरेका हुन् तर अब प्रगति र समता पक्षधरले त्यसविरुद्ध उन्नत, अग्रगामी तथा न्यायपूर्ण राष्ट्रिय एकताको आधार अगाडि सार्नुपर्छ।‌

आजका अग्रगामी शक्तिहरूले उत्पीडनमा परेका वर्ग समुदाय र लिंगको हित अनुकूलको एकताको नयाँ आधार प्रस्तुत गर्नुपर्ने हुन्छ।‌ राष्ट्रिय एकताको सयौँ वर्ष पुरानो र युग अमिल्दो भाष्य खारेज गर्दै अब नयाँ राष्ट्रिय एकताका आधारबारे विमर्श थाल्नुपर्छ।

‘उकालो’बाट