लन्डन । बढ्दो महँगीबीच ज्यालावृद्धि र सुविधा माग गर्दै बेलायतमा दिनदिनै हडतालका कार्यक्रमहरु भइरहेका छन् ।
हुलाक कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, राजमार्गका कामदार, बस चालक र रेल कर्मचारी, एयरपोर्ट ब्यागेज ह्यान्डलर, सीमाबलका कर्मचारी र ड्राइभिङ परीक्षकहरू हडतालमा उत्रिँदा बेलायती जनजीवन अस्तव्यस्त हुने गरेको छ । बेलायतका नर्सले १०६ वर्षको इतिहासमा गत बिहीबार सबैभन्दा बृहत् हडताल र प्रदर्शन गरे । मंगलबार (आज) थप हडताल गर्ने उनीहरूको कार्यक्रम छ । जनशक्ति थप र ज्याला वृद्धि मागसहित उनीहरू आन्दोलित भएका हुन् ।
उता, बस र रेल हडतालका कारण सर्वसाधारण सबैभन्दा पीडित छन् । दिनहुँ जागिर गर्नुपर्ने कामदार यातायात अवरुद्ध हुँदा निकै मर्कामा छन् । यसले महान् पर्व क्रिसमसको उल्लास पनि घटाएको छ ।
लन्डनमा विभिन्न बस कम्पनीका कामदारले पालैपालो हडताल गरेका छन् । लन्डनमा बस सञ्चालन गर्ने कम्पनी अबेलियो बस समूहका कामदारले डिसेम्बर १६ र १७ मा हडताल गरे भने आगामी डिसेम्बर २४, २७ र ३१ मा पुनः हडताल गर्दै छन् ।
डिसेम्बर १६ र १७ मा हडताल गरेका राजमार्गका कामदारले फेरि डिसेम्बर ३० र ३१ तथा जनवरी ४ देखि ७ सम्म पुनः हडताल गर्ने घाेषणा गरिसकेका छन् । उता, रेल कामदारले डिसेम्बर १३, १६ र १७ मा हडताल गरेका थिए भने अब क्रिसमसकै बेला २४ देखि २९ डिसेम्बरसम्म र जनवरी ३ देखि ४ र ६ देखि ७ मा फेरि हडताल आह्वान गरेका छन् ।
शनिबार यस साताभित्र चौथो र आरएमटी युनियनले समरमा हडतालका लागि मतदान गरेयताको १२ औं हडताल थियो । हडतालका कारण क्रिसमसका बेला उल्लेख्य व्यापार गर्ने हस्पिटालिटी र रिटेल पसल मारमा परेका छन् ।
सबैभन्दा संवेदनशील मानिने सीमा क्षेत्र पनि हडतालबाट अस्तव्यस्त हुने भएको छ । दि पब्लिक एन्ड कमर्सियल सर्भिस युनियनको आह्वानमा बेलायत प्रवेश गर्दा अध्यागमन नियन्त्रण र राहदानी परीक्षण गर्ने बोर्डर फोर्स कर्मचारी हडतालमा उत्रिएका छन् । उनीहरूले डिसेम्बर २३ देखि २६ र २८ देखि ३१ सम्म हडताल गर्दै छन् ।
इंग्ल्यान्ड र वेल्सका करिब १० हजार एम्बुलेन्स कर्मचारी हडतालमा उत्रिदै छन् । बेलायतीहरू दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आक्रान्त छन् । बेलायतमा मुद्रास्फीति डबल डिजिटमा पुगेको र अर्थतन्त्र मन्दीमा गएको बेला बेलायतको केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) ले यो वर्ष आठौं पटक ब्याजदर बढाएको छ । बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाएर ३.५ प्रतिशत पुर्याएको छ । यो सन् २००८ यताको सबैभन्दा बढी ब्याजदर वृद्धि पनि हो । बैंकले गत डिसेम्बर २०२१ देखि केन्द्रीय बैंकले ब्याजदर बढाउन सुरु गरेको थियो ।