संभवत यसैसाता भित्रमा मंसिर चारको निर्वाचनका सम्पूर्ण परिणामहरु सार्बजनिक भैसक्ने छन् । आगामी २५ गतेभित्रमा नयाँ सरकारको गठन भएर सत्ताहस्तान्तरण भैसक्ने आंकलनहरु पनि हुन थालेका छन् । तर दलहरुबीचको आन्तरिक र अन्तरदलीय खिचलोले गर्दा सहजै सरकार बन्नसक्ने देखिएको छैन । एकातिर नेपालका बिभिन्न दलका नेताहरुको चलखेल बढिरहेको छभने अर्कातिर काठमाडौंस्थित भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डिन आर थम्पसनको सक्रियता पनि त्यतिकै बढेको देखिएको छ । नेपालमा निर्वाचन भैरहेका बेला विदेशी राजदूतहरुले यहाँका सुरक्षा अधिकारीलाई भेट्नु र सरकार गठनको चर्चा शुरुभएपछि बिभिन्न दलका नेताहरुलाई भेटेर अन्तरंग वार्तागर्नु आफैमा बुझ्नसकिने बिषय भएको छ । घटनाक्रमहरुलाई हेर्दा नेपालमा क्रियाशील इन्डो पश्चिमा गठबन्धनमा केही हेरफेर हुनसक्ने संकेतहरु पनि देखिएका छन् । भारतीय र युरोपीयन शक्रिहरुले बढी सक्रियता देखाएका छन् । मंसिर चारको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो भएपनि समानुपातिकतर्फ एमाले पहिलो भएको छ । निर्वाचनको सम्पूर्ण परिणाम सार्बजनिक भैसक्दा दुबै पार्टी मतका हिसावले अत्यन्त निकट देखिनेवाला छन् । मतका हिसावले नेकां र एमाले अघि रहेका भएपनि तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले भाबि सरकार गठनका सन्दर्भमा आफ्नो खेल शुरुगरेको देखिन्छ । माओवादी केन्द्रले सरकार गठनका लागि नेकांका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग अलग, अलग वार्ता थालेपनि निर्णायक शक्रि राष्ट्रिय स्वतन्त्र पार्टी बन्ने संभावना छ । स्वतन्त्रहरुको केही सिट रहेको भएपनि उनीहरु यथार्थमा नेकां, एमाले र माओवादी केन्द्र निकट रहेका छन् । नेपाली कांग्रेसमै संसदीय दलको नेताको निर्वाचन नभएसम्म सरकार गठन हुननदिने आवाज उठेको छ । तत्काल संसदीय दलको निर्वाचन भएमा नेकांमा गंभिर बिभाजन आउनसक्ने अवस्था पनि छ । साथै नेकांका प्रधानमन्त्रिका दाबेदारहरुको संख्या घोषितरुपमै झण्डै आधा दर्जन छ । जसमा माओवादी केन्द्र नेकांको देउवा निकट र राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रि गगन थापा निकट रहेको घटनाक्रमहरुले स्पष्ट गरेका छन् । त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई सघाउने संभावना पनि त्यतिकै प्रबल रहेको छ । नेकांबाट देउवा र एमालेबाट ओली पछिहट्ने होभने नेकां र एमालेको सरकार बन्ने संभावना पनि छ ।
नेकांका नेता रामचन्द्र पौडेलले आफू प्रधानमन्त्रि हुने घोषणाका साथछलफल थाल्नुभएको छ । जसले देउवालाई संकटमा पारेको छ । बिभिन्न शक्रिकेन्द्रहरुले एमालेका अध्यक्ष ओलीलाई किनारा लगाउँदै नेता सुवास नेम्बाङलाई प्रधानमन्त्रि बनाउने संकेत गरेका छन् । खासगरी संविधानसभाको अध्यक्ष भएर पश्चिमाहरुका एजेण्डालाई नेपालको संविधानमा घुसाउन खेलेको भूमिकाका लागि उहाँलाई पुरस्कृत गरिने संभावना पनि रहेको छ । हेर्दा माओवादी केन्द्रको अत्यन्त न्युन सिट रहेपनि सो दलका वरिपरि घुक्नेमा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र राजमो रहेका छन् । त्यसैगरी स्वतन्त्रमा पनि सो पार्टीको केही हिस्सा रहेको देखिन्छ । यसअघि सत्ता गठबन्धनबाट नेकांका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रि भैसक्नु भएका कारण अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रि बन्नसक्ने संभावना पनि रहेको छ । कथंकदाचित एमालेका अध्यक्ष ओली प्रधानमन्त्रि बन्ने संभावना भयोभने राप्रपा, जसपा राष्ट्रिय स्वतन्त्र पार्टी,नेमकिपा र केही स्वतन्त्र सांसदहरुको समर्थन जुट्नसक्ने अवस्था छ । पछिल्लो मतपरिणामलाई हेर्दा कुनैपनि दलले स्पष्ट बहुमत ल्याउन नसकेका कारण सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरुले अग्रसरता देखाउनुपर्ने भएको छ । पछिल्लो पटक नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रि देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालका बीचमा निर्वाचन केन्द्रित वार्ता भएको देखिएको छ । जसले हालको सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निश्कर्ष निकालेको छ र सो गठबन्धनको बैठक पनि हुनथालेको छ । मंसिर चारको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लडेको भए बहुमत ल्याउन सक्ने अवस्था पनि रहेको थियो । तर माओवादी केन्द्रलगायतका दलहरुको घेराबन्दीका कारण नेकांले उक्त अवसर गुमाउन पुग्यो । सत्ताका लागि गठबन्धन गरेपनि निर्वाचनमा बिचार नमिल्ने त्योपनि ठूला दलहरुकाबीचमा चुनावी तालमेल गर्नुहुने थिएन ।
सत्ता लिप्सा र इन्डो पश्चिमा शक्तिको नेपाल नीतिको कार्यान्वयन नगरिनहुने बाध्यतालेगर्दा नेकां र माओवादी केन्द्रलगायतका दलहरुले निर्वाचनमा तालमेलको नीति अगाडि सारेका थिए । तर उनीहरुको चुनावी तालमेल यतिबेला आएर आफैमा घातकसिद्ध भएको छ । सत्तागठबन्धनका नेताहरुले केन्द्रमा निर्णय गरेर स्थानीय पार्टी समितिहरुलाई हुकुमीपाराले निर्देशनगर्दा चुनावी तालमेल राम्ररी कार्यान्वयन हुनसकेन । तालमेलको राजनीतिकै कारण नेकां र माओवादी केन्द्रलगायतका दलहरुमा बिद्रोहको अवस्था पनि आयो । त्यही कारणले कतिपय महत्वपूर्ण नेताहरुले पराजय पनि भोग्नुपरेको छ । त्यसैगरी क्रान्तिकारी माओवादीलगायतका दलहरुको बहिष्कारलेगर्दा कतिपय प्रदेशमै माओवादी केन्द्र सुन्यको अवस्थामा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले ०५२ देखि ०६२ सम्मका जनयुद्धका आधार इलाकाहरुमै गएर नेपाली कांग्रेस र माओवादी केन्द्र एकै भएकोभन्दै सार्बजनिक मञ्चबाट भाषण गरेका कारण सो पार्टीलाई जनताले तत्कालै दण्डित गरेको पनि देखिएको छ । नेकां र माओवादी केन्द्रले निर्वाचनमा गठबन्धन गरेकै कारण मंसिर चारको निर्वाचनको मतपरिणाम अनपेक्षित रुपमा छरप्रष्ट हुनपुगेको हो । खासमा आफैले गराएको निर्वाचनमा पराजित भैसकेपछि नैतिक हिसावले पनि नेकां र माओवादी केन्द्रलगायतका सत्तागठबन्धनका दलहरुले फेरी पुरानै गठबन्धनका साथ सरकारमा जाने प्रयासगर्नु राम्रो होइन । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकांका सभापति तथा प्रधानमन्त्रि देउवाको विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्ने सहमति कार्यान्वयनगर्न त्यति सहज छैन । कार्यान्वयन भएर हालको सत्ता गठबन्धनको सरकारले निरन्तरता पाएपनि त्यो खासै सुखद हुन सक्तैन । एमाले र राप्रपालगायतका पार्टीहरुसँग सामना गरेर शासन सत्तासञ्चालन गर्नु/गराउनु निक्कै कठीन कुरा हो । त्यसमाथि पनि क्रान्तिकारी माओवादी लगायतका दर्जन दलहरु यो ब्यवस्थाको बिपक्षमा रहेका छन् ।
गत केहीदिन अघि भएको बालुवाटार बैठकले निकालेको अंकगणितमा हालको गठबन्धनकोमात्रै १४० मत पुग्छ भन्ने रहेको देखिएको छ । उनीहरुले सत्ता गठबन्धनको सहयोगमा जितेका प्रभु साह समूहका दुई सिट र नागरिक उन्मुक्ति पार्टीको चार सिटलाई पनि आफ्नो गणनामा राखेका छन् । भनिन्छ उपेन्द्र यादवको अनपेक्षित पराजयपछि जसपाका छजनालाई पनि सत्ता गठबन्धनमा मिसाउने कसरत भैरहेको छ । तर धेरै दल सम्मिलित सरकार गठन गरेपछि को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका अन्य पदहरुको बाँडफाँड कसरीगर्ने भन्ने अर्को जटिल समस्या सिर्जना हुने देखिएको छ । देउवा र दाहाल आफै प्रधानमन्त्री पदका दाबेदार देखिनुभएको छ । उहाँहरुको आलोपालो र भागबण्डाको नीति पनि कायमै छ । पहिलो पालो कस्को भन्नेमा पनि आन्तरिक रस्साकसी चलिरहेको देखिन्छ । नेकांका सभापति तथा प्रधानमन्त्रि देउवासँग छलफल गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री निवास पुगेर निर्वाचनको परिणाम र सरकार निर्माणका विषयमा चासो राख्नुभएको समाचार बाहिर आयो । उहाँको चासो बर्तमान गठबन्धनको बहुमत पुग्छ पुग्दैन र सरकार निर्माण के कसरी हुन्छ भन्नेमा केन्द्रित देखिन्थ्यो । त्यसलगत्तै श्रीवास्तव माओवादी केन्द्रका अध्यक्ष दाहाललगायतका अन्य नेताहरुको निवासमा पनि पुगेको देखिएको छ । कतिपयले प्रधानमन्त्री पदलाई केन्द्रमा राखेर गरिने सत्ता गठबन्धनको अभ्यासले राजनीतिलाई थप समस्यामा पार्ने बताएका छन् । फेरी पनि हालकै सत्ता गठबन्धनले सरकार बनाएको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादीमा थप बिग्रह आउन सक्ने संभावना रहेको छ । त्यसैले अब सरकार गठनको मामिला देशलाई स्थिरता दिने कि थप अस्थिरतातर्फ धकेल्ने भन्नेमा केन्द्रित रहने देखिएको छ । त्यस्तै अवस्था आएमा दलहरुले सरकार गठनगर्न नसकेर मध्यावधीमा जानु नपर्ला पनि भन्न सकिन्न । यो सबैले समयमानै बिचार गर्नुपर्ने कुरा भएको छ ।