कार्तिक ३ इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सल्लाहकार समितिका संयोजक तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम प्रसाद गुरुङको असमायिक निधन प्रति दु:ख व्यक्त गर्दै नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
वि.स २००९ माघ २७ गते बाग्लुङ्गमा जन्मिएर कम्युनिष्ट आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनलाई उचाईमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएका प्रा. डा. गुरुङको यहि ३१ गते काठमाण्डौँमा निधन भएको थियो ।
उहाँले कम्युनिष्ट आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै प्रदेश पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
सो श्रद्धाञ्जली सभामा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य तथा प्रदेश १ इन्चार्ज दिनेश शर्माले आदिवासी जनजाति आन्दोलनलाई निरन्तर अगुवाई गर्ने थोरै मान्छे मध्ये कमरेड ओम गुरुङ एक भएको बताउनु भयो । उहाँले क्रान्तिकारी पार्टीमा लागेर आदिवासी जनजातिको उथानमा जोड दिएको स्मरण गर्दै गुरुङको निधनले पार्टी ,क्रान्ति र आदिवासी आन्दोलनलाई अपुरणीय क्षति भएको भनाई राख्नु भयो ।
सोहि सभामा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी) का प्रदेश १ सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य पारस लिम्बुले उत्पीडनमा परेका तमाम जनजातिहरुलाई गुरङले क्रान्तिमा जेड्नको लागि विषेश प्रकारको भुमिका निर्वाह गरेको बताउनु भयो ।
उक्त श्रद्धाञ्जली सभाको अध्यक्षता पार्टीका प्रदेश सेक्रेटरी सरलले गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा दिवंगत गुरुङको जीवनी वाचन पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विवेकले गुर्न भएको थियो । श्रद्धाञ्जली सभामा दिवगंत गुरुङको सम्झनामा २ मिनेट मौन धारण गर्दै तस्बिरमा अबीर तथा मल्यार्पण गरिएको थियो ।