ईश्वरीप्रसाद गैरे/दाङ
३, कात्तिक/नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)द्वारा मङ्सिर ४ गते हुने निर्बाचन बहिष्कार अभियान यतिबेला दाङका विभिन्न गाउँ र सहर बजारहरूमा सञ्चालित भइरहेका छन् । यही कात्तिक एक गते तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १९ मा पर्ने स्यालापानीबाट अभियानको उद्घाटन गरी जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको छ ।
पार्टीका दाङ जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य समिर केसीले अभियानको उदघाटन गरेर मङ्सिर चार गतेको संसदीय निर्वाचनको भण्डाफोर गर्दै चुनाव वहिष्कार गर्नुपर्ने कारणका बारेमा पार्टीको धारणा सार्वजनिक गरे । स्यालापाखाबाट कार्यक्रमको उद्घाटन गरी सोही वडाको बिजौरी बजार हुँदै वार्ड नं. सातको पर्सेनी, तुलसीपुर बजारको बसपार्क, बिपि चोक र उरहरीमा बहिष्कार अभियानलाई प्रचार गर्दै एक गतेको कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा बहिष्कार सभालाई सम्बोधन गर्ने वक्ताहरूमा केन्द्रीय सदस्य समीरका साथै जिल्ला सेक्रेटरी शिशिर, सचिवालय सदस्य तिलक विक, सदस्य मनबहादुर ओली, देजमो लुम्बिनी प्रदेशका उपाध्यक्ष ईश्वरीप्रसाद गैरे तथा क्रान्तिकारी युवा लिगका केस डिलबहादुर कठायत थिए । सभालाई सम्बोधन गर्ने वक्ताहरूले मङ्सिर ४ गते तोकिएको निर्बाचन जनताको आबस्यकता अनुसार नभएको, जनताको सुरक्षा समृद्धिका पक्षमा नभएको, सांसदहरूले राष्ट्र र राष्ट्रियता बिपरित कार्य गरेको, जनताको चाहना बिपरित एमसीसी परियोजना संसदबाट अनुमोदन गराएर अमेरिकी सेनालाई भित्¥याउने कार्यमा संलग्न रहेको, भारत र अमेरिकाको एजेन्ट (दलाल)का रुपमा काम गरेकोले यो चुनावमा मतदान गरेर दलाल पार्टी तथा नेताहरूलाई पुनः देश बर्बाद गर्ने लाइसेन्स दिन नहुने धारणा राखेका र्थिए ।
यसैगरी अभियानको दोस्रो दिन दाङका पश्चिम क्षेत्रमा पर्ने दङ्गिशरण गाउँपालिकाका विभिन्न बस्तीहरूका साथै बबई गा.पा.का हापुरे सम्म पुगेर बहिष्कार अभियानलाई तीव्र बनाइएको छ । आज तेस्रो दिन घोराही उपमहानगर पालिकाका बजार क्षेत्रका विभिन्न चोकहरू हुँदै रामपुर, लक्ष्मीपुर, गोग्लीमा कार्यक्रम सकेर देउखुरीतर्फ लागेको कुरा पार्टीका जिल्ला सेक्रेटरी शिशिरले बताएका छन् ।





























