पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर कमरेड ओम गुरुङप्रति अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)

पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर कमरेड ओम गुरुङप्रति अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले प्रा.डा. ओम गुरुङको अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय कुपण्डोल परिसरमा उहाँको पार्थिक शरीर विहान ८ बजेदेखि ९ बजेसम्म राख्यो । पार्टी महासचिव मोहन वैद्य किरणको मुख्य उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव किरणले मृतक कमरेड ओम गुरुङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले अवीर, माल्र्यापण र अभिवादनसहित कमरेड गुरुङको पार्थिव शरीरलाई विदाई गर्नुभयो । कार्यक्रममा पार्टीका शीर्ष नेताहरु रामसिंह श्रीस, हरिभक्त कडेल, परि थापा, मृतक गुरुङकी जीवनसंगिनी, छोरा छोरीहरु, दाजुभाइहरु, नेकपा (बहुमत)का प्रवक्ता हेमन्त प्रकाश ओली, वैज्ञानि समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधि विधुर खरेल, नेकपा (मसाल)का नेता रामबहादुर बुढा लगायत उपस्थित नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यर्ताहरु र अन्य सबैले पार्थिव शरीरमा अवीरसहित माल्र्यापण गर्नुभयो ।


श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन पार्टीका स्थायी समिति सदस्य परि थापाले गर्नुभएको थियो । कार्यक्रमका प्रा.डा. ओम गुरुङको संक्षिप्त जीवनी पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रस्तुत गर्नुभएको थियो भने पार्टी प्रवक्ता हरिभक्त कडेलले पार्टीले जारी गरेको श्रद्धाञ्जली वक्तव्य बाचन गरेर सुनाउनु भएको थियो ।


कार्यक्रममा मृतक प्रा.डा. गुरुङप्रति दुई मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा दिइएको जानकारी अनुसार कमरेड गुरुङको पार्थिव शरीर केही समय श्रद्धाञ्जलीका लागि उहाँको कीर्तिपुरस्थित निवासमा राखिने र आजै दुई बजे स्वयम्भूमा अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ ।