कञ्चनपुर, कार्तिक,१ । नेकपा (क्रान्तिकारी माओवादी) को निर्वाचन बहिस्कारको अभियान टोलीले बैतडीको पाटनमा गरेको चुनावी कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रम स्थलबाट पार्टीका पीवीएम तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रेम सुवेदीसहित ६ जना नेताहरुलाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्ने अन्य नेताहरुमा पार्टी केन्द्रीय सदस्यहरु हरि सुवेदी, रूद्र कँडेल, देजमो केन्द्रिय सदस्य तथा सुदुरपश्चिम अध्यक्ष बिष्णु राम दमाइ, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य टंक कोइराला र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रेम बोहरा रहनु भएको छ । उहाँहरुलाई बैतडीको पाटन इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको पार्टीका प्रदेस सेक्रेटरी रामबहादुर महराले जानकारी दिनुभयो ।
प्रदेश सेक्रेटरी राम बहादुर महराले शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा हस्तक्षेप गरी अमानवीय तवरले नेताहरुलाई गिरफ्तार गरेको घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै उहाँहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्नुभएको छ ।