असोज ३१ विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी)सहित चार दलिय संयुक्त मोर्चाले आसन्न मंसिर ४ गते हुने संसदीय निर्वाचन बहिष्कारको माग राखेर विराटनगरमा विशाल प्रदर्शन गरेको छ ।
मोर्चाले कथित निर्वाचन बहिष्कार गरौँ , प्रतिक्रियावादी पुजीवादी संसदीय व्यवस्था मुर्दावाद , नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद जिन्दावाद भन्ने नारा लगाउदै विराटनगरको मुख्य शहरमा जूलूश निकालेको हो ।
उक्त जुलूस विराटनगर महानगरपालिकाको कार्यालय अगाडि बाट सुरु भएर विराटनगरको मुख्य तथा व्यास्त शहर वि प्लटमा पुगेर बहिष्कार सभामा परिणत भएको थियो ।
सो निर्वाचन बहिष्कार तथा अवज्ञा सभालाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटि सदस्य तथा देश भक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गनुरेलले गर्नु भएको थियो । सभाका प्रमुख वक्ता रहनु भएका नेता गजुरेलले संसदीय व्यवस्था मिटरव्याजी, दलाल ,तस्कर ,भ्रष्टचारी र माफियाहरुको मात्र भएका कारण जनताले निर्वाचन बहिष्कार गर्नु पर्ने बताउनु भयो ।
उहाँले आसन्न मङ्सिर ४ मा हुने संसदीय निर्वाचन बहिष्कार चुनावको लागि मात्र नभई संसदीय व्यवस्थाकै अन्त्यको लागि भएको स्पष्ट पार्नु भयो । गजुरेलले संसदीय व्यवस्थाकै कारण नेपालमा गरिब र धनी बीचको खाडल तिब्र रुपमा बढ्दै गएको र यसै व्यवस्थाका कारण नेपालका ७० लाख युवा/युवतीले मुलुक छोडेर विदेशीन बाध्य भएको बताउनु भयो ।
उहाँले यस पटकको निर्वाचन बहिष्कार संसदीय व्यवस्थाको भण्डाफोर गर्न आधार तयार गर्नको लागि गरिएको स्पष्ट पार्दै अन्त्य हुन लागेको दलाल संसदीय व्यावस्थालाई बचाउन एमसीसी र एसपीपी जस्तो राष्ट्रघात गर्ने गद्दार नामधारी कम्युनिष्टहरु लागि परेको बताउनु भयो । उहाँले जनताले नै संसदीय व्यवस्थाको अन्त्य चाहेका कारण देशभक्त क्रान्तिकारी तथा प्रगतिशिल र इमान्दार नागरिकहरुले निर्वाचन बहिष्कार गर्नु अपरिहार्य भएको भनाई राख्नु भयो । गजुरेलले संसदीय व्यवस्थाले भ्रष्टचार, बेरोजगारी ,गरिबी ,बलात्कार ,हत्या,हिंसा लगायत समस्या नै समस्या सिर्जन गर्ने भन्दै कथित निर्बाचन बहिष्कार गरेर संघीय जनगणतन्त्रको दिशामा अघि बढन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नु भयो ।
यसरी नै बहिष्कार तथा अवज्ञा सभालाई सम्बोधन गर्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्थाले देशमा राजनीतिक अस्थिरता बाहेक केही दिन नसकेको स्पष्ट पार्नु भयो । उनले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलाल पूँजीपति वर्गको व्यवस्था भएको बताउनु भयो । बास्तोलाले हाल सत्तामा भएका व्यक्तिहरुले यहि व्यवस्थाका कारण काम गर्न नसकेको बताउदै निर्वाचन अवज्ञा गरेर जननिर्वाचित कार्यकारी राष्ट्रपति चुन्नु पर्ने भनाई राख्नु भयो ।
सोहि विरोध सभामा माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले यो निर्वाचन प्रणाली गलत भएकाले बहिष्कार गर्नु परेको बताउदै मङसिर ४ को चुनावले महँगी, भ्रष्टचार बढाउने र एमसीसी, एसपीपीको नाममा साम्राज्यवादीलाई देश बेच्ने षडयन्त्र संसदवादीहरुले अनुमोदन गराउने भएका कारण बाध्य भएर निर्वाचन बहिष्कारमा उत्रिनु परेको भनाई राख्नु भयो ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मसाल) विद्रोहीको संयुक्त आयोजनामा भएको उक्त बहिष्कार तथा अवज्ञा सभाको संचालन नेकपा(क्रान्त्किारी माओवादी) का पोलिटब्यरो सदस्य तथा प्रदेश १ का इन्चार्ज दिनेश शर्माले गर्नु भएको थियो ।