पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेन

पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेन

सिमकोट । अविरल वर्षाका कारण आइतबार राति गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट उडे पनि खराब मौसमका कारण हुम्ला आउन नसकेको हो।

सुर्खेतबाट आएको सेनाको हेलिकोप्टर कालिकोटमा अवतरण गरेर फिर्ता भएको थियो। कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमका कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा अवतरण गरेर रोकिए पनि मौसममा सुधार नहुने देखिएपछि फिर्ता भएको हो।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुुसार पहिरोबाट घाइते भएका पाँच जनामध्ये सख्त घाइते एक जनाको उद्धारका लागि सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण हुम्ला आउन नसकेको बताइन्।

पहिरोमा परी घाइते हुनेमा ३८ वर्षका देउच्या सार्की, ३६ वर्षकी अंगती सार्की, १४ वर्षकी मनिका सार्की, १२ वर्षकी निरुता सार्की र तीन वर्षका तवेन्द्र सार्की थिए।

घाइतेमध्ये अंगती बिकको अवस्था चिन्ताजनक छ। उनको उद्धारका लागि हेलिकोप्टर सुर्खेतबाट उडेको थियो।

घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने तयारी थियो। तर, खराब मौसमका कारण हेलिकोप्टर कालिकोटको सेनाको ब्यारेकमा रोकिएको थियोे।

आज बेलुुकासम्म हेलिकोप्टर उड्ने प्रयास गरिरहेको तर मौसमले साथ नदिएपछि फिर्ता भएको हो। आइतबार राति पहिरोमा घर पुरिएर चंखेली गाउँपालिका–६ को मासीधारा गाउँको जनवाडाको एउटै परिवारका चार जना सदस्यको मृत्यु भएको थियो।

पहिरोमा पुरिएर मृत्युु हुनेमा ६० वर्षीया तुलसा बिक, सात वर्षका वसन्त बिक, नौ वर्षकी सुस्मिता बिक र १२ वर्षीया हैजाली बिक छन्। मृतकमध्ये एक जनाको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो। बाँकी तीन जनाको लास सोमबार बिहान निकालिएको थियो। सदरमुकाममा बत्ती, नेट र मोबाइल नेटवर्क नभएका कारण घटनाबारे विवरण लिन पनि समस्या भएको थियो।