क. आमुख
मोदनाथ मरहट्टाको जन्म वि. सं. २०१२ साउन २ गते गोरखाको प्रकृतिले सिंगारेको मनै लोभ्याउने गाउँ हर्मीमा भएको हो । उनले थातबासको लागि स्थायी ठेगाना भने रत्ननगर नगरपालिका–३, चितवनलाई बनाएका छन् । केही न केही गरी समय खर्चिनु पर्ने भएकाले शिक्षण–पेसाबाट निवृत्त भएपछि पूर्णकालिक साहित्यको पढाइ, लेखाइ र घोत्ल्याँइतिर नै बिछट्ट लागेका मोदनाथ मरहट्टा उधुम खरो स्वभाव र व्यवहार अनि उत्पात दरो आँट र हिम्मत भएका सभ्यता र शालीनताले अग्लिएका व्यक्तित्व हुन् । कहिलेदेखि उनी मेरो सहयोगी र हितैषी बने ? तिथिमिति ठ्याक्कै भन्न त सक्दिन तर ०५८÷०५९ तिर राष्ट्र लोकतन्त्रतिर उन्मुख हुँदै गर्दाका बखत चितवन साहित्य सङ्गम वा मासिक रूपमा हुने शारदा घरदैलो प्रतिभा प्रवाहको कुनै कार्यक्रमबाट सुरु भएको हुनुपर्दछ ।
उनी रत्ननगर नगरपालिका तीन र म चैं तेह्रको बासिन्दा हुनुले पनि हाम्रो निकटता घनीभूत भएको हुनसक्दछ तर तीन र तेह्रको तात्विक तथ्याङ्कको अन्तर के छ ? उनै जानून् । उनका पुस्तकाकार कृतिहरूमा ‘पाइला शिखरतिर उकासिंदै गर्दा’ (कवितासङ्ग्रह २०५५), ‘उज्यालो जन्मिनु अघि’ (लघु खण्डकाव्य २०६२) र ‘लेख्ने विषयको खोजी’ (२०७७) प्रमुख रहेका छन् । फुटकर रूपमा लेख, संस्मरण, निबन्ध र कविताहरू विभिन्न पत्र–पत्रिकाहरूमा प्रकाशित छन् । साहित्य सिर्जनातिर एकोहोरिँदै लागिपरिरहँदा ‘इच्छुक स्मृति पुरस्कारसहित थुप्रै संस्थाबाट दोसल्ला सम्मानले ढाकिएका मरहट्टाले ‘फूलको डोली’ (२०६१), जनदीप (संयुक्त२०४९), उत्प्रेरणा (२०५४), शिक्षक बुलेटिन (२०५५), जागृति (२०६७), भद्रकाली स्मारिका (२०६७), नयाँराज्य (दैनिक २०६८) र ज्याग्दी खोलाको तरङ्ग जस्ता पत्रपत्रिकको सम्पादनको मेलो तुरेका मरहट्टा २०४६ सालको जन आन्दोलनपछि विभिन्न देश र जनताका पक्षमा माक्र्सीय सौन्दर्य चिन्तनलाई आत्मसात् गर्दै विचारका घुयेंत्राहरूले सामन्ती–वर्गको सातो उड्ने गरी लेख्ने मरहट्टा प्रगतिवादी क्रान्तिकारी साहित्यकार हुन् । यथार्थताको धरातलमा रहेर वर्गीय चिन्तनको जल बर्साउने साउने झरी हुन् ।
ख. विषय प्रवेश
म अर्थात् लेख्न जान्नु न तान्नुको अल्लरे र अल्छी मान्छे, रस न बसको भूतपूर्व ठिटो । भनिहाल्नु भो भनेर दाजुको निबन्ध पढ्न थालेको त छोड्नै मन नलाग्ने र पढुन्जेल भोक, तिर्खा र अत्यास सबै बिर्साउने खालको रहेछ । ए आम्मा ! यस्तो मजाको पुस्तकको बारेमा लेख्ने पो कसरी ? एक मनले भन्यो– ‘बूढा ! अर्कालाई तनाव दिन खुब जान्या छौ !’ तर छिट्टै अर्को मनले भन्यो ‘दाइ मास्टरी गरेरै आएकाले पढ्न र गृहकार्य दिने बानी अझै छुटेको रहेनछ ! भन्ने पनि ठानें । जे होस् कनिकुथी लेख्ने जमर्को गर्दै छु जस्तो त होला ? हेरौं । कवि एवम् साहित्यकार मोदनाथ मरहट्टाको पछिल्लो निबन्धात्मक कृति ‘लेख्ने विषयको खोजी’ (२०७६) का बारेमा समीक्षात्मक धारणा न राख्दै मनमा कताकता डर लागिरहेछ । दाजु भनेर के गर्नु ? प्रगतिवादी क्रान्तिकारी धाराका वर्गीय पक्षधरताको साहित्यिक अधिवक्ता एवम् यथार्थवादी वैचारिक दृष्टिकोणका छापामार र प्रगतिवादी चिन्तनका बमवर्षक परे उनी । लेखूँ ढङ्ग मरु, नलेखूँ दाजुको आग्रह–आदेश छ, के गरूँ !
ग. निबन्धको निर्मिति र परिभाषा
“निबन्ध शब्द ‘बन्ध’ धातुमा ‘घञ्’ प्रत्यय र ‘नि’ उपसर्ग लागेर बनेको देखिन्छ । अतएव माझिएको सुगठित शब्दसंयोजनद्वारा विचारको प्रकटन गर्नु निबन्ध हो । मनका सबै तरङ्ग–तरेलीहरूलाई अनुभूतिको तीक्ष्णता, चिन्तनको सारभूतता र कल्पनाको घनीभूतताले रङ्गाई आगमन वा निगमन तथा आत्मपरक वा वस्तुपरक शैलीमा अभिव्यक्त गर्नु निबन्ध हो । जे होस्, यस समीक्षामा निबन्धकार मोदनाथ मरहट्टाको ‘लेख्ने विषयको खोजी’ मार्फत् कृतिको समीक्षा गरिने छ ।
घ. कृतिगत विश्लेषण
कृतिमा समेटिएको पहिलो निबन्ध ‘अक्षरको आस्था’ हो । यसमा अक्षर अर्थात् श्रमजीवी पत्रकार, कविताबाट आगो ओकल्ने कवि अर्थात् उमेरमा कान्छो भए पनि निबन्धकार मरहट्टाका निर्देशक, गुरु र क्रान्तिका नायक अर्थात् कृष्ण सेन इच्छुक (२०१३) लाई सर्वहारा जनमुक्तिको युद्धमा सरकारी सुरक्षाफौजद्वारा अपहृत गरिई मारिनुको खबरले आफू भावविह्लल र स्तब्ध भएको क्षणलाई मार्मिक ढङ्गले प्रकट गरेका छन् । दोस्रो निबन्ध ‘माटोको माया’ हो र राष्ट्रप्रेमलाई केन्द्रमा राखी बुनिएको निबन्धमा माटो भनेको स्वाभिमान हो, जन्मभूमि हो र राष्ट्र हो । कला, साहित्य र संस्कृति हो । नदीनाला र वन, वसस्पति र पैदावार हो । यिनको रक्षाको निम्ति खट्ने जनता हुन् भन्ने सन्दर्भ अघि सार्दै देशको सार्वभौमिकताको रक्षा गर्न संसारमा भयावह युद्धहरू भएका छन् । माटोको निम्ति प्राण अर्पिने वीरपुर्खाको स्मृति गर्दै माटोको रक्षाका सागि सबै एक हुनुपर्ने तथ्यलाई उजागर गरेका छन् । केही बौद्धिक प्राणीहरूप्रति लक्षित प्रतीकात्मक निबन्ध हो ‘मुसाको उपद्रो’ । यस निबन्धमा निबन्धकारले मुसाले घरका चोटा, कोठा र दराजका सामान र पुस्तकहरू तहसनहस पारेझैं राता किताबका ठेली चपाएर निल्नेहरूले देशको सार्वभौमिकता नै धुजाधुजा पारिरहेका छन् भन्दै दरो व्यङ्ग्य प्रहार गरेका छन् । छोटो पारिवारिक परिचय र परम्पराप्रतिको धारणासहित आफ्ना बा’ले जीवनभरिजस्तै बेहोर्नु परेका वेदना, पीडा, दर्द, लाञ्छना, खिसिटिउरी र सङ्घर्षलाई जस्ताको तस्तै ‘बा’को आँखामा आँशु’द्वारा तात्कालिक अवस्थालाई मार्मिक शैलीमा उतारेका छन् । पाँचौ निबन्धको रूपमा कुनै जमानामा षड्यन्त्र गरी अङ्ग्रेजले आफ्नो पोल्टामा पारेको र हरसाल दुःख खेप्दै हेपिदे, चेपिदै, लुटिदै र भुटिदै नैनीताल पुग्ने नेपाली श्रमजीवीहरूको टिठ लाग्दो कथालाई ‘नैनीतालमा नेपाली नाम्लो’ मा चित्रण गरिएको छ ।
चितवनको सौराह यसै पनि गैंडा, हात्ती, बाघ, भालुहरू तथा चराचुरुङ्गी र अमूल्य वनौषधिको वैभवले सम्पन्न राष्ट्रिय निकुञ्ज हो । यिनै जन्तु–जनावरहरूलाई नजिकबाट नियाल्ने रहरले श्रीमती र कान्छी छोरीसँगै हात्तीको बुई चढी घुम्दाका अनुभूतिलाई आकर्षक शैलीमा उतारेका छन् । चितवन, हेटौंडा र कुलेखानी हुँदै काठमाडौंतिर लाग्दा तामाङ जातिको पछौटेपन, धुलो र धुवाँको सास्ती पाउँदाको बिम्बलाई ‘बेनाम बस्तीमा धूलो बुङबुङ’मा मज्जाले पोखिएको छ । जुन आस्था र विश्वासले राजनीति दर्शनका पुस्तक पढिए । जुन उत्साह र आँटले सङ्घर्ष गरियो । त्यसै अनुरूप चुनाब लडियो । पुरानो सत्ता ढले । नयाँ सत्ता आयो । आखिर ती सब स्वप्नभ्रम मात्रै भए । आखिर यी सब नाटक त हाइफोथेसिस मात्र रहेछ भन्ने तथ्यलाई ‘साँचिएको चित्र, भाँचिएको बिम्ब’ मा सर्लक्क उतारिएको छ । ‘शहर र फोहर’लाई वाग्मतीको जलसँग पनि तुलना गर्न नसुहाउने भएको छ । ‘हामीले स्वीकारेको दासता’ र ‘भुङ्लीचोकको नियति’ आज पनि उस्तै छ । पुरुष जातिबाट नारीहरूले बेकसुर खप्नु परेका पीडाको चित्रण ‘दृश्य, अदृश्य–दाह्रे नङ्गे’मा राम्ररी भएको छ । प्रगतिवादी कृतिहरू राजधानीका पुस्तक पसलमा नपाइने अनौठो घटना र शोक संस्कारको कर्मकान्डे प्रवृत्तिप्रति ‘जोगी, काठमाडौं र म’द्वारा घुमौरो आक्षेप गरिएको छ । ‘रैथाने पाहुना’ हुनुको ठेस, नाम, ‘मास्टरी जीवनको सम्झना’, ‘लेख्ने विषयको खोजी’ ‘भोक र भुइँमान्छ’े र ‘जेठो हुनुको मर्यादा’ जस्ता निबन्धहरूले पाठकको मन खिच्नु खिच्दछन् ।
पहाडका अग्लाअग्ला चुचुराझैं हेर्दै कहाली लाग्ने चितवनका गगनचुम्बी घरहरूको बिम्ब उतारी छिम्काको लेक, सिरानचोक, धार्के र सिराइचुलीजस्ता सयौं भिर कन्दराहरूका कोखमा जिन्दगी गुजरपसर गर्नेको सुखका लालीगुराँस फुल्ने कुनै सम्भावना नभएकोले गणतन्त्र आउनासाथ सिंहदरबारको रङ्ग फेरिएझैं ‘छिम्काको रङ’ कहिले फेरिएला ? ऐलेका सत्तामुखी भ्रष्ट नेताहरूलाई सिस्नोपानीले डाम्ने गरी प्रश्न गरिएको छ ? ‘चित्रेको उकालो र बुढौलीको मर्म’मा प्र.ले.स.नेपालको दशौं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय परिषद्को इलाममा सम्पन्न हुने बैठकमा सहभागी हुँदै गर्दा र त्यहाँको कृषिकर्म र संस्कृतिको सेरेफेरोमा लेखिएको संस्मरणात्मक निबन्ध हो भने ‘सिमाको घाउ’, ‘छोरी अन्माउँदा’ र ‘आमाहरूको जीवन खोतल्दा’ निबन्धहरू शीर्षक अनुरूप नै मार्मिक र घतलाग्दा रहेका छन् ।
ङ. उपसंहार
निबन्धकार एवम् कवि मोदनाथ मरहट्टाले ‘लेख्ने विषयको खोजी’ (२०७७) मा कतै राष्ट्र राष्ट्रियता र जन्मभूमिप्रति अगाध आस्था र ममता प्रकट गरेका छन्, कतै सीमा अतिक्रमण गर्ने छिमेकी देशप्रति घृणा र रोष अभिव्यक्त गरेका छन्, कतै सत्तालोलुप स्वार्थी नेताहरूप्रति भर्त्सना गरेका छन्, देशका कुनाकन्दरामा रहेका गरीब जनताको मुहारमा खुशी खोज्ने प्रयास गरेका छन् । संस्मरणहरूको आधिक्य रहेको यस कृतिमा अभिधेयात्मक सरल र सुन्दर भाषिक प्रयुक्ति रहेको छ । प्रतीक, बिम्ब र उपमाको राम्रो संयोजन छ । प्रविधिगत वा शैलीगत एकाध कमिकमजोरी अवशेष रहे पनि पुस्तक पठनीय मात्र बनेको छैन अपितु प्रशंसनीय समेत बनेको छ । समग्रमा निबन्धभरि चेतनाले अभिरमित वर्गीय पक्षधरताले ओतप्रोत र माक्र्सीय सौन्दर्यको छनक पाइनु कृतिको वैशिष्ट्य रहेको छ ।
रत्ननगर–१३, चितवन