
चितवन । वर्तमान संसदीय व्यवस्था अन्तर्गत मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय गरेका चार कम्युनिस्ट पार्टीले चितवनको पुलचोकमा भव्य बहिस्कारसभाको आयोजना गरेका छन् । देशैभर संसदवादी दलहरुले उम्मेदवारी दर्ता गर्दै गर्दा चार कम्युनिस्ट पार्टीले भने हजारौ जनताको उपस्थितिमा निर्वाचन बहिस्कारको पक्षमा नारा जुलुसको प्रदर्शनसहित विशाल सभाको आयोजना गरेका छन् ।
चितवनको लायन्स चोकबाट निस्किएको चार कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र जनसहभागितासहितको नारा जुलुस सहिद चोक हुँदै पुलचोकमा पुगेर सभामा परिणत भएको छ । सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सिपी गजुरेल गौरव, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका प्रतिनिधि विमल शर्मा र माओवादी कम्युनिस्ट नेपालका महासचिव रामनारायण पालले मुख्य वक्ताको रुपमा सभालाई सम्बोधन गरिरहनु भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घननाथ सापकोटा विकासको अध्यक्षतामा सुरु भएको सभाको सञ्चालन नेकपा (बहुमत)की चितवन सेक्रेटरी दुर्गा सुवेदीले गर्नुभएको छ भने स्वागत मन्तव्य मसाल समन्वय समितिका जिल्ला प्रवक्ता कमल गिरीले गर्नुभयो ।