एकपहर रात बाँकी रहँदै
उठ्थिन् आमै र दैलो
लिप्थिन्
बा अगेनाको डिलमा बसेर
फुस्रोको पटुवा बटार्दै दाम्लो
बाट्थे
ससाना भाइबहिनीहरू
मुतौरोको चिसो सहन
नसकेर
एकअर्कालाई आरोप
लगाएको
सम्झना आउँछ ।

बिहान पखको
मस्त निद्रा खल्बलिने गरि
धुममा थुनेका कुखुराहरू
मध्ये
मैहुम् भन्ने झक्कले भलेले
टोलै थर्काउने गरि
कुखुरी काँ गरेको
सम्झना आउँछ ।

हार्दिक शुभकामना !

पोथी बासे
अनर्थ हुने मान्यता छ
गाउँघरमा
एकपटक मध्यरातमा
बास्यो वा बासेजस्तो ग¥यो
डोकोले थुनेको कुखुरीले
बिचरीले बाको हातबाट
अन्तिम सास फेरि
ढिकमाथि उक्लेर
बाले धुरी कटाएको
सम्झना आउँछ ।

सधै हुन्थेन दुधालु भैंसी
घरमा
गोरसको बाक्लो तरको
तलतल मेटाउन
कहिलेकाहीँ
कान्छाबा कान्छीआँको
आँखा तरेर
सुटुक्क मझेरीमा पसी
सुस्तरी ठेकीको बिर्को
खोलेर
कृष्णकन्हैया बनेको
सम्झना आउँछ ।

निकै सस्तो थियो
राता पहेँला पिपलगेडीको
मुल्य
त्यही पिपलगेडीसम्म
किन्ने
हुन्थेन पैसो गोजीमा
स्कुल पुग्दानपुग्दै थियो
ससानो मन्दिर
त्यही मन्दिरको मौलोमा
भक्तले चढाएको
एकदुई पैसे ढ्याक
पल्याक पुलुक हेर्दै
चप्काएको
सम्झना आउँछ ।
२० माघ २०७६, बुटवल ।

प्रतिक्रिया

सम्बन्धित खवर