बाजुरा । बाजुरामा एक मन्दिरमा दलित पसेको भन्दै कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।
त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कानुनमा उल्लेख भए अनुसार कानुनी कारबाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटनामा संलग्न वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको र फरार रहेका पाध्याय र अयडीको खोजी कार्य जारी रहेको छ ।
वडादसैंको घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडा अध्यक्ष अयडीसहितको समूहले ‘तँ डुमले नवरात्री पूजा गर्न पाइँदैन’लगायतका कानूनले बर्जित गरेका शब्द प्रयोग गरि कुटपिट तथा जातिय रुपमा विभेद गरेका थिए ।
नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न कन्चनपुरबाट बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडा अध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ ।
कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा बाजुराका कुनै पनि ठाउँमा यसको पूर्ण रुपमा कार्यान्वयन नभएको दलित अधिकारकर्मी गोरखबहादुर सार्कीले बताए । जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्ने जिल्लाका दलित अगुवाले माग गरेका छन् । बाजुरामा ४० हजार भन्दा बढी दलित समुदायको जनसंख्या रहेको छ । अझै पनि जिल्लाका ग्रामिण क्षेत्रमा दलितमाथि गैरदलितले विभिन्न समयमा विभेद गर्ने गरेको अधिकारकर्मी सार्कीको भनाई छ । बाजुराका विभिन्न ठाउँमा बसोबास गर्ने दलित समुदायले अहिले पनि स्वतन्त्र रुपमा जिवनयापन गर्न नसकेको उनले बताए । मठमन्दिर पार्टीपौवा र सार्वजनिक धारामा गैरदलितले दलितलाई प्रवेश गर्न रोक लगाउँदै आएका छन् ।