प्रेम गीत तीनले निम्त्याएको विवाद

प्रेम गीत तीनले निम्त्याएको विवाद

काठमाडौं/असोज, ९
नेपालमा प्रदर्शन हुन थालेको नेपाली कथानक चलचित्र ‘प्रेम गीत -३’ लाई लिएर नेपालका चलचित्रकर्मी सङघ-सङ्गठनदेखि सांस्कृतिक सङ्गठनहरू र कलाकारहरू समेत दुई खेमामा बाँडिएका छन् । विशेषतः यो चलचित्र नेपाली कलाकारहरूद्वारा निर्माण, निर्देशन र अभिनय गरिएको तथा नेपाली भूगोलकै परिदृश्यमा छायाङ्कन गरिएको भएता पनि यसलाई हिन्दी भाषामा स्वराङ्कन (डविङ्ग) गरी नेपालमा नेपाली चलचित्र सरहको सहुलियत दिई प्रदर्शन गर्न लागिएको कारण विवादमा आएको हो । यो चलचित्र पूर्ण रुपमा नेपाली भएता पनि यसको स्वामित्व नेपाली निर्माताहरूबाट विक्री भइसकेको र हिन्दी भाषामा रूपान्तरित गरी हिन्दी सिनेमा सरह नेपालमा पदर्शन गर्दा नेपाली सिनेमा सरहको सहुलियत दिनु आपत्तीजनक रहेको विभिन्न सङ्घ-सङ्गठनहरूले जनाएका छन् ।

यस विषयमा आज अखिल नेपाल जनसांस्कृतिक महासङ्द्वारा एक वक्तव्य जारी गर्दै हिन्दी भाषामा रूपान्तरित भई आएको चलचित्रलाई नेपाली फिल्म सरह सहुलियत दिन नहुने जनाएको छ । महाङ्घका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीद्वारा जारी गरिएको वक्तव्यमा आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भनिएको छ ‘अहिले नेपाली फिल्म जगतमा प्रदर्शन भइरहेको ‘प्रेम गीत-३’ शीर्षकको चलचित्रबारे उठेका विषयप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । यसै चलचित्रलाई हिन्दी भाषामा रूपान्तर (डविङ्ग) गरी बेग्लै भारतीय निर्माणकर्ताले खरीद गरी प्रदर्शनमा ल्याएको र उक्त हिन्दी रूपान्तरित चलचित्रलाई विशेष सहुलियत दिई सरकारले विदेशी भाषाका चलचित्रमा लिँदै आएको कर मिनाहा गरी प्रदर्शनको अनुमति दिएको घटनाप्रति हाम्रो सङ्गठनले आपत्ती प्रकट गर्दछ ।’ वक्तव्यको पूर्ण पाठ- ‘अहिले नेपाली फिल्म जगतमा प्रदर्शन भइरहेको ‘प्रेम गीत-३’ शीर्षकको चलचित्रबारे उठेका विषयप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । सो फिल्म नेपाली भाषामा, नेपालका कलाकारहरूद्वारा निर्माण, निर्देशन र अभिनय गरी निर्माण भएको हो । यसै चलचित्रलाई हिन्दी भाषामा रूपान्तर (डविङ्ग) गरी बेग्लै भारतीय निर्माणकर्ताले खरीद गरी प्रदर्शनमा ल्याएको छ । यस सन्दर्भमा उक्त हिन्दी रूपान्तरित चलचित्रलाई विशेष सहुलियत दिई सरकारले विदेशी भाषाका चलचित्रमा लिँदै आएको कर मिनाहा गरी प्रदर्शनको अनुमति दिएको घटनाप्रति हाम्रो सङ्गठनले आपत्ती प्रकट गर्दछ ।

नेपालमा निर्माण भएका आफ्नै मौलिकताका चलचित्रहरूलाई विदेशी जुनसुकै भाषामा रूपान्तरित गरी प्रदर्शन गरिनु राम्रो कुरा भएता पनि स्वयम् नेपालमै नेपाली चलचित्रहरूलाई विदेशी भाषामा रूपान्तरित गरी नेपालमा प्रदर्शन गरिनु भाषिक रूपमा हस्तक्षप भएको हाम्रो सङ्गठनको ठहर छ । नेपालमा प्रदर्शन भइरहेका यो र यस्तै खालका चलचित्रहरूको बजारलाई नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई अन्य हिन्दी भाषाका चलचित्रलाई जस्तै व्यवहार गर्नु उचित हुने मान्यता हाम्रो सङ्गठनले राख्दछ । तसर्थ यो हिन्दी भाषामा रूपान्तरित र नेपाली निर्माताहरूको स्वामित्वबाट अलग भइसकेको चलचित्रलाई विशेष सहुलियत दिनु आवश्यक छैन भन्ने हाम्रो सङ्गठनको धारणा रहेको छ ।’