
रुखमा जब आगो लाग्यो
केही चराहरू उडे
तिनीहरूले जानु नै थियो
तर जाँदा जाँदै
बिचरा रुखले के मान्ला भन्ने सोच्दै
एउटा चरा फेरि फर्केर आयो ।
उसलाई लाग्यो
रुखका त हजार वटा आँखा हुन्छन्
र उसले
सबै चराहरू उड्दै गएको
देखिरहेको हुनु पर्छ ।

नजिकै थियो
एउटा पोखरी
त्यो चरा
आफ्नो चुच्चोमा पानी भरेर
रूखमा लगेर हाल्न थाल्यो
उताबाट एउटा बटुवा आउदै थियो
ऊ यो दृश्य देखेर डरायो
कतै चरा नै डढ्ने त होइन
ऊ यस्तो सोच्न थाल्यो ।
उसले भन्यो-
तिम्रो सानो चुच्चाले पानी बोकेर
जलिरहेको रुखको आगो कसरी निभ्छ हँ ?
चराले भन्यो
मलाई थाहा छ बटुवा !
मेरो सानो चुच्चाको पानीले
निभ्दैन रुखमा सल्केको आगो
तर
जुन समय जङ्गलको इतिहास लेखिएला
त्यो समय मेरो नाम
आगो निभाउनेमा आउने छ
र यो रुखका साँक्षीहरूले भन्ने छन्
जब जङ्गलमा आगो लाग्दछ
सारा चराहरू डराएर उड्ने छन्
तर कोही फर्केर पनि आउने छ ।
सुनेपछि चराको कुरा
रुखमा पानी हाल्न
बटुवा पनि लाग्यो चरासँगै
त्यसपछि एक पछि अर्को बटुवा थपिदै गए
अनि हजारौं चराहरू पनि फर्केर आए
चुच्चामा बोकेर पानी
थाले सबैले खन्याउन ।
भनिन्छ –
त्यस रुखमा लागेको आगो निभ्यो
त्यसपछिको आउदो बसन्तमा
रुखका पिल्सिएका हाँगाहरूबाट
जसरी का….ला अक्षरहरू
देखिन्छन
सेता पानाहरूमा
त्यसै गरी
पलाए नव पालुवाहरू ।
रुखका आशा , उद्देश्य
कोसिस तथा विश्वास
एउटा सुन्दर कविता जस्तै बन्यो ।
मेरी आमाले
जब सुनाइन यो कथा
र भनिन-
तिमीले पनि कहिलै नसोच्नु
तिमी कमजोर छौ
कहिलै नसोच्नु
तिमी एक्लै छौ
रुखमा जब आगो लाग्ने छ
त्यस चरालाई सम्झदै
आफ्नो चुच्चोमा पानी भरेर
तिमी फर्केर आउनू
***** अनु: बलराम तिमल्सिना