०५१ साल भाद्र २ गते तत्कालीन राज्यद्वारा पालितपोषित लठैतहरुले क्रूर र विभत्स तरिकाले रामवृक्ष यादवको हत्या गरे । उनी मधेसी किसानहरुका बीचमा असाध्यै लोकप्रिय थिए । उनी मालेमावादी विचार दर्शनलाई जीवनव्यवहारमा उतार्ने सच्चा कम्युनिष्ट थिए । आफ्नो जीवनकालमा उनले आफ्नो बारेमा कहिल्यै सोचेनन्, केवल जनता, पार्टी र क्रान्तिको लागि अहोरात्र खटे । सिंगो परिवारलाई पार्र्टीकरण गरे । र, आफ्नो निजी सम्पत्तिलाई पनि पार्टी र क्रान्तिमा लगाए । नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा नै रामवृक्ष यादव जत्तिको कम्युनिष्ट जीवनपद्धति अँगाल्ने व्यक्ति, व्यक्तित्व पाउन सकिन्न । नेपालको कम्युनिष्ट तथा माओवादी आन्दोलनमा रामवृक्ष यादव उदाहारणीय र अनुकरणीय व्यक्ति थिए, र, रहिरहनेछन् ।

मधेसमा चरम वर्गविभेद र उत्पीडन छ । जमिन हुने र नहुने, जमिन्दार र गरिब किसान अर्थात् धनी र गरिबबीचको खाडल निकै गहिरो र फराकिलो छ । हरवा, चरवा, कमैया अर्थात् कृषि मजदुर यही वर्ग अन्तरविरोधका उपज हुन् । सामन्त र जमिन्दारहरुले मधेसका भूमिहीनमाथि गरेको ज्यादतीकै कारण मधेसमा रामवृक्ष यादवहरु जन्मिएका हुन् । र, अझै जन्मिरहने छन् । किनकि, त्यो अन्तरविरोध कम भएको छैन, बरु अझ चरम रुपमा बढ्दो छ ।

रामवृक्ष यादवको बलिदानले माओवादी जनयुद्धका लागि हरेक हिसाबले ‘क्याटलिष्ट’को भूमिका खेल्यो । हजारौं मधेसी श्रमजीवि, शोषित–उत्पीडितहरुले रामवृक्ष यादवकै मार्ग रोजे । मधेसमा वर्गसंघर्ष चर्कियो । सामन्त, जमिन्दारहरुका जग्गा कब्जा भए । सामन्त जमिन्दारहरु ज्यान जोगाउन सहर र सदरमुकामतिर भागे । लाखौं मधेसी जनता माओवादी जनयुद्धमा विभिन्न रुपले सहभागी भए । जनयुद्धकालभरि मधेसका किसान र कृषि मजदुरहरुले बडो चैनको श्वास फेरे । र, उनीहरुलाई लाग्यो अब गरिबका सुदिन(राज) आयो र सामन्त जमिन्दारहरुबाट अब सँदाका निम्ति छुटकारा पाइयो । तर, मधेसी जनताको त्यो खुशी धेरै दिन टिक्न सकेन । तत्कालीन माओवादी नेतृत्वले दिल्ली दरबारसँग गरेको १२ बुँदे समझदारीसँगै सहर र सदरमुकामतिर माओवादीहरु पसे । गाउँतिर हिजो विस्ताथित भएका तिनै सामन्त जमिन्दारहरु पुनः स्थापित भए । र, अझ चरम रुपमा ती गरिब किसान र कृषि मजदुरमाथि शोषण, दमन लाद्न पुगे ।

तिनै सामन्त जमिन्दारहरुले आफ्नो शोषणको राजलाई बरकरार राख्न वर्गसंघर्षको मुद्दालाई ओझेलमा पार्दै ‘संघीयता’को नाममा मधेस आन्दोलनको थालनी गरे । हिजो विस्थापित सबै सामन्त जमिन्दारहरु यो आन्दोलनका नेता बन्न पुगे । उनीहरुले मधेसको अलग राज्य वा प्रदेश बनेपछि मधेसी जनता मुक्त हुने, अधिकार सम्पन्न हुने तर्क अगाडि सार्दै ‘आन्तरिक औपनिवेशीकरण’का विरुद्ध भन्दै पटक–पटक आन्दोलन गरे । तर उनीहरु सरकारको भागबण्डासँग आन्दोलनलाई सौदाबाजी गर्दै आन्दोलनलाई केवल सत्ताको कुर्सीमा पुग्ने सिंढी मात्र बनाउन पुगे । पहाडे शासक वर्ग र मधेसका यी सामन्त जमिन्दारहरुको एउटै वर्ग र वर्गस्वार्थ मिल्यो । यिनीहरुको माग यतिमात्र रह्यो कि मधेसी जनतामाथि मधेसी अनुहारले नै शोषण गर्न पाउनु पर्छ, पहाडे अनुहारले होइन । शोषक पहाडे होस् कि मधेसी आखिर मधेसी जनताका दुःखका कारण यिनै बुर्जुवाहरु हुन् । तसर्थ, मधेसी जनताको वास्तविक मुक्तिका निम्ति फेरि पनि आवश्यक छ, वर्गसंघर्ष । वर्गसंघर्षसँग मधेस आन्दोलन(मधेस राष्ट्रियता)लाई नजोडेसम्म मधेसका वास्तविक जनताको आन्दोलन बन्न सक्दैन मधेस आन्दोलन । यो सत्य पटक–पटक स्थापित भइसकेको छ । त्यसका निम्ति मधेसमा जन्मिन आवश्यक छ हजारौं रामवृक्षहरु ।

अब मधेसका युवाहरुले उपेन्द्र, महन्थ, राजेन्द्र र सिकेहरुलाई होइन, रामवृक्षहरुलाई पढ्नु पर्छ । रामवृक्ष यादवले सुझाएका सपनाहरुलाई पढ्नु र पछ्याउनु पर्छ । अनि मात्र मधेसी श्रमजीवि जनता, किसान र कृषि मजदुरहरुको सुदिन ल्याउन सकिन्छ र वास्तविक अर्थमा उनीहरु अधिकारसम्पन्न बन्न सक्छन् । सत्ता र निहीत तुच्छ स्वार्थका पछाडि नाङ्गै दौडिने र दौडाउने लिचड प्रवृत्तिका तथाकथित नेता कार्यकर्ताहरुबाट मधेस र मधेसी जनता सचेत र सकर्त रहनै पर्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर