देशव्यापी राष्ट्रघाती नागरिकता विधेयक खारेजी गर्न माग

देशव्यापी राष्ट्रघाती नागरिकता विधेयक खारेजी गर्न माग

काठमाडौं । राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग राखेर देशव्यापी रुपमा आन्दोलन भइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच वाम घटकले संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक खारेजीको माग राखेर देशव्यापी रुपमा आन्दोलन उठान गरेका छन् ।


नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) समन्वय समिति, नेकपा, संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको संयुक्त आयोजनामा पछिल्ला केही दिनयता निरन्तर रुपमा देशका विभिन्न भागमा आन्दोलन भइरहेका छन् । पाँच वाम घटकको आयोजनामा २६ साउनमा मात्रै प्रदेश १ को इटहरी, वागमती प्रदेशको काठमाडौं, हेटौंडा, गण्डकी प्रदेशको कास्की पोखरा, लुम्बिनी प्रदेशको बुटवल, दाङ, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको धनगढीमा विरोधसभाहरु सम्पन्न भएका छन् ।


नागरिकता विधेयक खारेजीकै निम्ति पाँच वाम घटकले केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै नागरिकता विधेयक प्रमाणीकरण नगर्न र संसदलाई नै फिर्ता पठाउन आग्रह गरेको थियो । त्यस लगत्तै काठमाडौंमा गरिएको विज्ञहरुसँगको अन्तक्र्रियामा विज्ञहरुले नागरिकता विधेयक हरेक दृष्टिले राष्ट्रघाती रहेको भन्दै राष्ट्रपतिलाई प्रमाणीकरण नगर्न आग्रह गरेका थिए । उनीहरुले त्यो विधेयक संसदलाई नै फिर्ता पठाउन पनि उनीहरुले आग्रह गरेका थिए ।


पाँच वाम घटकहरुको आन्दोलन, विज्ञहरुको सुझाव र देशभक्त सांसदहरुको आवाजलाई ध्यान दिंदै राष्ट्रपतिले संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा र्न फर्काउने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
नागरिकता विधेयक संसदका दुवै सदनबाट पारित गराउन आफूले मुख्य भूमिका खेलेको भन्दै दिल्लीको कानसम्म पुग्ने गरी मधेस प्रदेशका जिल्लाहरुमा गएर होहल्ला गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमण गरेर स्वदेश फर्के लगत्तै एयरपोर्टबाटै नागरिकता विधेयक संसदमा नफर्काउन राष्ट्रपतिलाई धम्क्याएका थिए । तर अन्ततः नागरिकता विधेयक संसदमा नै फर्कने भएको छ ।


कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने अन्यथा संसदमा फिर्ता गरिने कानुनी आधारमा टेकेर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक आइतबार वा सोमबारसम्ममा दस्तखत नगरी फर्काउने वातावरण बन्दै गएको स्रोतको दावी छ ।


त्यसपछि संसदले पुनः छलफल गरेर सँधैको लागि फिर्ता गर्ने,संशोधन गर्ने वा शीतल निवासमा पुनः पठाउने निर्णय गर्नुपर्ने हुन्छ । तर, संसदमा सामान्य छलफलपछि उक्त विधेयकलाई जस्ताको त्यस्तै प्रमाणिकरणको निम्ति राष्ट्रपतिसमक्ष पठाउने तयारी सरकारले गरेको पनि स्रोतको दावी छ ।


राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने सम्भावना बढेको अनुमान गर्दै संसद अधिवेशन जारी राखिएको छ । अर्कोतर्फ सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक पनि पारित गर्नैपर्ने अवस्था छ । अरु विधेयक पनि संसदमा पेश गर्नुपर्ने भएकाले संसद बैठक सुचारु गरिएको एक जना मन्त्रीले बताए ।


शनिबारै राष्ट्रपतिले प्रधानमन्त्री,कानुनमन्त्री र महान्यायाधिवक्तासँग यिनै बिषयमा भेटवार्ता गरेकी थिइन् । उनले दिउँसो पौने ४ बजेदेखि झण्डै ४५ मीनेटसम्म शीतल निवासमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग छलफल गरेकी थिइन् ।


त्यसपछि साँझ ५ बजेदेखि आधा घण्टासम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिन् । दुवै भेटमा राष्ट्रपतिले शुक्रबार दिउँसो शीतल निवास बाहिर आत्मदाहको प्रयास गरेकी कुमारी आमा निहारिका राजपुतको आन्दोलन र विषयबारे जानकारी लिएकी थिइन् । तर,अन्तर्यमा उनले नागरिकता विधेयक प्राप्त भएको १४ औं दिनमा शनिबार गरेको भेटलाई अर्थपूर्ण रुपमा लिँदै आइतबार या सोमबार बिहानसम्म संसदमा फिर्ता गर्ने वातावरणको लागि प्रधानमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्तासँग कुराकानी गरेको उच्च स्रोतको दाबी छ ।