काठमाडौं । 
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी र अखिल नेपाल ट्रेड युनियन महासंघले श्रावण १८ गतेदेखि माइतीघर मण्डलामा जारी नवलपरासीका किसान-मजदुरहरुको संघर्षमा संयुक्त प्रेस विज्ञप्ति तथा भौतिक उपस्थिति मार्फत ऐक्यबद्धता जनाएका छन । किसान महासंघका अध्यक्ष सिताराम तामाङ, ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, अखिल नेपाल जनस्वास्थ्य कर्मी संगठनका संयोजक इन्दिरा अधिकारी, बालकृष्ण सिटौला, युवराज थापा सहितका नेताहरू किसान-मजदुरको संघर्षमा ऐक्यबद्धताका निम्ति धर्ना स्थल पुगेका थिए ।

कार्यक्रममा ऐक्यबद्धता मन्तव्य राख्ने प्रक्रियामा किसान महासंघका अध्यक्ष सिताराम तामाङले किसानहरुका समस्यालाई सम्बोधन गर्न सरकार तयार छैन, यो सरकार स्वयं मिटरब्याजी सुदखोरहरुको सरकार भएको स्पष्ट गर्नुभयो । “यो किसान मजदुरको होइन, मिटरब्याजी सुदखोरहरुको सरकार हो । त्यसैले यो सरकारले किसान-मजदुरको आवाज सुन्दैन । संघर्षबाट मात्रै यसलाई ठेगान लगाउन सकिन्छ । मिटरब्याजीलाई धुलोमा पछार्न सकिन्छ ।” उहाँको टिप्पणी थियो ।
चर्को मिटरब्याजले घरबार गुमाउनु परेपछि पछिल्लोपटक नवलपरासी एवं देशभरका किसान-मजदुरहरु आन्दोलित छन । नवलपरासीका किसान-मजदुरहरु न्यायको माग गर्दै दोस्रो चरणको संघर्षका कार्यक्रम लिएर काठमाडौ आएका छन । यस अघि २-१४ असार २०७९ को आन्दोलन सरकारको माग पूरा गर्ने आश्वासन पछि स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर