काठमाडौं । २८ औं आदिवासी दिवसको अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्नै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले आदिवासी जनजाति लगायत सबै शोषित तथा उत्पीडित वर्ग र समुदायका समस्याहरुको वास्तविक समाधान सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले मात्र गर्न सक्ने बताउनु भएको छ । जातीय समस्या वर्गीय समस्याकै विस्तारित रुप भएको भन्दै कार्लमाक्र्स–एङ्गेल्स, लेनिन–स्टालिनदेखि माओसम्मले जातीय समस्यालाई कम्युनिस्ट आन्दोलनकै समस्याहरुको रुपमा अगाडि सारेको विषयमा चर्चा गर्नुभयो । उहाँले जातीय समस्या समाधान गर्न रुसमा लेनिन र स्टालिनले आत्मनिर्णयको अधिकारसहितको जातीय स्वायत्त शासनको अभ्यास गरिएको र यो नै जातीय अन्तरविरोध तथा जातीय समस्या समाधानका लागि सही मार्गनिर्देशक सैद्धान्तिक अवधारणा रहेकोमा पनि जोड दिनुभयो ।
नेपालमा दशवर्षे जनयुद्धको जगमा भएको १९ दिने आन्दोलन तथा मधेस आन्दोलनसँगै जातीय समस्यालाई संस्थागत रुपमा हल गर्ने प्रयास गरिएको, पहिलो संविधानसभाको निर्वाचन पश्चात पहिचान र सामथ्र्यका आधारमा ११ संघीय प्रदेशको अवधारणालाई संवैधानिक हैसियत दिलाउने प्रयास हुँदै गर्दा देशी विदेशी प्रतिक्रियावादीहरुले षड्यन्त्रपूर्वक संविधानसभा नै विघटन गराएको प्रसंग निकाल्दै उहाँले दोस्रो संविधानसभाको निर्वाचनपश्चात बनाइएको संविधानमा ती कुनै पनि अधिकार सुनिश्चित नगरिएको बरु आदिवासी जनजातिहरुलाई दिग्भ्रमित तुल्याउन रुप मात्रको संघीयताको अभ्यास गरेर व्यापक रुपमा भ्रम सिर्जना गरिएको बताउनु भयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष समेत रहनु भएका नेता गजुरेलले जातीय आत्मनिर्णयको अधिकारसहितको स्वायत्त शासनमा आधारित संघीयता नै वास्तविक संघीयता हुने भन्दै त्यस्तो संघीयताको स्थापनाविना नेपालमा विद्यमान जातीय समस्या समाधान नहुने पनि दाबी गर्नु भयो । त्यसका लागि वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रुपमा शोषित–उत्पीडित वर्ग र समुदाय एकढिक्का भएर एउटा सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टीको नेतृत्वमा संघर्ष अगाडि बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “त्यस्तो सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टी भनेको आजको दिनमा नेकपा (क्रान्तिकारी माओवादी) नै हो । अब नेपालमा आदिवासी जनजातिहरुलगायत यो देशका मजदुर, किसान, दलित, महिला, मधेसी, मुस्लिम, थारु लगायत सबै शोषित उत्पीडित वर्ग र समुदायका समस्याहरुको वास्तविक समाधान क्रान्तिकारी माओवादीले मात्रै दिन सक्नेछ । एकपटक फेरि आन्दोलनको आँधी बेहरीको सिर्जना गर्नुपर्छ । ”
समारोहको अध्यक्षता समेत गर्नुभएका अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले पनि अधिकारका निम्ति वर्ग र जातिका बीचमा सदृढ एकता हुनुपर्ने र संघर्षको प्रक्रियामा आगाडि बढ्ने संकल्पगत उद्घोष गर्नुपर्ने कुरामा जोड दिनुभयो । वर्गीय आन्दोलन र जातीय आन्दोलनलाई जोडेर अगाडि नबढाएसम्म वर्ग र जाति मुक्त नहुने कुरा स्पष्ट पार्नुभयो ।
त्यसैगरी कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा आदिवासी जनजाति विभाग प्रमुख रामसिंह श्रीस, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङ, विगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लाेकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष विष्णु कुमार याक्साे लगायत नेताहरुले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव फुर्नाम्गेल मोक्तानले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिव श्रेष्ठले राख्नु भएकाे थियाे । कार्यक्रको प्रमुख आतिथ्यता नेता सिपी गजुरेल र विशेष आतिथ्यता रामसिंह श्रीसले गर्नु भएकाे थियाे ।
राष्ट्रिय सभागृहमा भएको विशेष समारोह सुरुहुनुपूर्व बसन्तपुर डबलीमा जम्मा भई झाँकीसहितको ¥याली प्रदर्शन गरिएको थियो । बसन्तपुर डबलीबाट सुरुभएको झाँकीसहितको ¥याली भृकुटीमण्डपस्थिति सभागृहमा आएर विशेष समारोहमा परिणत भएको थियो । पानसमा बत्ति बालेर प्रमुख अतिथि गजुरलले विशेष समारोहको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको बीच बीचमा गीत तथा नृत्यहरु, झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।