काठमाडौं । मधेश प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

गृह तथा संचारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीसहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को कम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र छ। प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेता पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको छ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने मागसहित घोषणापत्र समेत जारी गरेको थियो।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषि मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहित सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार