भूराजनीतिक तनावबारे राष्ट्रपतिको चासो, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल

भूराजनीतिक तनावबारे राष्ट्रपतिको चासो, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो विश्व राजनीति र भूराजनीति तथा त्यसले नेपालमा पार्न सक्ने प्रभावका विषयमा चासो राखेकी छन् । यसबारेमा उनले पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रदीप कुमार ज्ञवाली र प्रकाश शरण महत सहभागी थिए ।

राष्ट्रपतिले बदलिँदो भूराजनीतिको विषयमा चासो राखेको छलफलमा सहभागी एक पूर्वपरराष्ट्रमन्त्रीले जानकारी दिए । पछिल्लो समय विकसित विश्व राजनीति र भूराजनीति तथा त्यसले पार्ने प्रभावका सम्बन्धमा राष्ट्रपतिले जिज्ञासा राखेकी थिइन् । त्यसबारेमा पूर्वपरराष्ट्रमन्त्रीहरूले आफ्ना धारणा राखेका थिए ।

छलफलमा राष्ट्रपतिले नेपालको परराष्ट्र नीति कसरी सञ्चालन भइरहेको छ भनेर जिज्ञासा पनि राखेकी थिइन् । नेपालले लिएको परराष्ट्र नीति कति प्रभावकारी छ ?, नेपालले कस्तो नीति लिएको छ ? जस्ता जिज्ञासा राखेको भेटमा सहभागीले बताएका छन् । सहभागीहरुले दोस्रो शितयुद्ध सुरु भइसकेको र नेपालले असंलग्नता र शान्तिक्षेत्र नीतिमा अडिग रहनुपर्ने धारणा राखेका थिए ।

एक स्रोतका अनुसार पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुपूर्व प्रधानसेनापति प्रभुराम शर्मासँग राष्ट्रपति भण्डारीले शित्तल निवासमा बोलाएर भेटवार्ता गरेकी थिइन् । अमेरिका र चीनका बीच ताइवानको विषयलाई लिएर तनाब बढ्दै गर्दा त्यसको प्रभाव नेपालसम्म देखिएको छ । नेपालको सरकार, राजनीतिक पार्टीहरुले समेत वक्तव्य जारी गरेर ताइवान मामिलामा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

आइतबार साँझ ७ बजेको समयमा पाँच जना पूर्वमन्त्रीहरु राष्ट्रपति निवास पुगेका थिए । साँझ सवा ७ बजेदेखि झण्डै ९ बजेसम्म राष्ट्रपतिले छलफल गरेकी थिइन् । स्रोतका राष्ट्रपतिले पूर्वमन्त्री रमेशनाथ पाण्डेसँग भने छुट्टै करिब १ घण्टा वार्ता गरकी थिइन् ।

चीन र अमेरिकाबीच तनाव बढीरहेको बेला पूर्वपरराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपतिले गरेको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।