राजनीतिक रणनीति र कार्यनीति बारे

राजनीतिक रणनीति र कार्यनीति बारे

 

नेपाली कम्युनिस्ट आन्दोलन आजका दिन सम्म ७३ वर्षको प्रौढ भईसकेको छ । नेपाल जस्तो अर्ध सामन्ति तथा अर्ध औपनिवेशिक/वर्तमानमा नव: औपनिवेशिक अवस्थामा गुजे्रका हर कोहि राष्ट्रहरुमा देशी, विदेशी, प्रतिक्रियावादी अर्थात देशीय सामन्त नोकरशाहावर्ग र विदेशी दलाल नोकरशाह वर्गका विरुद्ध गरिब किसान, मजदुर, सुकुम्बासी सर्वहारावर्ग र राष्ट्रिय स्वाधिनताका पक्षपाती देशभक्त स्वाभिमानी राष्ट्रिय पुँजीपति वर्ग सहित सम्पूर्ण शक्ति एक भएर राष्ट्रिय स्वाधिनता, सम्मान, स्वतन्त्रता सहित अधिकार सम्पन्न बन्नका निमित्त पुँजीवादी, जनवादी क्रान्ति/वर्ग संघर्ष अर्थात मालेमावादी मार्ग निर्देशक सिद्धान्तमा आधारित कम्युनिष्ट आन्दोलन सफल पारेर राष्ट्रियता जनतन्त्र तथा जनजिविकाको सुनिश्चितता कायम गर्नुपर्दछ ।
यहि उद्देश्य प्राप्त गर्न नेपालमा वि.सं. २००६ साल वैशाख १० गते –२२ अप्रिल १९४९) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको कुरा स्पष्ट नै छ । त्यो महान उद्देश्य पुरा गर्न लम्केको नेपाली कम्युनिष्ट आन्दोलन अहिले चिरै चिरामा विभक्त भएको छ । यो कुरा भन्नु पर्दा दु:ख पनि लाग्छ । हुनत एकता पनि भएका छन, प्रयास जारी पनि होलान एकता, क्रान्तिकारी ध्रुवीकरणका निमित्त तर प्रधान पक्ष फुट नै बन्न पुगेको छ । यो कारण गहिरै गरी बुझ्न मालेमावाद भित्रै गहिरिएर पत्ता लगाउन जरुरी भईसकेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा राजनीतिक, रणनीति र कार्यनिति सम्बन्धी महत्वपुणर् सैद्धान्तिक राजनीतिक सवालमा वैचारिक अस्पष्टता कै कारणले र दक्षिणपन्थी संशोधनबादी, अवसरवादी, अहिले त संसदवादी सोच र चिन्तनले नेपाली कम्युष्टि आन्दोलन छिया–छिया बनेका,े बनाईएको छ । यहाँ विचारणीय कुरा के छ भने राजनीतिक रणनीति र कार्यनीति, मजदुर किसान आन्दोलनसित सम्बन्धित हुनुपर्दछ । जुन आन्दोलन वर्गहरु बिचको संघर्ष अर्थात वर्ग संघर्ष कै स्तरमा विकसित हुनुपर्दछ र सबै सबैका मुक्ति आन्दोलन वर्गिय मुक्त आन्दोलन अर्थात वर्ग–संघर्षसँग जोडिएर गयो भने मात्र कुनैपनि मुक्त आन्दोलनले सफलता प्राप्त गर्न सक्दछ । यसको निमित्त वस्तुगत अवस्था अनुसार आत्मगत स्थिति सँगै सचेत प्रयत्न जरुरी हुन्छ ।

वस्तुगत अवस्था, सचेतन पक्ष भनेको आत्मगत अवस्था तयार हुन त पर्र्यो तर त्यसमा निर्धारित लक्ष्य प्राप्तिका निमित्त सर्वहारा वर्ग कै मुख्य भुमिकामा सुव्यवस्थित आन्दोलन अर्थात वर्ग संघर्ष कै उचाई बाट अगाडी बढ्नु पर्दछ । आन्दोलन सफल तुल्याउन वस्तुगत पक्ष र आत्मगत स्थिति नै प्रबल त हुन्छ नै तर मुख्यत रणनीति र कार्यनीतिले प्रत्यक्ष प्रभाव पार्दछ । रणनीतिले संघर्षलाई सही बाटोमा हिँडाउन बल प्रदान गर्दछ र कार्यनीतिले विविध पक्षलाई आन्दोलनमा डोर्याउँछ । यसरी हेर्दा कार्यनीतिक प्रश्नमा बाटा पनि फरक फरक हुन सक्दछन । यहाँ ध्यान दिनै पर्ने कुरा कार्यनीतिले रणनीतिलाई सेवा पुर्याउन सहयोग गर्नुपर्दछ ।
पुँजीवादको विकास, यो उदारवादी अर्थनीतिले विश्वको अर्थ व्यवस्था संकटग्रस्त छ, भनेको पुँजीवाद अहिले पतनको दिशातिर लम्की सकेको छ । यसले के संकेत गर्छ भने बुर्जुवा वर्गको पतन र सर्वहारा वर्गको हातमा राज्यसत्ता प्राप्त हुने कुरा सनिश्चित गर्दछ । अन्तत पुँजीवादको स्थान समाजवादले लिनेछ । तबमात्र सर्वहारा रणनीति सच्चा मालेमावादी प्रमाणित हुन्छ । मालेमावादी सिद्धान्तमा आधारित कार्यक्रमले सर्वहारा आन्दोलन/वर्गसंघर्षका उद्देश्य प्राप्त गर्न सकिन्छ । कार्यक्रमको कुरा गर्दा अधिकतम र न्युनतम २ प्रकारका कार्यक्रम हुन्छन । यी दुवै कार्यक्रम मालेमाववादी मार्गनिर्देशक सिद्धान्त द्धारा निर्देशित हुनुपर्दछ । राजनीतिक, रणनीति र कार्यनिति सोहि शिद्धान्तमा आधारित हुनु पर्दछ । रणनीति त त्यति फरक नहुन सक्छ बिग्रन्न, बिर्गादैन पनि तर कार्यनीति फुत्किन, एकातिर चिप्लिन सक्दछ, जसले सुधारवादतिर लतारिहाल्छ, होस यसैमा पुर्याउन नसकेर धेरै आन्दोलन तुहिएका उदाहरणहरु छन ।
राजनीतिक रणनीति मुख्यत: सैन्य रणनीतिसँग गाँसिएको हुन्छ । रणनीतिक योजनामा सर्वहारा वर्गले आफ्नो वर्ग दुश्मनप्रति प्रहार केन्द्रित गर्नु पर्दछ । प्रहारको मुख्य निशानी निर्धारित गरेर कार्वाहीको प्रकृति समेत निश्चिित गर्नु रणनीतिको मुख्य काम हो । यो कार्य फत्ते गर्न क्रान्तिकारी आन्दोलनको नेतृत्व सर्वहारा वर्गको काँधमा सुम्पिनु पर्दछ । जसमा मजुदर र किसानको बाहुल्यता रहनु पर्ने हुन्छ । यहाँ नेर ध्यान पुर्र्याउनै पर्ने कुरा बुर्जूवावर्गको त्यसभित्रको उदारवादी कित्ता/तप्कालाई तटस्थ राखेर क्रान्ति अगाडी बढाउनु पर्दछ ।
कार्यनिति भनेको रणनीतिको एक अंश मात्रै हो । र कार्यनिति रणनीतिकिो मातहतमा हुन्छ । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्दछ । कार्यनितिको सम्बन्ध समग्र क्रान्ति वर्ग संघर्षसँग हुँदैन । र पनि कुनै खास समयको जनआन्दोलन, संघर्षसँग मिल्दो जुल्दो हुन्छ । अर्थात संघर्षको बाटो उपायहरु, रुप र तरिकारहरु निर्धारण गर्नु कार्यनीतिको प्रमुख काम हुनेछ । कार्यनीतिको काम र परिणामलाई रणनीतिक उद्देश्य र सम्भावनाहरुको दृष्टिकोणबाट हेरिनु र बुझ्नु पर्दछ । यसै सन्दर्भमा क. स्टालिन भन्नुहुन्छ,“ कार्यनीतिक सफलताले रणनीतिक लक्ष्य प्राप्त गर्न सजिलो र सरल बनाएको हन्छ । यसै सन्दर्भमा क. स्टालिन अगाडी भन्नु हुन्छ “कनै पनि बेला रणनीतिक सफलताको सम्भावना रहँदारहँदै तात्कालिन प्रभावको दृष्टिकोणबाट प्राप्त ठुलै कार्यनीतिक सफलता पनि रणनीतिक उद्देश्य प्राप्तिको निमित्त घातक सिद्ध हुन पनि सक्दछ ।” यो कुरा अन्यत्र खोज्न जानै परेन “संविधानसभाको निर्वाचन र जनसंविधान निर्माण”
यो कार्यनीतिले नोपालमा अर्को प्रतिक्रियावादी संविधानको निर्माण गरेर प्रतिक्रियावादी राज्यव्यवस्था नै स्थापना भयो । कार्यनीतिलाई रणनीतिक बुझ्ने र रणनीतिक उद्देश्यलाई बिर्सिने स्थिति बनेर गयो । यो राज्यव्यवस्था यस अन्तर्गतको राज्यसत्ता विदेशी साम्राज्यवादी–विस्तारवादीको चंगुलमा फसेर राष्ट्रघात–जनघातका श्रृंखला बढ्दै गएर सिंगो राष्ट्र संकटग्रस्त बनिरहेको छ ।
यो स्थितिलाई नियाल्दा कार्यनीतिक सफलतालाई पनि उपेक्षा गर्दै रणनीतिक लक्ष्य प्राप्त गर्न अर्को सही कार्यनीति तर्जुमा गरेर जानुपर्ने नै हुन्छ । रणनीतिक सफलता सुनिश्चित गर्नका निमित्त भनेर कार्यनितिक प्रतिकूलता व्यहोर्नुपर्ने पनि हुन्छ । यस्तो स्थिति प्राय: युद्धको बेला हुने कुरा पनि नेपालमै अनुभवबाट सिद्ध भयो । यस्तै अवस्थामा लडाईको भिषणतालाई क्षण भरका निमित्त रोकेर पनि आफ्नो सैन्य शक्तिलाई युद्धको घनिभुत तयारी गर्नुपर्ने हुन्छ । सो नगरी जानाजान गलत कार्यनीति अघि सारेर सिद्धिने, प्राप्त सिमित उपलब्धीहरु समेत गुमाउदै गएर गलत दिशा पकडने र उद्देश्यबाट टाढा पुग्ने हुँदो रहेछ । यसबाट के शिक्षा लिनु पर्ने हुन्छ भने कार्यनीतिलाई अल्पकालिन हितको अधिनमा कैद गर्नु हँुदैन । कार्यनीति सदैव रणनितक उद्देश्य र सम्भावनाहरुको आधारमा तयार गरिनु पर्दछ ।
कार्यनितिको प्रधान काम रणनीतिक उद्देश्य प्राप्तिको निमित्त आवश्यकता बमोजिम सम्पुणर् किसान र मजदुरहरुका क्रान्तिकारी आन्दोलन/संघर्षका अनुभवहरुलाई ध्यानमा राखेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै विविध प्रकारका जनआन्दोलन, संघर्षका रुप र तरिकाहरु निर्धारण गर्नु हो । एउटा अवस्था र स्थितिमा तय गरिएको कार्यनीति सदा सर्वदा स्थिर रहन सक्दैन् । स्थितिको बदलाव अनसार तत्काल तत्काल परिवर्तन गर्नुपर्दछ ।
यहिनेर कार्यनीतिको कुरा मात्र होईन इतिहासको सरिवर्तनका मोडहरुसगै राजनीतिक रणनीति पनि बदलिन सक्दछ । र भिन्न रणनीतिक योजनाको रुपमा अभिव्यक्त हुन्छ । रणनीतिक योजनाले क्रान्तिकारी शक्तिहरुको प्रहारको मुख्य निशानी होस गर्दछ । सोही अनुसार सामाजिक मोर्चाहरुमा जनसमुदायको व्यापक विनाशलाई स्पष्ट पार्दछ । क्रान्ति (युद्ध) सञ्चालनको अवस्थामा पनि यही नीति लागु गर्नु पर्दछ ।
नेपालको सन्दर्भमा मुलुक अहिले पनि बहुदल, लोकतन्त्र, गणतन्त्र जे जे नाम गरेका व्यवस्था आए पनि सामन्ती अवशेष जबर्जस्त छ र मुलुक अहिले पनि अर्धसामन्ती अवस्थामा गुज्रिरहेको छ । अर्कोतर्फ यहाँका पँुजीपति, केही सामन्तहरु पनि विदेशी दलाल, नोकरशाही पुँजीपति (चाहे कसैले प्रजातन्त्रवादी भनोस, चाहे कसैले बामपन्थी प्रगतिशिल भनोस, कसैले आफुलाई कम्युनिष्ट नै किन नभनोस) अर्थात साम्राज्यवाद तथा विस्तारवादका बफादार नोकर कै रुपमा फडको मार्न पुगेका छन । यस कारणले हाम्रो मुलुक अर्ध–औपनिवेशिक अवस्थाबाट नव–औपनिवेशिक अवस्थामा गुज्रन पुगको छ । यी सबै तथ्यले नेपालमा क्रान्ति सम्पन्न गरेर संघीय जनगणतन्त्र स्थापना गर्न ठुलो रणनीतिक परिवर्तन गर्नुपर्छ भन्ने लाग्दैन । तात्कालिक कार्यनीतिको सवालमा भने चारैतिर नापतौल गरेर किसान, मजदुरलाई समेट्न नयाँ नयाँ कार्यनीति तय गर्नुपर्दछ ।
गरिब, किसान, मजदुर, सुकुम्बासी, सर्वहारावगर्त, जाति, जनजाति, उत्पिडित, दलित , मधेशी, मुस्लिम सबै सबै र राष्ट्रिय स्वाधीनताका पक्षपाती, स्वाभिमानी राष्ट्रिय पुँजीपति वर्ग, विभिन्न तह र तप्काका, पेशा व्यवसायीहरु सबै सबै एक भएर जनआन्दोलनको उत्कर्षसँगै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर सामन्त दलाल पुँजीपति र साम्राज्यवाद–विस्तारवादका हिमायति–पक्ष पोषकहरुको हातमा रहेको यो प्रतिक्रियावादी राज्यसत्तालाई छिनेर जनसत्ताको रुपमा स्थापित गरी नेपाली जनताको हातमा सुम्पेर संघिय जनगणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गरेर आम नेपाली जनसमुदायलाई अधिकार सम्पन्न बनाउनु हाम्रो रणनीतिक उद्देश्य हो ।
यो शुद्ध किसिमको पुँजीवादी सत्ता हो । यो सत्तामा जनताको जनवादी अधिनायकत्व कायम रहन्छ । यो सत्ता पहिला त स्वाभिमानी राष्ट्रिय पुँजीपति वर्ग जो अहिले दलाल नोकरशाही विदेशी पुँजीपति वर्गबाट दबिएका थिचिएका मिचिएका छन उनलाई चाहिएको छ । राष्ट्रिय पँुजीपति वर्ग र सर्वहारा वर्ग मिलेर गर्ने क्रान्ति नै पुँजीवादी जनवादी क्रान्ति हो । त्यस्तै राष्ट्रिय पुँजीपति वर्ग र किसान, मजदुर, सर्वहारा वर्ग मिलेर सञ्चालन गर्ने राज्य व्यवस्था राज्य सत्ता नै पँुजीवादी जनवादी राज्यसत्ता हो ।
सामन्तवादी सोच र चिन्तनमा रुमलिएका बचेखुचेका देशीय सामन्त, हुन त यिनीहरु प्नि विदेशी दलालकै रुपमा परिचित हुँदै गईसकेका छन् र यो प्रतिक्रियावादी संसदीय सत्तामा रुमलिएका, सत्ता जोगाउन जस्तो सकै अपराध, राष्ट्रघात, जनघात गर्न पनि तत्पर विदेशी दलाल, नोकरशाही दलाल पुँजीपति वर्गबाट नेपाल र नेपाली क्षत–विक्षत भईसकेका छन् , सबै युवा क्षमता प्रतिभा विदेश पलायन भईसकेका छन । यी सत्तासिन विदेशी दलाल, राष्ट्रिय आत्मसमर्पणवादीका विरुद्धमा राष्ट्रिय स्वाधीनताका पक्षपाती सबै स्वाभिमानी नेपाली एकजुट भएर कमसेकम राष्ट्रिय स्वाभिमान कायम गर्न सम्म भनेपनि यो प्रतिक्रियावादी संसदीय राज्य व्यवस्थाको विकल्पमा देशभक्त, राष्ट्रिय स्वाभिमानी, किसान, मजदुर वर्गको संयुक्त सरकार निर्माण गर्न ढिलो भईसकेको छ ।
राष्ट्रघाती सन्धि सम्झौताबाट धेरै गुमिसकेको छ । राष्ट्रिय संयुक्त सरकार निर्माण गर्न एउटा तात्कालिक कार्यनीति तर्जुमा गरेर कार्यक्रमिक हिसाबले नै अघि बढ्नु पर्दछ । जसले रणनीतिक उद्देश्य प्राप्त गर्न सहयोग गर्नेछ । तात्कालिक कार्यनीति तर्जुमा गर्दा सचेत हुनैपर्छ , यसको चर्चा माथि नै गरिसकिएको छ । गलत कार्यनीतिका कारण राजनीतिक पार्टीहरु संशोधनवाद , दक्षिणपन्थ अवसरवादमा फस्न पुगेका, सिद्धिएका छन । जसको कारणले क्रान्तिलाई ठुलो क्षति हुन पुगेको छ, पुग्दछ र रणनीतिक उद्देश्य प्राप्त गर्ने दिशमा तगारो बन्न जान्छ । त्यसकारण तात्कालिक कार्यनीति तर्जुमा गर्दा चौतर्फी नापेर तौलेर गर्नुपर्दछ । अर्थात धेरै सोचविचार गरेर मात्र कार्यनीति तर्जूमा गर्नुपर्दछ । नत्र सुधारवाद, सशोधनवाद, दक्षिणपन्थि अवसरवाद ले मौका छोपिहाल्छ र रणनीति नै ओझेलमा पर्न पुग्दछ ।
हाम्रो राष्ट्र नेपालमा राष्ट्रिय आत्मसमर्पणवाद विरोधी राष्ट्रिय स्वाधिनताका पक्षपातीहरुको राष्ट्रिय संयुक्त सरकार, –यसको निमित्त सबैले राम्रो सल्लाह गरौं ) त्यसपछि संघीय जनगणतन्त्रको स्थापना गरेर जनवाद समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने मालेमावादी क्रान्तिकारीहरुको दीर्घकालिन अधिकतम कार्यक्रम राजनीतिक रणनीति हो । राष्ट्र र जनताका जल्दा बल्दा तात्कालिन समस्या हल गर्न, राष्ट्रिय स्वाधीनता सहति जनजिविकाको सुनिश्चितता कार्य गर्न यिनै कार्यनीति र रणनीति त्यसअनुसारको कार्यक्रम जो मालेमावादी मार्ग निर्देशक सिद्धान्तमा आधारित हुन्छ, कार्यक्रम सहित अगाडी बढ्नु आवश्यकत छ, अनिवार्य भईसकेको छ । राष्ट्र, राष्ट्रियता र स्वाभिमान गुम्ने तरखरमा छ, सबैले हेक्का राखौं ।