
काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

मन्त्रिपरिषद्ले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे । सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आसन गर्न आग्रह गरे पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाई सदनलाई जानकारी गराउनुपर्ने माग रोस्टममै उभिएर जारी राखे ।
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए । सो प्रस्तावमा धारणा राख्न रोस्टममा पुगेका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताए । रासस