मुलुक मुलुक
नभएको बेलामा
सबै नागरिक
यहाँबाट भाग्न चाहन्छन्
मानिससँग छैन
आधुनिक वा उत्तर आधुनिक
प्वाँख वा खुट्टा
नहुँदा नहुँदै पनि
उड्न दौड्न चाहन्छन्
यस ठाउँबाट
आत्तिएको छ मानिस
आफ्नो जस्तो लाग्ने
देश नभएको बेला
टाउकोमाथिको आकाश
र खुट्टामुनिको धरती
लुटिएको बेला
अत्यासिएको छ मानिस
र अनेक थरीका
दुःस्वप्नका प्रश्नबाट
घेरिएको छ मानिस
सत्ताको दलालगिरी
मुक्तिका भ्रम संशय
मुलुक नै पलायन
यसबाट
कत्ति पनि खुसी छैन
इतिहासकै दुब्लो मानिस
ऊ जित्न चाहन्छ
क्रूर अमानवीय सत्ता
हराएरै बेदखल गरेरै
रमाउन चाहन्छ
फेरि पनि
किन उठ्दैन मानिस































