छोराछोरीसित

छोराछोरीसित

सञ्जालमा जोडिन गैसकेको
संसार यो ग्लोबल भैसकेको
टुक्रा र टुक्रा\तिर मात्र हेरी
टुक्रिन्न सिङ्गो लुटको अँधेरी

समग्र संसार विचार गर्नू
अरे अरेका भरमा नपर्नू
मनुष्य पढ्नू र समाज पढ्नू
सत्मार्ग खोज्दै अघि नित्य बढ्नू

स्वरूप हेर्नू अनि सार हेर्नू
धेरै जनाको उपकार हेर्नू
बाटो समात्नू युगले दिएको
सचेतनाको लय घन्किएको

पाई कतै दुःख र दुःख धेरै
ह्वात्तै रिसाईकन उत्तिखेरै
यो जिन्दगानी नसराप नानी
सराप यो होइन जिन्दगानी

मरी गए फर्किन पाइँदैन
फर्केर कैल्यै पनि आइँदैन
सम्झ्यो अझै उत्ति अचम्मको यो
पाई नसक्ने वरदान हो यो

महा अँध्यारो बिच एक झिल्को
झिलिक्क आयो र मिलिक्क मिल्क्यो
सन्देश छाड्यो– ‘गर खोज नाना
महाँ उज्यालो छ कतै खजाना’

उत्तालमा भेल छ ठेलिएको
छ मुक्ति काँडासित जेलिएको
त्यो प्राप्तिमा दुःख छ झेल्नु पर्ने
ठुलो चुनौतीसित खेल्नु पर्ने

ढालेर फाले वध–बिम्ब मौलो
भविष्यको त्यो दुनिया छ नौलो
सुनिन्छ माया, रित हुन्न बैह्रो
छ प्रेमको सार अतुल्य गैह्रो