न्याय प्रणाली र मेरो अनुभूतिको त्यो घटना

न्याय प्रणाली र मेरो अनुभूतिको त्यो घटना

संस्मरण

२०६२÷०६३ को आन्दोलनले उफान लिइसकेको थिएन । सायद भित्रभित्रै उम्लिदै भने थियो । त्यसको आभास जहिँतहिँ हुन्थ्यो । ०६२ सालको फागुन महिनामा बिद्रोही माओवादीलाई सहयोग गरेको आरोपमा शाही सेनाले मलाई ट्राफिकचोकबाट गिरफ्तार ग¥यो । गिरफ्तार पनि नाठकीय ढङ्गले भयो । शनिबारको दिन भएकाले बजार सुनसान थियो । प्रायः गरेर शनिवारको दिन छापाखानाहरू बन्द रहने गर्दछन् । त्यो दिन हाम्रो प्रेस भने बन्द थिएन । सटर बन्द गरेर माओवादीका दस्तावेजहरूको छपाइको काम भइरहेको थियो ।

दस्तावेज छपाइको लागि माओवादीको तर्फबाट क.एच.पी.(हुमप्रसाद बस्याल) नामका दाङतिरका भाइ छापाखानामै थिए । सो बेला मेरो घर माओवादीको आश्रय स्थल पनि थियो । यद्यपि त्यो रात काम लिएर भाइको साथमा क.कमल शर्मा उर्फ हिरामणी दुःखीजीको छोरी ज्योति पनि आएकी थिइन् । तर बिहान भएपछि सुरक्षाको हिसाबले दुबैजना एकै ठाउँमा बस्न उचित हुँदैन भन्ने कारणले उनी चेतना पुस्तक पसलका मालिक नविन÷प्रभाजीको घरमा गएकी थिइन् । सोही कारणले मेरो गिरफ्तारी भइसकेपछि घर खानतलासी गर्ने क्रममा क.एच.पी. समाइएता पनि ज्योति भने बच्न सफल भइन् । पछि त्यहाँबाट पनि लक्ष्मी पुस्तक पसलका साहु हरी अर्यालकाेमा गएर बसिछन् र सुरक्षित अाफ्नाे कार्यक्षेत्रमा पुगेकाे जानकारी म हिरासतबाट छुटेपछि थाहा पाएकाे थिएँ । भाइ हुमप्रसाद पकडिएकाेमा दुःख लागेता पनि ज्याेति बच्न सफल भएकाेमा म निकै खुसी भएँ । भरखर १५ वर्ष कटेकी ती बालख पकडिएकाे भए सेनाले के गर्थ्याे हाेला सम्झँदा पनि शरीर जिरिङ्ग हुन्छ अहिले ।

दिउँसोको दुई बजेतिर मोबाइलबाट ल्याण्डलाईन फोनमा कल आयो । संयोगले म घरमै थिएँ । फोन उठाएँ । उताबाट आवाज आयोः तपाईंका किताब पाल्पाबाट आएका छन्, साझा कुरियरमा आएर लैजानुस् ।

सो समयमा बुटवलका कुरियरहरू प्रायः शनिवार बन्द हुने गर्दथे । आजकाल सोमबार बन्द हुन्छन् । शनिवार कुरियरमा किताब कसरी आए ? फेरि ती किताबहरू कुरियरबाट आउनलाएक पनि त थिएनन् । किनकि दुईढाई बोरा किताब लगभग आधा वर्ष मेरै घरमा थन्किएर शुरक्षाको हिसाबले तिनीहरू पाल्पा पुगेका थिए । त्यति घेरै किताबहरू कुरियरले ढुवानी गर्ने सबालै थिएन । तर पनि फोन आइसकेपछि जानैपर्ने थियो, निकै असहज मन बनाएर म ट्राफिकचोक पुँगे ।

होटेल सिद्धार्थ पुग्दा कुरियर बन्द थियो । सँगैको कलर ल्याब भने खुलै थियो । त्यहाँ पुग्नासाथ ल्याबको काउन्टरमा गई कुरियर बन्द भएको तर मलाई सामान लिन बोलाइएको बारे के सोधपुछ गर्नभ्याएको थिएँ होटलको पछाडिको भ¥याङ्ग भए छेउबाट आवाज आयो– तपाईंको सामान यहाँ छ । यता आउनुस् ।

मलाई पछाडि आउन दिएको दमदार आवाजको साथसाथै मेरो तेस्रो नेत्र पनि खुल्यो– तँ फस्नै थियो फसिस बाबै ।
“भाग्ने कोशिश नगर्नुहोला । हामी रामनगर ब्यारेगबाट आएका हौं ।” छातीमा झुण्डाइएको परिचयपत्र र कम्मरमा बाँधेको रिभल्वर देखाउँदै भने—“नपत्याए यतातिर हेर्नुस् । अब तपाई हाम्रो गिरफ्तारिमा पर्नुभएको छ ।”

सैनिक जवानले अगाडि बाटोमा खडाभएको गाडी देखाउँदै मलाई हिड्न इसारा गरे । गेटबाट बाहिर निस्कदाँ निस्कदै मोटरसाइलको चाबी र हेलमेट भने काउण्टरमा जमा गर्न दिइयो । रैथाने बासिन्दा भएको र पत्रिकामा काम गर्ने, लेख रचनाहरू पत्रिकामा आइरहने कारणले धेरैसँग जानपहिचान थियो मेरो । म गिरफ्तार भएको केहीबेरमै बुटवल बजारभरि हल्ला फैलिएको, छोराले मोटरसाइकल घर लगेर गएको कुरो मलाई सेनाले पुलिसलाई हस्तान्तरण गरेपछि मात्र थाहा लागेको थियो ।

सैन्य हिरासतको बयान चानचुने कलमले गर्न सकिने कुरो होइन । राज्यसत्ता त्यसमा पनि निरंकुश राजतन्त्रको बिरूद्धमा लडिरहेका बिद्रोहीहरूको गिरफ्तारीपछिको परिणतिप्रति म सचेत थिएँ । ट्राफिकचोकदेखि रामनगर ब्यारेकको अपरेसन कक्षसम्म पुग्दा जीवनको आदि र अन्यको कल्पना गरिभ्याएँ मैले ।

केरकार, डरधम्की सब प्राप्त गरियो । बुटवलका को को माओवादी हुन् ? बुटवल आउँदा उनीहरूले बस्नेखाने कस्कोमा हो ? उनीहरूलाई को कस्ले सहयोग गर्दछन् ? आदि आदि । केरकारलाई अपरेसन भनिदो रहेछ । अपरेसनरूमको बस्तुस्थिति अर्कै प्रसङ्गमा कुरो आउला । तर त्यो अपरेसन कोठामा सलाइनपानी, चिरफारका औजार, दवाइपानीका बोतल थिएनन् । थिएत केवल सैन्य अपरेसनका औजारहरू । मेरो छोटो केरकार भयो । शरीर खानतलासी गर्दा नेपाल पत्रकार महासङ्घको परिचयपत्र गोजीबाट फुत्त निस्किएकाले पनि मैले ठूलो राहत पाएँ । यद्यपि केरकार निर्मम भयो । तर, म चुकिन । कसैलाई फसाइन । बुटवलका सबै माओवादीलाई मैल चिन्थेँ । क. एच.पी. मेरै घरमा भएको कारणले पक्राउ परे । यसमानेमा भने दुखित् छु ।

तेस्रो दिन, चौथो रातको सैन्यभोजन जु¥यो मलाई । भात केही जर्रो भए पनि मासु थपेर खाइयो । चौथो दिन बेलुकी ७ बजेतिर सेनाले म र क.सौगात (हुमप्रसाद बस्याल)लाई बुटवल थानालाई हस्तान्तरण ग¥यो । तर थानामा हाम्रो निगरानी पुलिसले मात्र गरेको थिएन । मभन्दा केही हार्डलाइनर क.सौगात पनि मेरो प्रेसबाट समाइएकाले हामी दुईलाई सेनाले पनि ‘मानमनितो’ गरिरहेको थियो । सायद पार्टीको खटनमा होला मेरो तर्फबाट कानुन व्यवसायी नियुक्त भए अधिवक्ता पशुपति भन्डारी । मेरोमात्र होइन उनी पक्राउ खानेजति सबै माओवादीका केसहरू हेर्ने गर्दथे । यसै पनि हामी दुईको गहन दोस्तीको कारणले उनीसँग मलाई सहज अनुभुत हुने कुरो भइहाल्यो र भयो पनि ।

लामो बसाई भयो बुटवलको थानामा । त्यो लामो बसाइमा न्यायप्रशासनको असली चेहरा देख्न पाइयो । दीपक थापा थिए थाना इन्चार्ज । पद सायद डियसपी हुनुपर्छ । उनले बहुत दिलेरी व्यबहार गरे मसँग । सबभन्दा ठुलो कुरो उनले मेरो छापाखानालाई सिज गरेनन् । बिद्रोही माओवादीका दस्तावेजहरू छापिदै गरेको अवस्थामा माओवादी कार्यकर्ता हुमप्रसाद भाइसमेत पक्राउ पर्नुभएको थियो । यस हिसाबले तत्कालीन कानुनअनुसार प्रेस पनि सिज हुनुपर्ने थियो । तर गरिएन । यसमानेमा दीपक थापाले जीवनप्रयन्त बिर्सन नसकिने गुन लाएका छन् । तर, तत्कालीन न्यायप्रशासन भने बहुत निर्मोही ब्यवहार ग¥यो मसँग । मोरो माथि कात्रो भनेजस्तै मेरो केसलाई हल्का बनाउने नाममा भेटीको माग गरियो । मेरो गिरफ्तारीपछि मेरो प्रेस माओवादी प्रेसको नामले प्रचारित भयो । केही नियमित ग्राहकबाहेक अरू ग्राहकहरू आउन कम भइसकेको र काम कम भइसकेको खबर मेरो कानमा परिसकेको थियो । घरपरिवार निरास भैसकेका थिए । अब के हुने हो त्राही त्राही थियो ।
यस्तो विकराल अवस्थामा केस हल्का बनाउने नाममा केही रकम भेटीस्वरूप चढाउनु पर्ने भयो । परिवारले कहिँकतैबाट जोहो गरेर भेटीको बन्दोबस्ती गरेछन् र चाँजोपाँजो मिलाउने व्यक्तिमार्फत कबोल मुताविकको रकम खास ठाउँमा पु¥याइएछ ।

चैत्र एक वा दुई गते यस्तै केही हुनुपर्छ । मेरो पक्षमा बुटवलमा उपलब्ध भएसम्मका कानुन व्यवसायीहरूले बहस गर्नुभयो । समयको सीमितताले दुई शब्द भएपनि बोल्नु भयो । फैसला मेरो पक्षमा भयो । मलाई जेल जानु परेन । सर्तसहित म रिहा भएँ । क.सौगात भने जेल चलान भए । त्यतिबेलासम्म बुटवलमा जनआन्दोलनले बामे सर्न भने थालिसकेको थियो । अदालतले बोलाएको बखत हाजिर हुने सायद यस्तै केही सर्तहरू थिए मउपर । घरपरिवार छरछिमेकीहरू मलाई स्वागत गर्न अदालतको गेटसम्म पुगे । दिवंगत जेठान काशीराम गहतराज बहुतै खुसी हुनुभयो । आफ्नो घरमा लगेर कोकफेन्टाले स्वागत गर्नुभयो । तर मेरो प्रेसमा काम लिएर आउने, घरमा आइजाई गर्ने माओवादीहरूले भने मुन्टो बटारेर हिँड्न थाले ।

रिहाइपछि ससानो किचनभेटको आयोजना गरियो । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीदाइ, वरिष्ठ पत्रकार वसन्त पोख्रेल, लुम्बिनी दैनिकका तत्कालीन अध्यक्ष एम.बी. विश्वकर्मा, मेरा कानुन व्यवसायी मित्र पशुपति भन्डारीलगाएत साथीहरू मुनाल रेस्टुरेन्टमा बसेर लगभग रूपैयाँ तीन हजारको सुर्ती खाएर फुर्ती गरियो । त्यो बेलाको तीन हाजर आजको तीस हजार बराबर हो । फुर्तिकै दौरानमा हिरासतको समयको बृतान्तबारे मन खोलेर बयानबाजी गरियो । के, कहाँ, कति, कसरी, कोमार्फत यावत कुराको अभिलेखीकरण भयो ।

भनिन्छ पत्रकारको मुखमात्र छुच्चो हुँदैन, कलम झन् छुच्चो हुन्छ । यस मानेमा वसन्त पोख्रेल यसै पनि महाछुच्चो भइहाले । सुर्तीको झोँक कर्णदाइको थामिनसक्नुको हुन्छ, यो कुराको भुक्तमान धेरै भए होलान् । भेटी वा नजरानाको कुरो कुरैकुरामा निस्कियो । यही कुरैकुरामा निस्किएको कथाले महाभारतको रूप लियो । कर्णदाई यति सुरिनु भयो कि तत्कालै गएर त्यस पबित्र पुजारीलाई कठालो समाउने सुर निकाल्न थाल्नु भयो । यो भेटीको कुरो कहिँकतै नभन्ने वा बाहिर प्रचार नगर्ने सहमतिमा मैले भनेको थिएँ । तर वसन्त पोख्रेलले सर्तलाई पालन गरेनन् बरू पत्रकारको धर्म र गहन दायित्व निर्वाह गर्दै अर्को बिहानको दैनिकपत्र, वा जनसंघर्षमध्ये कुनै पत्रिकामा “प्रेस व्यावसायीसँग घुस” यस्तै यस्तै शीर्षकमा समाचार छापिदिए । यो घुस प्रकरण चानचुने कुरा थिएन । राज्यको भाषामा माओवादी आतङ्ककारीलाई सहयोग पु¥याएको अभियोगमा पक्राउ परेको एक प्रेस व्यवसायीबाट न्याय प्रशासनमा कामगर्ने ब्यक्तिले भेटीको माग गर्नु चानचुने कुरो हुन सक्दैनथ्यो र थिएन पनि । राज्यकै भाषामा कथित टाउको काट्दै हिडिरहेका माओवादीसँग त भेटीको माग गर्ने राज्यको कर्मचारीले अरू सर्वसाधारणसँग कति भेटी उठाए होलान् । अनुमान बाहिरको कुरो हो ।

पत्रिकामा समाचार आएपछि बुटवलमा हलचल भयो । हलचल मात्र होइन सानोतिनो भुकम्प नै गयो । सो समयमा मसँग मोबाइल थिएन । मेरो ल्यान्डलाइन फोनमा लगातार घण्टी बज्न थाल्यो । हो, होइन, किन्तु परन्तु यस्तै यस्तै हो आदि इत्यादि मेरो जवाफ हुने गर्दथ्यो ।

जनआन्दोलन उचाइमा पुग्यो । म हिरासतबाट मुक्त हुने दिनको भोलिपल्ट बुटवलमा माओवादीको भीषण आक्रमण भयो । त्यो रात क. सौगातलाई सेनाले आफ्नो क्याम्पमा लगेर राखेछ । केही दिनपछि भैरहवा जेल पु¥यायो । मैले घरको छतमा बसी मकै भुटेझैँ पड्किरहेका गोलीको भीषण आवाज सुने । अर्को दिन थाहा पाइयो, हामी बसेको थुनुवाघर पछाडि माओवादी योद्धाहरूको लास चाङ लागेको थियो । बुटवल क्याम्पस पछाडि समेत केही जनसेनाको सेनाको गोलीले मृत्यु भयो ।

केही दिनपछि एउटा अकल्पनीय घटना घट्यो । त्यो घटना के थियो भने जसले मेरो केस हल्का गर्ने नाममा मेरो परिवासँग भेटी लिएका थिए, त्यो रकमलाई उनले पचाउन सकेनन् सायद, सिलबन्दी खाममा मेरो घरसम्म पु¥याइदिए । बिचौलीया, न्यायाधीश घुसप्रकरण, वकिल न्यायाधीश संवादजस्ता कुरा सुन्दा, समाचार पढ्दा म थोरै पनि अचम्म मान्दिन आजकाल । पुर्व न्यायाधीश बलराम केसी, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलगायत कसैले पनि न्यायपालिका सुधारको पक्षमा कलम चलाउने विद्वानहरूको लेखबाट म प्रभावित हुन्न । ‘टाउको काट्दै’ हिड्ने माओवादीसँग, उनीहरूलाई सहयोग गर्ने शुभेच्छुकलाई समेत निल्न सक्ने अजिङ्गरले निरीह जाबो हर्रेउ साँपलाई के छोड्ला र खै ? मेरोलागि न्यायाधीश बहुतै सकारात्मक थिए । उनलाई आजसम्म पनि मैले संझिरहेको छु । जाबो एकबेरमा बसेर तुरिने नास्ताको भेटी उनको खाँचोको विषय थिएन । ती सरकारी मान्छेलाई भने बिर्सेको छैन र बिर्सने पनि छैन । किनकि हजारौं तलब खाने, राज्यका हरसुबिधा हडप्ने एक उच्चपदस्थ कर्मचारीले मजस्तो भर्खर भर्खर पलाउँदै गरेको व्यवसायीसँग भेटीको माग जो गरेका थिए ।

लामो समयको अन्तरालपछि ती मध्यस्थकतालाई चिन्ने मौका पाएँ मैले । उनी मसँग यति रिसाएकी काँच्चै खाउँलाजस्तो गरे । मैले कामना गरेको छु उनीसँग कहिल्यै भेट नहोस् । घटाना घटेकै लगभग २० वर्ष भइसकेको हिसाबले ती कर्मचारीको पनि अवकास भइसक्यो होला वा प्रमोशनबाट बेन्च सेयरको ठाउँमा पुगे होलान् । यदि अवकास लिएका छैनन् भने लागेको बानी कहिँ नजानी आज पनि भेटीसेटीको लागि बिचौलीयाको प्रयोग गर्दा पनि हुन् कि ?

कामना गरौं यो अपराधप्रति उनको मन नजाओस् ।