
विश्वमा अनौठो अनौठो संस्कृति रहेका छन् । जुन संस्कृतिहरू त्यहाँको जाति र समुदायसँग नजिकको सम्बन्ध राख्छन् । अहिले विश्व प्रविधि, सञ्चार तथा यातायातको सुविधाले कतिपय राम्रा संस्कृतिहरू अनुसरण गरी समृद्ध संस्कृतिको गतिमा छ । जसले गर्दा विश्व संस्कृति, मिश्रित संस्कृतिको रूपमा विकसित भइरहेको छ । तर, विश्वमा कतिपय यस्ता संस्कृति पनि छन्, जुन एक अर्को समुदायले विश्वास गर्न पनि गाह्रो हुन्छ । थारु समुदायमा पनि एउटा यस्तो चलन छ, जहाँ खडेरी पर्यो, लामो समयसम्म पानी परेन भने गाई अपहरण गर्ने चलन छ, जसलाई थारु समुदायमा ‘गैया बेहर्ना’ अथवा गोरु बेहर्ना’ भनिन्छ । यस अंकमा हामी ‘गैया बेहर्ना’ चलन बारे चर्चा गर्नेछौँ ।
‘गैया बेहर्ना’ कार्यक्रम विशेषतः जेठ असारमा हुन्छ । धान अथवा मकै बाली लगाउनका लागि किसानहरू तयारी अवस्थामा हुन्छन् । त्यसै समय यदि पानी परेन भने महिलाहरूले गैया बेहर्ना काम गर्छन् । ‘गैया बेहर्ना’ चलनसँग सजना गीतको ठूलो महत्त्व हुन्छ । यो गीत अनिवार्य हुन्छ । ‘सजना’ थारु समुदायमा गाइने एक ऋतु गीत हो । यो गीत पनि लोकगीत अन्तर्गत पर्छ
यो गीत गाउने सुरुवात भने वसन्त पञ्चमीको दिनदेखि हुन्छ । किसानहरू नयाँ खेतीपातीको तयारीको लागि बाँझो बारी अथवा खेतमा हलो जोत्न सुरु गर्छन्, त्यसैबेलादेखि सजना गाउन सुरु हुन्छ । सजना गाउँदा त्यसका भावले खेतीपातीको समय प्रतीत हुन्छ । यो गीत निकै सुरिलो भाकामा गाइन्छ । यो सुनेर सबैको मन फुल्लित हुन्छन्, उता कालो कालो पानी बादल मडारिन थाल्छ । अनि त मानिसको हृदय बडो सन्तोषको सुस्केरा हाल्छ । गैया बेहर्ना कसरी मनाउँछन् ?
यसका लागि गाउँका केटीहरू, अँच्रहिन (विवाह भएको तर, बच्चा नजन्माई सकेकी महिला) र लर्कोर (बच्चा जन्माई सकेकी महिला) साँझ कुनै घरमा भेला हुन्छन् । विशेष गरी गाउँको मुखियाको (प्रधान, बरघरिया, मालिकवा) घर भेला भई सजना गाउँदै आफ्नो छरछिमेकको गाउँमा हलो चोर्न जान्छन् । हलो चोर्न गएको समय उताबाट ठूलो भ्यागुतो पनि समातेर ल्याउँछन् । हलो चोरेर ल्याएर गाउँको मुखिया या भेला भएको घरको आँगनमा दुईजना केटीहरू नाङ्गो भई गोरु बन्छन् र एक जनाले उल्टो हलो जोत्छन् । अरू जना कोही कोदालो लिएर खेत खने जस्तो, कोही बीउ छरे जस्तो, कोही जोतेको मिलाए जस्तो, यस्तै यस्तै खेतमा गरिने सबै काम गर्छन् । बाँकी मान्छे मधुर लयमा सजना गाउने कुरा लमही–३ उत्तर मजगाउँ बस्ने गेदुलाल चौधरीले बताउँछन् ।
यो काम मुखियाको घर मात्रै नगरेर आफूले सकेसम्म छ/सात घरमा जोत्छन् । जोती सकेपछि त्यो घरको ढोकामा ढुंगा, काठ लगायतका चिज तेर्साएर आउँछन् । हलो भने मुखियाको घरमै राख्छन् । बिहान जसको हलो हो, उसले आफैँ खोजेर लैजान्छ ।
दोस्रो बिहान, सबैजना भेला भई छरछिमेकका गाउँबाट गोरु समातेर ल्याई गोठमा बाँधी दिन्छन् । गोरु ल्याउन नसकेको खण्डमा उनीहरूले मान्छेलाई पनि समाएर ल्याउन सक्छन् । यसरी मान्छेलाई अपहरण गरेर स–सम्मान खुवाउँछन्, पिलाउँछन् । मान्छेलाई ल्याएपछि उसलाई मिचिमिचि नुहाई दिन्छन् अनि जाँड–रक्सी सहित सम्मान गर्छन् ।
यता सबैजना कलवा (बिहानको खाना) खाएर पुरुषको पहिरनमा सिँगारिएर आएका केटीहरू गाउँ–गाउँ सजना गाउँदै घर–घर पुग्छन् । यसमा छतरी (बाँसले बुनेको छाता) पनि सबै जनाले ओढेका हुन्छन् । छतरीको बदलामा आजकल छाताले पनि काम चलाउँछन् । जुन घर सजना गाउँदै पुग्छन्, त्यो घरको भान्सेले सजना सुनाए बापत तरकारी दिन आउँछन् । त्यति मात्र नभई उनीहरू आफ्नो गाउँ बाहेक बाहिर गाउँ पनि जान्छन् ।
यता गोठमा बाँधेको गोरु अथवा मान्छे छुटाउनको लागि जुन गाउँको गोरु या मान्छे हुन्, त्यही गाउँको महिलाहरू मलिया (दही जमाउने माटोको भाँडो) मा दही, तरकारी लिएर छुटाउन आउँछन् । जब साँझ पर्छ उताबाट फूला लोह्र्ना जानेहरू पनि आउँछन् । अनि दुवै तर्फबाट सजनामा दोहरी खेल्छन् । दोहरी प्रतिस्पर्धात्मक हुन्छ । यो समय बडो मनोरञ्जनात्मक हुन्छ । जब छुटाउन आउनेहरूको गीत गाएर जिते भने मात्र सबै गोरु या मान्छे छुटाएर लैजान पाउँछन् । यदि जित्न सकेनन् भने उनीहरूले गोरु लैजान पाउँदैनन् । दोस्रो दिन पनि त्यसैगरी सजनामै प्रतिस्पर्धा हुन्छ । जितेर मात्र आफ्नो गोरु लिएर जान्छन् ।
फूला लोर्हना काम दुई तीन दिनसम्म हुन्छ । नसके एकै दिनमा पनि सिद्ध्याउन सक्छन् । सिद्ध्याएको दिन पनि बडो मनोरञ्जनात्मक हुन्छ । जुन दिनलाई ‘फोडा खैना’ दिन पनि भनिन्छ । यो दिन फुला लोह्र्ना जानेहरू सजना गाउँदै घर घर पुग्नुका साथै तरकारी बारीमा पनि पुग्छन् र आफूखुसी तरकारी टिपेर ल्याउँछन् । उनीहरूलाई कसैको रोकछेक गर्दैनन् । गोरु बेह्र्ना कार्यक्रममा सहभागीहरू सबैका घरका एक–एकजना थप व्यक्ति डेरा घर भान्सा गर्न आउँछन् । उनीहरू दिनभरि भान्सा गर्छन् । जब गैया बेर्नेहरू गाउँ पुग्छन् अनि सबै भान्सेहरू उनीहरूलाई लिन ढोल, डमैयाँ बाजागाजा सहित मचिया, हाते पङ्खा लगायतको चिज लिएर जान्छन् ।
जब दुवै तर्फको मान्छेको भेट हुन्छ । लिन जाने भान्सेहरूले खुबै मान सम्मान गर्छन् । भान्सेहरूले उनीहरूलाई घर ल्याउन लाख प्रयत्न गर्छन् । सजना गीत मार्फत उनीहरू पनि हात्ती, घोडा, मोटर, कार, हवाईजहाजमा बसेर घर फर्किने शर्त राख्छन् । उनीहरूको माग अनुसार भान्सेहरूले पनि हुन्छ हुन्छ भन्दै अलिअलि सर्दै घर पुर्याउँछन् । भान्सेहरूले उनीहरूलाई सप्तरङ्गी गुन्द्रीमा बसालेर गोडा धोई दिन्छन् । गोडा धोई सकेपछि उनीहरूले गोडा समाई उचाली दिन्छन् र उनीहरू उत्तानो परी भुईँमा पछारिन्छन् । यो बेला हाँसोले आँगन र चारैतिरको वातावरण गुञ्जायमान हुन्छ । केही बेरसम्म हाँसो ठट्टा चल्छ । साँझपखको बेला भएको हुनाले हेर्नेहरूको पनि भीड हुन्छ ।
यो काम सकिए पछि पहिलो दिन ल्याएको भ्यागुतालाई दूध, भात खुवाउने काम बाँकी हुन्छ । भ्यागुतालाई दूध, भात खुवाएर पानीमा छोडी दिन्छन् र सबैजना हाँसो खुसीका साथ आफ्नो सुख, दुःख साँट्दै खान्छन् पिउँछन् । यता दूध, भात खाएर छुटेको भ्यागुतो जब ‘गोँ–गाँ, गोँ–गाँ’ बोल्न थाल्छ । अनि बादल मडारिन थाल्छ । भ्यागुतो कराए पानी पर्छ भन्ने जनविश्वास भएकोले गैया बेर्ने (अपहरण) काम गरेपछि पानी पर्छ भन्ने जनधारणा थारु समुदायमा छ ।
यो एउटा विश्वासमा अडिएको चलन हो । चलन हरेक समुदायमा आफ्नो अनुकूलतामा बन्छ । त्यही चलन पुस्तौँ पुस्ता हस्तान्तरण हुँदै यहाँसम्म आइपुग्छ । यसमा सत्यता कति छ ? त्यो विश्वासमा भर पर्ने कुरा हो । पानी पर्ने नपर्ने कुरा वातावरणीय प्रभावमा निर्भर गर्छ । थारु समुदायमा यो चलन कहिलेदेखि सुरु भयो ? यसको कुनै लेखाजोखा छैन । यो चलन आजकल हराउँदै गएको छ । केही ठाउँमा गोरु बेर्न थालेको देखिन्छ तर हिजोको चलनभन्दा केही फरक शैलीमा । समय अनुसार परिवर्तन हुनु स्वाभाविक हो ।