हुन त यस विषयमा कलम चलाउने मेरो कुनै उद्देश्य वा योजना थिएन । सोंच थिएन । तर कहिले आफूले नसोचेको विषय पनि लेखको विषय बन्दछ । आफूले कहिले नसोचेको विषयमा पनि कलम चलाइन्छ । यस लेखको सम्बन्धमा यस्तै भएको छ । पटक पटक मेरा मित्र ऋषिराम भुसालले म त साह नि को प्रसंग उठाइरहेको र हालसालै भेट हुँदा पनि उनले यस प्रसंगलाई कोट्याएको हुँदा यस विषयमा पनि कलम चलाउने सोंच मेरो बन्यो । त्यसैको परिणाम यो लेख हो ।
म जब योगीकुटीतिर निस्किन तालिम केन्द्रको आड हुँदै कालिकानगरको बाटो हिंड्छु त्यहाँ एकजना चिर परिचित व्यक्तिको नाम रहेको पथ जाने संकेतको बोर्ड राखेको बाटो देख्दछु । त्यस बाटो वा पथतिर मेरो नजर पर्दछ । त्यो पथ हो शंकरमान पथ । शंकरमान पथ देख्नासाथ मेरो मनमा अनेक कुरा खेल्न थाल्दछन् । मेरो अगाडि एउटा सिंगो इतिहास उपस्थित भए जस्तो लाग्दछ ।
मेरो वा हाम्रो शंकरमान श्रेष्ठसित पहिलो र अन्तिम भेट राजमार्ग चौराहामा भएको थियो । त्यतिबेला म भैरहवा बहुमुखी क्याम्पसमा पढाउँथे । भैरहवामा नै बस्दथें । कुनि के कामका लागि म र केशव घिमिरे बुटबल आएका थियौं । बुटबलमा साथीहरूले हामीलाई बुटबलमा बस्ने आग्रह गरे पनि हामी जसरी भए पनि राजमार्ग चौराहामा आएर जुनसुकै गाडी पाए पनि त्यसलाई राकेर भैरहवामा नै फर्किने सुरमा थियौं ।
काठमाण्डौबाट भैरहवा क्याम्पसमा इतिहास संस्कृति विषयको प्राध्यापकको पदमा जागिर पाएर आफ्नो घर छोडेर भैरहवा आएका थिए केशव घिमिरे । उनी पत्रकार रघु घिमिरेका भाइ थिए । उनको विबाह धनगढीतिर भएको थियो । भैरहवा क्याम्पसमा अध्यापन गर्दा केशव घिमिरे मेरा आत्मीय साथी भएका थिए । हामी छुट्टीको बेलामा ठाउँ ठाउँमा घुम्दथ्यौं र खुब गफ गर्दथ्यौं । अचम्भको कुरा त के थियो भने जति गफ गरे पनि हाम्रा गफ कहिले सकिन्नथे ।
केशव घिमिरे र म बुटबलबाट फर्किन थाल्दा निकै रात परिसकेको थियो । लगभग ११ बज्न थालेको थियो । त्यतिबेला बुटबल भैरहवामा चल्ने नियमित बस पाउन गाह्रो थियो । यसैले हामीले भैरहवा सुनौलीतिर जाने कुनै लामो दूरीका बस ट्रक वा जुनसुक्रै गाडी नामको चीज देखे त्यसलाई रोकेर लिफ्ट माग्ने पक्षमा थियौं । हामी चौराहामा खडा भएर भैरहवातिर तेर्सिन थालेका गाडीलाई हात दिएर धमाधम रोक्ने प्रयास गरिरहेका थियौं । तर कुनै पनि गाडी हामीले हात दिएर रोकिएको थिएन । यसैबीचमा अचानक एउटा जीप रोकियो । हामी निकै खुशी भयौं । कम्तीमा एउटा गाडीले हाम्रो मर्म बुृझ्यौ जस्तो लाग्यो हामीलाई ।
रोकिएको गाडीबाट चार पाँच जना व्यक्ति ओर्लिए र हाम्रो कुनै वास्ता नगरी पान पसलतिर लागे । म र कशव घिमिरे उनीहरू गएको पान पसलतिर लाग्यौं । लिफ्ट माग्दा उनीहरू भैरहवातिर जाने होइन रहेनछन् भन्ने कुरा थाहा लाग्यो । कुरो बुझे पछि म फेरि हाई वेमा आएर भैरहवातिर जान थालेका गाडी रोक्न खोज्दै थिएँ । केशव घिमिरे म भएतिर नआए पछि र उतै कुरा गरिरहेको देखेर फेरि फर्केर पान पसलतिर गएँ । त्यहाँ त केशव घिमिरे र गाडीबाला व्यक्तिबीच भनाभन भइरहेका रहेछ । कुरा के परेछ भने गाडीबालाले हाम्रो गाडी रोक्ने त मुृर्ख रहेछस् भनेछ । केशव घिमिरेले म मुर्ख हो भने तँ महामुर्ख होस् भनेछन् । त्यस मान्छेले फेरि मेरो गाडी रोक्ने तँ उल्लु होस् भनेछ । केशव घिमिरेले म उल्लु हुँ भने तँ महाउल्लु होस् भनेछन् । यसरी दुई जनाबीच झगडा हुँदा गाडीबालाले केशव घिमिरेमाथि हात हाल्छ कि भन्ने शंकाले मैले उल्टै केशव घिमिरेलाई हाई वे तिर तान्दै हप्काए जस्तै गरी भने – तँपाईले व्यर्थमा किन झै झगडा गर्न खोजेको ?
मैले केशव घिमिरेलाई जोगाउन तानेर वारि ल्याएको १ मिनट पनि न हुँदे त्यो गाडीबाला फेरि वारि आएर केशव घिमिरेसित झगडा गर्दै भन्यो – मलाई महामुर्ख भन्ने मलाई महा उल्लु भन्ने तँ को होस् । केशव घिमिरेले त्यसको जबाब दिंदै भने मेरो नाम केशव घिमिरे हो । म भैरहवा बहुमुखी क्याम्पसको लेक्चरर हुँ । केशव घिमिरेले आफ्नो परिचय दिंदा पनि गाडीबालाले उनलाई गन्दै गनेन । पिट्ला जस्तो गर्न थाल्यो । हात छोड्ला जस्तो गर्न थाल्यौं । मैले उनलाई बचाउन तानेर छुट्टाउन खोजें । उनलाई छुट्टाउन थाल्दा गाडीबाला मतिर खनियो र मेरो पनि परिचय खोज्यो । मैले भनें म पनि भैरहवा क्याम्पसको लेक्चरर हुुँ । उसले फेरि मेरो नाम सोध्यो । मेले मेरो नाम दिल साहनी हो भने । उसले मेरो नाम दिल साह नि जस्तो सुनेछ । अर्थात दिल शाह नि जस्तो सुनेछ । मेरो नामको उसलाई यति छिटो सकारात्मक प्रभाव पर्यो कि उसले मलाई अंगालो हाल्दै भन्यो – ओ हो तपाइं शाह । बाबु साहेव । तपाइ त राजा साहेव पर्नु भयो । राजै तपाइको छ । उसले मलाई साहनी नठानेर शाह नि भने जस्तो ठानेर राजा साहेबको पगडी गुथाइदिएको कुराको चित्त त बुझेको थिएन । म उसलाई शाह हाइन । साहनी हुँ भन्न पनि चाहन्थें । तर उसले साहनी लाई शाह नि बुझ्दा मारपिटमा उत्रिन थालेको मुद्दा सजिलै झिसमिस हुन्छ भने मैले किन आफ्नोे जात थर बारे खुलस्त पार्न पर्यो जस्तो लाग्यो मलाई । यसैले चाहेर पनि आफ्नो जात थर सच्चाउन पट्टि नलागेर म चुप रहें । चुप रहनमा नै हाम्रो कल्याण संझें । यो उही महाभारतको नरो वा कुन्दरो हताहतको कुरो जस्तो भयो । त्यस पछि गाडीबालाले आफ्नो परिचयको गाँठो खोल्दै भन्यो – तपाईहरूले अवश्य पनि मेरो नाम सुनेको हुनुपर्दछ । म र्शंकरमान श्रेष्ठ हुँ । दीपक बोहोरा त मेरो चेलो हो । म कसैको गाली गलौज सुन्न सक्ने मान्छे होइन । मुखभन्दा मेरो हात चल्ने मान्छे हुँ । म भन्न सक्दिन आज मैले किन मुख चलाउन छोडेर हात चलाउन पट्टि लागिन । जे भएछ राम्रै भएछ । मेरा यति धेरै साथीहरूको बीचमा तपाईले मलाई महामुर्ख महाउल्लु भन्दा पनि हात नछोडेकोमा म आफै आश्चर्यमा परिरहेको छु । मैले तपाईमाथि हात नउठाएर धेरै राम्रो काम गरेछु । असल काम गरेछु ।
गाडीबालाले आफ्नो नाम शंकरमान श्रेष्ठ भन्नासाथ मेरो अगाडि शंकरमान श्रेष्ठको इतिहास खडा हुन पुग्यो । मैले शंकरमान श्रेष्ठको नाम पोखराको पी एन क्याम्पसमा अध्यापन गर्ने बेलादेखि सुन्दै आएको थिएँ । पंचायतकालको बेला थियो । त्यतिबेला पी एन क्याम्पसमा नेवी संघ र अखिलबीच कुटाकृुट चलिरहेको थियो । ठूलो लडाई चलिरहेको थियो । अखिल नेवी संघलाई देखेी नसहने अवस्था थियो । त्यसरी नै नेवी संघ अखिलाई देखी नसहने अवस्था थियो । मैले सुनेको थिएँ नेवी संघले अखिललाई कुटाउन स्याञ्जाबाट शंकरमान श्रेष्ठलाई समेत ल्याएका छन् । त्यसरी नै बुटबलमा पनि शंकरमान श्रेष्ठको बारमा सुनेको थिएँ यिनले दिउँसै पाल्पातिर बस रोकेर लुटेका थिए । उनले दिउँसै बस लुटेको कुरा कत्तिको साँचो हो त्यस बारे मैले कुनै खोध खोज भने गरेको थिइनं । छैन । जे होस् , शंकर श्रेष्ठ चानचुने व्यक्ति होइन भन्ने कुरा साँचो हो । ऊ खतरनाक व्यक्ति हो भन्ने कुरा पनि साँचो हो । कु्रा जे भए पनि , मेरो साहनी थरलाई उसले. शाह नि बुझिदिंदा त्यस दिनका दृुखान्तमा समाप्त हुन थालेको यथार्थ नाटक पनि एक्कासी सुखात्मक हुन पुग्यो । ह्यापी एन्डिङ हृन पुग्यो । कहिलेकार्ही कसैले सही कुरालाई गलत बुझिदिंदा पनि राम्रै हुँदोरहेछ । कहिलेकार्ही गल्तीलाई गल्ती नै रहन दिएर सच्चाउनपट्टि नलागि आफू चुप रहिदिंदा पनि ठीकै हुँदोरहेछ । यसैमा हामी सबैको कल्याण रहेछ ।
४–३–२०७९

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर