कम्युनिस्ट पार्टी भनेको मुख्यत सर्वहारावर्गको अगुवा दस्ता हो, यसले मजदुर वर्गका साथै सबै उत्पीडित वर्ग समुदाय लिङ्ग र क्षेत्रका जनताको राजनैतिक तथा वैचारिक नेतृत्व गर्दछ र गर्नु पर्दछ । कम्युनिस्ट पार्टी बहुसंख्यक जनताको हितको पक्षमा काम गर्ने पार्टी भएकोले त्यसले नीति र नेतृत्व निर्माणमा पनि आम जनताको भावना र उनिहरुको राय, सुझाव ग्रहण गर्नु पर्दछ । यस बिषयमा माओले हमेसा जननीति लागू गर भन्ने सन्दर्भमा ब्यक्तिका आदेस भन्दा पनि जनताको राय सुझाव र सल्लाहका आधारमा अगाडि बढ भन्ने कुरा धेरै महत्वपुर्ण छ । यो छोटो लेखमा अरु धेरै बिषयमा चर्चा नगरेर मुख्यत: नेतृत्व सम्बन्धमा नै केही प्रकाश पारिने छ । कम्युनिस्ट पार्टी आफैमा सामुहिकताको बिशाल घर हो । जसको निर्माण नै निजित्वका विरुद्ध ऐतिहासिक अनुभव र वर्गसंघर्षसङ्ग जोडिएको छ । त्यो महान कार्यमा जोडीने हरेक ब्यक्तिले निजित्व भन्दा धेरै माथि उठेर मात्र यो आन्दोलनको नेतृत्व गर्न सम्भव हुनेछ । तसर्थ, कम्युनिस्ट पार्टीमा नेतृत्व कसरी सामुहिक गराउने भन्ने बिषयमा प्रत्येक पार्टी सदस्य तथा श्रमजीबी जनताको समेत चासो र चिन्ता जोडिएको हुन्छ ।
नेतृत्व सम्बन्धि अहिलेसम्मका मान्यताहरु मुलत: तीन प्रकारका देखिन्छ्न । एक सामन्ती समाजको नेतृत्व सम्बन्धि अबधारणा मुख्यत: वंशजका आधारमा तय गरिन्थ्यो र त्यसमा पनि जेठो छोरा नै नेतृत्वको उत्तारधिकारी हुने चलन पाइन्छ । जहाँ योग्यता क्षमतालाई हेरिदैन र खाली वंशज त्यसमा पनि पुरुष र त्यस मध्ये पनि जेठो छोरा नै हुने चलन पाइन्छ । दोस्रो पुजीवादी समाजको नेतृत्व त्यो भन्दा केही उन्नत गतिशील देखिन्छ तर यहाँ पनि आम जनताको भावना र भुमिकालाई भन्दा स्रोत साधनको प्रचुर प्रयोग गरेर नेतृत्व निर्माण गर्ने चलन व्यापक देखिन्छ । निश्चय नै सामन्ती समाजमा भन्दा पुजीवादी समाजको नेतृत्व केही प्रगतिशील देखिन्छ र त्यहा प्रतिस्पर्धाका आधारमा नेतृत्व निर्माण गर्ने मान्यता पनि विकसित भएको छ । तर, त्यो प्रतिस्पर्धा योग्यता क्षमता भन्दा शक्ति र स्रोतलाई नै मुल आधार बनाउने मान्यता स्थापित हुँदै आएको छ । सामान्य रुपमा हेर्दा यो प्रणाली लोकतान्त्रिक जस्तो देखिए पनि सारमा यसले आम जनताको प्रतिनिधित्व गर्न सक्दैन । त्यति मात्र होइन, पुजीवादी प्रणालीमा नीतिलाई भन्दा ब्यक्तिलाई महत्व दिने आम मान्यता नै बन्दै आएको छ । त्यसले स्वाभाविक परिणाम सामुहिक नेतृत्व निर्माण गर्ने कुरालाई उपेक्षा गर्दछ र यो प्रणाली पनि आम जनताको पक्षमा नरहेको कुरा स्वत प्रष्ट छ । तेस्रो समाजवादी नेतृत्व प्रणाली भनेको सामुहिक नेतृत्व प्रणाली हो , यसले ब्यक्तिको स्वतन्त्रता भन्दा संस्थाको स्वतन्त्रतालाई माथी राख्दछ । त्यसका साथै जनताको निगरानीलाई समेत यसले महत्वका साथ आत्मसात गर्दछ । यस बिषयमा चर्चा गर्दै स्टालिन भन्नुहुन्छ “ हाम्रा अनुभव मात्र नेताहरुका अनुभवमात्र हाम्रा मामिलाहरुको निर्देशन गर्नका लागि यथेष्ट एकदमै छैनन् , सहि ढङ्गबाट निर्देशन दिनका लागि नेताहरूका अनुभवलाई आमपार्टी सदस्यहरुको अनुभवद्वारा मजदुरवर्गको अनुभवद्वारा श्रमिकहरुको अनुभवद्वारा परिपुर्ति गरिनु पर्दछ ।” यो भनाइको तात्पर्य हो कम्युनिस्ट पार्टीको नेतृत्वले आम पार्टी सदस्य र बहुसंख्यक जनताका अनुभवलाई लिएर मात्रै आफ्ना नीति सार्वजनिक गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसका साथै नेतृत्वको निर्माणमा पनि पार्टी सदस्यका साथै जनताले अनुमोदन गर्नु उपयुक्त मानिन्छ । नेतृत्वको निर्माण प्राबिधिक बिषय नभएर यो समग्र बिचारको केन्दिकरण पनि हो । बिचारबाट अलग प्राबिधिक रुपमा खोजिने नेतृत्वले वर्ग सघर्षको नेतृत्व गर्न सक्दैन । नेतृत्व भनेको ब्यक्ति बिशेष भन्दा पनि समग्र केन्द्रिय समिति नै हो । सामुहिक नेतृत्वको चर्चा गर्दै लेनिन भन्नुहुन्छ “म ठोकेर भन्छु कुनै पनि क्रान्तिकारी आन्दोलनको निरन्तरता कायम राख्ने नेताहरूको स्थायी संगठन बिना टिक्न सक्दैन ।” यो भनाइले स्पष्ट गर्दछ कि नेतृत्व ब्यक्ति बिशेष नभै समग्र टिम हो । तर अहिले लेनिनको उपरोक्त भनाइलाई तोडमोड गर्दै ब्यक्तिलाइ बिशेष महत्व दिएर सामुहिक नेतृत्वको महत्वलाई अवमूल्यन गर्ने प्रवृत्तिहरु कम्युनिस्ट आन्दोलनमा मौलाउँदै गएको देखिन्छ त्यो वास्तवमा सहि दृष्टिकोण होईन ।
पहिले आर सि पी अमेरिका र त्यसका नेता वभाकिनमा यस प्रकारको दृष्टिकोण देखिएको थियो र त्यो चिन्तनले कम्युनिस्ट आन्दोलनमा गम्भीर नकारात्मक असर परेको कुरा हामीले समिक्षा गरिसकेका छौ । त्यस प्रकारका चिन्तन र प्रवृत्ति विरुद्ध सघर्ष गर्दै आएका छौ । बुर्जुवा पार्टीहरुले नीतिलाई भन्दा ब्यक्तिको भुमिकालाई केन्द्रमा राखेर जसरी ब्यक्तिवादको स्तुति गर्दछन त्यो मान्यताका विरुद्ध बिकास भएको कम्युनिस्ट आन्दोलनमा समेत त्यस प्रकारका सोचाइ आउनु राम्रो कुरा होइन । निश्चय नै ब्यक्तिको भुमिका र क्षमता समान हुन्छन् भन्ने होइन तर जहाँ सामुहिकतालाइ भन्दा ब्यक्तिलाइ केन्द्र बनाइन्छ त्यसले सामुहिक नेतृत्वको बिकासमा अवरोध पैदा गर्दछ । त्यति मात्र होइन, त्यसप्रकारको दृष्टिकोणले संस्थाको भुमिकालाई नै कमजोर बनाउछ । अहिले नेपालमा आफुलाइ कम्युनिस्ट बताउने कतिपय अवसरवादी पार्टीहरुमा नीतिका आधारमा नेता बोल्ने होइन, नेता बोलेको आधरमा नै नीति बनाउने जुन प्रवृत्ति देखिएका छन त्यो पुजीवादी ब्यक्तिवादी प्रवृत्ति नै हो । त्यसले नेतृत्वको सामुहिकतालाई आविस्कार गर्दछ र पार्टी सङ्गठनलाई ब्यक्तिको अधिनस्त बनाउछ । तसर्थ, सामुहिक नेतृत्व निर्माणमा हमेसा जोड दिदै गलत चिन्तन र मान्यता विरुद्ध लगातार सघर्ष गरेर नै यो समस्यालाई हल गर्न सकिन्छ । कम्युनिस्ट पार्टीमा सामुहिक नेतृत्व सम्बन्धि बेग्लाबेग्लै समयमा चर्चा चल्दै आए पनि यसको कार्यान्वयनमा कैयौं समस्या देखिन्छन् । त्यसलाई जनवादी केन्द्रीयताको मान्यतामा नै समाधान खोज्नु पर्दछ । जनवादको प्रयोग र केन्द्रियताको कार्यान्वयनले ठिक समाधान दिने कुरामा त्यति बिवाद नहुनु पर्ने हो, तर त्यसलाई कार्यान्वयनमा देखिएका समस्यालाई कतिपयले यो सिद्धान्तमा नै खोट देख्न पुगेको पनि पाइन्छ त्यो सही दृष्टिकोण होइन । कम्युनिस्ट आन्दोलन आफैमा सामुहिकताको आधार भएकोले त्यसमा कार्यरत सदस्यहरुले ब्यक्तिगत महत्वाकांक्ष भन्दा माथी उठेर नै सामुहिक नेतृत्वको निर्माण गर्न सकिन्छ सक्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर