
यहाँ लेखकले गाेकुल जाेशीकाे अात्मालापकाे शैलीमा लेख्नुभएकाे गाेकुल जाेशी सम्बन्धी प्रकाशाेन्मुख कर्तिबाट पहिलाे अंश रािखएकाे छ । संपादक
मेरो नाम गोकुलप्रसाद पोखरेल । म तनहुँ राईपुरमा जन्मेको हुँ । परपरसम्म देखिने उछ्याइलो ररमाइलो राईपुरगाउँ । पारिलो ठाउँ पनि । मेरो प्यारो जन्मस्थान खोलाखेत।म अलि ठूलै भएपछिको कुरा ! मलाई पोखरेलभन्दा जोशी शब्द बढी मन पर्यो । त्यसपछि मैले आफ्नो नाम गोकुल जोशी लेख्न थालेँ ।

मेरा बाको नाम हरिलाल । आमाको नाम मनरूपा । १९७९ सालमा मेरा दाजु शिवलाल जन्मिनुभयो। १९८० सालमा दिदी हिरादेवी । त्यसपछि १९८७ साल जेठ ८ गते म जन्मेको हुँ । मपछि भाइ धर्मलाल जन्मे ।एक जना भाइ सानैमा बिते। मेरा दिदी बहिनी -हिरादेवी, गङ्गा, ललिता र वेदकुमारी ।चार दिदी बहिनी र चार भाइ । हाम्रो मामाघर चाहिँखुदीबाट अलि पर ओरेस्टे ।
मेरो गाउँ पूर्व फर्केको भिरालो पाखो । जाँचे ढुङ्गोभन्दा पूर्वपट्टि बाँसको झाङ नजिकैमेरो घर। सानो ठाउँ । चिटिक्क पारेर खरले छाएकोघुमाउने काठेघर । बाटुलो भएर माथितिर सानो हुँदै गएको छानो । एउटा ढोका । एउटा झ्याल ।आँगनबाटै टाढाटाढासम्म देख्न पाइने सुविधा ।ढोकाबाट निस्केर सोझै पूर्वपट्टि हेर्दा भुस्नपुर र थामडाँडा । स्यानी भन्ज्याङ र कालीकोट । दाहिने हातपट्टि सालडाँडा । मग्याम र खैरीकोट । बिरुवा र चिन्नेबास । देब्रे हाततिर ओडारे र पोखरी छाप । अझमाथिदेउराली र कोटडाँडो।
घरबाट निस्केपछि पश्चिम लाग्ने बाटो । देब्रे हाततिर बाटामुनि बाँसको झाङ । पन्ध्र-सोह्र पाइलापर जानेबित्तिकै पोखरी । पोखरीको डिलमा उभिएरघाम अस्ताउनेतिर हेर्दा खुदी । धनुबाँसे र घोप्टे । पाट्ने र किचनास । आँखा त सयौँ किलोमिटरसम्म सोझै जान सक्नेसुविधा । मनको पनि व्यायाम । आँखाको पनि व्यायाम ! जिउ यहीँ । मन र आँखा त कहाँ हो कहाँ !टाढा टाढासम्म डुल्दै डुल्दैघाम अस्ताउने ठाउँसम्म पनि।
चन्द्रकान्त र जीवनाथ मेरा साथी। उमेरले मभन्दा जेठा मणिरत्न । मभन्दा कान्छा भवानीशङ्कर पनि । हामी मन मिलेका साथी ।लौरेफट्टी खेल्थ्यौँ । चोर फड्के पनि । कातिकुती खेल्दा पनि रमाइलो । हामी आफू हाँस्थ्यौँ । अरूलाई पनि हँसाएर खोथ्यौँ । मेरो घरभन्दा माथि कोल हाल्ने चौर छ । कहिले कहिले हामी जम्मा हुने ठाउँ पनि यही हो । हामी यहाँ कुस्ती खेल्थ्यौँ ।साथी बलियो भए आफू पछारिने । आफू बलियो भए साथीलाई पछार्ने । अर्कालाई लडाउन सक्दा आफूलाई ठूलो काम गरे झैँलाग्ने । कहिले आफ्नो जिउमाथि चढेर साथी रमाउने । कहिले साथीको जिउमाथि चढेर आफू रमाउने ।जितुन्जेल त खुब रमाइलो! हारेपछि भने मनै दिक्क । म त रुँदैरुँदै घरतिर पो लाग्थेँ ।
गौँथलीले मुखमा माटो बोकेर ल्याउँथे । हाम्रै घरमा गुँड बनाउँथे । हाम्रो घरमा उनीहरूको घर । घरभित्र पनि घर । कस्तो अचम्म !भुरुरुर्र उड्ने । हावा काटेर आकाशमा पौडी खेल्ने ।कति जाँगरिला ! छरिता पनि उत्तिकै ! चिरचिर चिरचिर ! तिखो बोली । उडेर कहाँ कहाँसम्म पुग्दा हुन् ? के के गर्दा हुन् ? के के खाँदा हुन् ? को कोसँग भेटेर कुरा गर्दा हुन् ? मेरा मनभरि प्रश्नैप्रश्न । बारी र खोल्सीतिर कहिलेकाँही देखिने लाम्पुच्छ्रे । रूखका हाँगामा बस्थे । अरू चराका छोटा पुच्छर । यसको मात्रै किन लामो ? तर राम्रो लाग्ने । उड्दै गरेको बेला तबुट्टैबुट्टा देखिने । झन् राम्रो, हेरिरहुँ जस्तो । गिद्ध र चिल । कोकलेर कौवा । जुरेली र ढुक्कुर पनि । मेरै गाउँमा रमाउने चरा !
बर्खा लागेपछि लहलह घाँस । मुसेखरी र सालिम । उर्लुक र सिरु । हाम्रा गाईगोरुर भैँसीलाई आहारा । बाख्राको खानेकुरा पनि । हिउँद लागेपछि गाईवस्तुलाई काटेर ख्वाउने रूख घाँस । कुनै अग्ला र कुनै होचा । कुनै त ठिक्कका पनि । खनिउ र बडहर । बेडुलो र कुटमिरो । काभ्रो, पाखुरी र कोइराल पनि ।म त रूख चढ्न पनि सिपालु । बाङ्गो होस् कि सोझो । ठूलो होस् कि सानो । टुप्पामा पुग्थेँ । डालीहरू काटेर झार्थेँ । सानोसानो भारी बनाउँथेँ । बोकेर घर ल्याउँथेँ । गाईहरू घाँस देखेर दङ्ग पर्थे । म चाहिँ घाँस खुवाउन पाएर खुसी । सानो छँदा मैले गर्ने काम ।
मेरो गाउँ नजिकै वन । कहिलेकाहीँ बाघ गर्जिन्थ्यो । धेरै जसो रातीराती स्याल पनि कराउँथे। बाँदर धेरै आउँथे । बाली खाने र नाश गर्नेपनि । उज्यालो भएपछि बाँदर लखेट्न जानुपर्थ्यो । म कहिलेआमासित जान्थेँ । कहिले छिमेकीसित । कहिले त एक्लै पनि । बाँदर तर्छाउन टिन ठटाउँथेँ । कहिले ढुङ्गाले हान्थेँ । कहिले झटारो पनि हान्थेँ । कहिले लहैलहै भनेर कराउँथेँ । जे जे गरेर लखेटे पनि बाँदर त फेरि आइहाल्थे । दिनभरि नै हैरान ! घर फर्कँदा त लखतरान !
असोज लागेपछि हाम्रो घरभन्दा तल डम्म कुहिरो देखिन्थ्यो । बिहानभरि त पूरै पृथ्वीमा कपास ओछ्याए जस्तो । फाँट त कहाँ हो कहाँ ! माथिमाथि सम्म सेतै । कात्तिक अनि मङ्सिर । पुस र माघसम्म पनि एकनास । हजारौँ वर्ष उभिँदा उभिँदा थकाइ लागेर हिमाल आएर सुते जस्तो। यही माटोमाथि । यही आकाशमुनि । यही सेरोफेरोको माझ । मैले पहिलोपल्ट आँखा खोलेँ। यही हो, मलाई बिउँताउने रमाइलो खोलाखेत । प्रकृतिको बारी ! सुन्दरताको घारी । बाआमाले मलाई आविष्कार गरेको ठाउँ । मेरो जन्मभूमि !