दाङ । चौतर्फी दबाबपछि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले रिहा गरेको छ । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।
यसअघि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा बहुमतका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न माग गरेका थिए । नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।
सो पार्टीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ ।