मानव सभ्यताको इतिहास खोज्दै जाँदा पौराणीक कालिन वा वैदिककालिन समाजसम्म अध्ययनको क्षेत्र बनेको छ । धर्मलाई त्यस कालमा सामाजिक सभ्यताको रूपमा बुझिएको हो । धर्म वा धार्मिक परम्परा कायम राख्न विचार दर्शनले खास काम गरेको छ । ईश्वरीय सत्ताको अस्तित्व र ईश्वरीय देन माथी विश्वास दिलाउने काम आध्यात्मिक दर्शन वा चिन्तनले ग¥यो र त्यसलाई स्थापित गराउन शासक वर्गको मुख्य भूमिका रह्यो । जबजब मानिसमा ज्ञान चेतनाको विकाश हुँदै आयो विज्ञानको माध्यमबाट सत्य तथ्यको खोजि हुन थाल्यो । हरेक वस्तु घटनालाई विज्ञानसँग जोडेर बुझ्न थालेपछि भौतिक ज्ञानको प्रादुर्भाव भएको हो । तर हाम्रो समाज यो युगसम्म आउँदा धार्मिक अन्धविश्वासमा रुमल्लिएको छ ।

धर्मलाई कसैले मोक्षको साधन माने कसैले अफिम । अहिलेको नेपालको संविधानले धर्मलाई ऐच्छिक मान्यो तर धर्मको आडमा आफूलाई उभ्याउँदै आएका एकथरी धर्मभिरुहरू भने सिंङगो मुलुक नै धार्मिक राज्य हुनुपर्दछ भन्ने मान्यतामा छन् । यो मान्यता भित्रका कतिपय पात्रहरू सनातन धार्मिक मतमा छन् । धर्ममा सानो ठूलो नहुनु पथ्र्यो तर हुन्छ किन । धर्ममा सेवा भाव हुनु पर्दछ तर यसैलाई कमाउको विषय बनाइन्छ किन ?

हार्दिक शुभकामना !

एकछिन घोत्लिन्छु । मान्छेले ईश्वरको आविष्कार कहिले ग¥यो । ईश्वरको उपासना, आरधना गरेर ठोसमा के पायो । कुनै पुरोहित पुजारी वा साधु सन्तले प्रमाण पु¥याउन सक्दैनन् । धर्म एउटा साँस्कृतिक परम्परा हो । समाज विकाशको क्रममा कतिपय प्राकृतिक परिवर्तनलाई मान्छेले गहिरोसित बुझ्न नसक्दा र कुनै काल्पनीक शक्तिको कल्पना गर्दा ईश्वरको आविष्कार ग¥यो त्यसैको आडमा पूजा पाठ स्तुतिका साधनहरू विकाश भए र धर्मको स्वरूप बन्यो तर यही धर्म भित्र विभेदको मान्यता झ्याङ्गिदै आयो र अहिलेसम्म पनि कायम छ ।

विभेदको श्रृङ्खला परिवार भित्रबाटै शुरु भएको छ । परिवारमा घरमूलिसित श्रीमती छोरा छोरी बुहारी नाति नातिनीहरू हुन्छन् । परिवारमा पहिलो विभेद लिङ्गको आधारमा हुन्छ । परिवारमा छोरो अंशको हकदार हुन्छ उसको जन्म हुर्काइ बढाइ पढाइ छोरीको दाँजोमा विशेष हुन्छ हामीले देखेका छौं ५–७ छोरी जन्मदा पनि छोराको चाहनामा दोश्रो विहे गर्ने वावुहरू कयौं थिए । हाम्रो साँस्कृतिक वा धार्मिक मान्यतामा अपुत्रस्य गतिम नास्ति वा छोरो भनेको भविष्यको पिण्ड पानिको आधार हो । स्वर्ग नैवच नैवच अर्थात् मृत्यु पछि स्वर्गको वासको कल्पना हो भन्ने भ्रम पालिएको छ ।

हाम्रा धार्मिक भाष्य, पूराण वा कथाहरूमा यस्ता उक्तिसुक्ति प्रशस्त पाइन्छन् । सोझो भाषामा भन्दा धर्मले दया, करुणा परउपकार र विश्ववन्धुत्वको मान्यता राख्छ भनिन्छ तर यदि यसो हो भने विभेद किन हुन्छ र धर्मको आडमा कमाउ धन्दा किन फस्टाउछ । धर्मका कट्टर अनुयायिहरूमा राग द्वेष र अभिमान किन हुन्छ ।

हामीले सुनेका छौं खवरहरू पढेका छौं धर्मका नाममा भडकिएका हिंसाले घर परिवार विहीन मानव समुदाय पनि देखेका छौं । धर्मका निहुँमा मन्दिर, चर्च, गुम्बा वा मस्जिदको विषयलाई लिएर चर्को वैरत्व पनि देखिएको छ । साङ्ख्यकीलाई आधार मानेर अल्पसाङ्ख्यकीहरू माथी गरिने विभेद मानव सभ्यतामा कलङ्कित छन् । एउटै धर्म भित्र हुने वेमत पनि वैरत्वको कारण बनेको हुन्छ । वैष्णव वा शैव, महायानी– हीनायानी क्याथोलिकी र प्रोटोटस यि परस्पर विरोधी मत हुन् ।

धार्मिक सम्प्रदायिकता हेरेर मन्दिर, मठ, गुम्बा वा चर्च निर्माण गरिएको हुन्छ । त्यस्तो सम्पदाभित्र मानवीय मूल्यको सम्मान हुनु पर्दछ तर त्यस्तो पाइँदैन । हिन्दु धर्मका नाउँमा थुप्रै शक्तिपीठ र देव देवीका नाममा मन्दिर निर्माण गरिएका छन् । यस्ता स्थलहरूमा खास खास पर्व मानेर धार्मिक मेला लाग्छन् । यही मेलालाई वहाना बनाएर व्यविचार, ठगी चोरी वा नाफाखोरी मौलाइ रहेको छ । दिनमा लाग्ने मेला पर्वको तुलनामा राति लाग्ने मेला पातमा धेरै अपराधिक गतिविधिहरू सञ्चालन हुन्छन् । पूज्य मानिएका शक्तिपीठमा चलेको मेलाहरूमा कयौं महिलाहरूको अस्मिता लुटिएको हुन्छ । मन्दिर वा शक्ति पीठलाई आधारमानेर गरिने वन्द व्यापार होस् वा धर्मको नाउँमा हुने अन्ध विश्वासको परिणाम यस्तै देव देवीको मन्दिर आसपास हुन्छ । पूजा अर्चनामा भक्तहरूद्वारा चढाइएको भेटी वा दान चन्दा जस्ता नगद वस्तुको अपचलन हुने वा पुजारी र सञ्चालकले आफू खुसी कब्जा गर्ने घटना पनि सार्वजनिक भएका छन् ।

नेपाली हिन्दु धार्मिक मान्यतामा पुरुषको दाँजोमा महिलाहरू बढी अशक्त हुन्छन् । तर उनीहरू माथि नै दुव्र्यवहार भइरहेको छ । कतिपय महिलाहरूले जान्दा–जान्दै र कतिपय अन्धविश्वासको कारणले अन्यायमा परिरहेछन् । धार्मिक गूरु वा पण्डित पुरोहितका प्रवचनहरू महिला सौन्दर्य लक्षित हुने र आफ्नो प्रशंसामा आँफै भुक्किेने कारणबाट महिला लक्षित शोषण दोहन मौलाएको हुन्छ । महिलाहरू अधिकांशमा गरगहना प्रदर्शन र श्रृङ्गार मोह हुन्छ । यसकारण पनि लुटपाट र व्यभिचारको शिकारमा उनीहरू पर्दछन् ।

मन्दिर धाउनु, पूजा गर्नु धर्म हो या संस्कृति यस विषयमा छुट्टै वहस हुनु वाञ्छनीय हुन्छ तर पूजा पाठ र व्रत उपासना वा दान दक्षिणा सबै सोलोडोलो धार्मिक गतिविधि भित्र पार्ने गरिएको छ । धर्मसित अभिन्न रूपमा संस्कृति जोडिएको छ । मन्दिर धाउनु पूजा पाठ गर्नु धार्मिक संस्कृति मानिन्छ तर यस कार्यको निशिचत सीमा र घेरा तयार गरिएको छ । हिन्दु संस्कृतिसित जात व्यवस्था जोडिएको छ । धर्मका नाममा निर्माण गरिएका देव मन्दिरहरूमा जात हेरेर प्रवेश निषेध गरिएको हुन्छ । यो प्रथा सबै भन्दा डरलाग्दो मानवीय शून्यताको चेत हो । जात प्रथाले दलित भनिएका मानव माथि यस्तो विभेद गरिनु धर्म वा संस्कारको कुरूप चित्र हुन् यस्तो विभेद जरादेखि नै उखेल्नु पर्दछ ।

नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राज्यको व्यवस्था गरे पनि एकाथरी धर्मभिरहरू हिन्दु राज्यको मागदावी प्रस्तुत गरी रहेछन् भने एकथरी अवसरवादी वाइवल र पैसाको विटो वोकेर इशाइकरणको अभियानमा उदृत छन् । यिनीहरू कथित हिन्दुवादको विभेदलाइ आधार मानेर र गरिबीको फाइदा उठाउँदै वस्ति–वस्तिमा चर्चहरूको निर्माण गरिरहेछन् । यी दुवै अतिलाई राज्यले नियन्त्रण गर्नु पर्दछ तर सारमा त्यस्तो देखिंदैन । आफूलाई खाँटी भौतिकवादी मान्ने र कम्युनिष्ट नैतिकताको वखान गर्नेहरू नै धार्मिक भ्रममा जनता झुक्याइ रहेछन् । यस्ता गतिविधिहरूले धार्मिक अन्धतालाई मलजल गरिरहेछ । एकातिर शासकहरू शक्तिको ढोङ फुकिरहेछन् । अर्कोतिर शक्तिको आडमा पूराना मठमन्दिरका गजुर, मुर्ति वा पुरातात्विक वस्तुहरूको चोरी तस्करी गरिरहेछन् । विडम्वना कस्तो छ भने देव मानेको मूर्ति चोरी गर्ने बिक्री गर्ने खुल्ला भएर हिंडिरहेछ गर्जी रहेछ उता बुढो भएको गोरु कुनै जाति विशेषले भक्ष्य ग¥यो भने मुद्धा खेपिरहेको वा जेलको छिँडी कुरीरहेको हुन्छ । यस्तो घटनामा संविधान चुपचाप कुँजिन्छ ।

हामी विज्ञानको युगमा विचरण गरिरहेछौं धर्म वा संस्कृति÷संस्कारसित जोडिएका विज्ञान सम्मत विधिको संरक्षण, अनुसरण गर्दै अवैज्ञानिक विभेदपूर्ण मान्यताहरू खारेज गर्नतर्फ हामी सबैले आ–आफ्नो तहबाट थालनी गर्नुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर