
काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजनको डिलमा पुगेको छ । महासचिव विप्लव पक्षधर नेताहरूले स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता गरेकै साँझ अर्को धारका नेताहरूले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।
स्थानीय तहको चुनाव उपयोग गर्ने महासचिव विप्लवको कार्यनीतिको विपक्षमा उभिएका नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला कञ्चन उम्मेदवार फिर्ता गराउने पक्षमा उभिएका छन् । बास्तोलाले १३ वैशाखको बिहानै विज्ञप्ति जारी गरेर अनुशासन मान्ने नेता कार्यकर्तालाई पार्टीको निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

पार्टीभित्र विवाद छ भन्ने सन्देश प्रवाहको औपचारिकताका लागि उक्त विज्ञप्ति निकालिएको हो । पार्टीको निर्णयविपरीत उम्मेदवारी दर्ता भएकोले फिर्ता लिन आग्रह गरिएको बताइएको छ ।
स्थानीय तह चुनाव उपयोग गर्ने बारेमा नेकपाभित्र चर्को विवाद भएको थियो । त्यही विवादका कारण बीचको बाटो निकालेर सहमति गरिएको थियो । नेकपाको सचिवालय सदस्य हेमन्तप्रकाश वलीका अनुसार केन्द्रीय सदस्य र जिल्ला कमिटीका पदाधिकारी तथा सचिवालयका सदस्यहरूले चुनावमा सहभागी नहुने निर्णय गरेका थिए ।
तल्लो कमिटीका सदस्यहरू उम्मेदवार हुने अवस्थामा पार्टीबाट राजीनामा दिने पनि सहमति भएको थियो । तर, नेकपाका ४ जना केन्द्रीय सदस्य नै चुनावी मैदानमा उत्रिएका छन् ।
केन्द्रीय सदस्य तथा धादिङ इञ्चार्ज चुडामणि वलीले रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् भने अर्का केन्द्रीय सदस्य भेषराज भुसालले कपिलवस्तुको शिवराज नगरपालिकबाट उम्मेदवारी दर्ता गरेका छन् । यो नगरपालिका महासचिव विप्लवको गृहनगर हो । त्यसैगरी, कालिकोटमा पनि एटम बीसी र धिरेन्द्र उपाध्यक्ष गरी दुई जना केन्द्रीय सदस्यले पालिका प्रमुखमा उम्मेदवारी दिएका छन् ।