काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंको बसन्तपुर र कोटेश्वरमा निर्वाचन बहिस्कार–सभा भव्य रुपमा सम्पन्न गरेको छ । क्रान्तिकारी माओवादीको पश्चिम महानगरपालिका कमिटिको आयोजनामा बसन्तपुर डबलीमा गरिएको निर्वाचन बहिस्कार सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम सिताराम तामाङ, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शारदा महत, केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्याल, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष गोर्की श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

निर्वाचन बहिस्कार सभामा सयौंको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो । यहाँको बहिस्कार सभाको सञ्चालन दिनेश बर्तौंलाले गर्नुभएको थियो ।

त्यसैगरी आइतबारै पार्टीको पूर्वी महानगर कमिटिको आयोजनामा कोटेश्वरमा गरिएको निर्वाचन बहिस्कार सभालाई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शारदा महत, केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्यालले सम्बोधन गर्नुभएको थियो । सभाको सञ्चालन सपनाले गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै वक्ताहरुले संसदीय व्यवस्था पूर्णरुपमा असफल भइसकेको र यो व्यवस्थाले जनघात र राष्ट्रघात भन्दा बाहेक देश र जनताको हितमा कुनै काम गर्ने हैसियत नराख्ने हुनाले यो व्यवस्था अन्तर्गत गरिने चुनावको कुनै औचित्य नरहेकोले क्रान्तिकारी माओवादीले सशक्त रुपमा बहिस्कार गरेको बताउनु भयो । भ्रष्टाचारी नेता जन्माउने चुनावलाई सशक्त रुपमा बहिस्कार गर्न आम जनसमुदायलाई उहाँहरुले आव्हान गर्नुभयो ।































