काठमाडौं । एमसीसी सम्झौताको खारेजीका लागि ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले आव्हान गरेको नेपाल बन्द शक्तिशाली र जुझारु हुने आयोजकहरुले बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपाका महासचिव विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुति र नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीको संयुक्त हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा समेत नेपाल बन्द शक्तिशाली र जुझारु हुने उल्लेख गरिएको छ ।


जारी वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी सम्झौताका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी संघर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा पेश गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौं ।”

वक्तव्यमा नेपाल बन्दको कार्यक्रमलाई भव्य रुपमा सफल पारी एमसीसी पारित गर्ने देउवा सरकारको गुरुयोजनालाई निस्तेज पार्न देशका कम्युनिस्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरु, देशभक्त शक्तिहरु, मजदुर, किसान, मध्यम वर्ग, राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजीबी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी जनतामा हार्दिक आव्हान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर