काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी), र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा भोलि फाल्गुन ४ गते बुधबार देशैभर एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस र सभा हुँदैछ ।
काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध जुलुस प्रदर्शन गर्ने र संसद भवन अगाडि विरोधसभा गर्ने तयारी गरिएको छ । काठमाडौंको विरोध जुलुस र सभालाई आयोजक पार्टी र मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ । विरोध जुलुस प्रदर्शन १२ बजेबाट सुरु हुने जनाइएको छ ।
सत्तारुढ गठबन्धनले भोलि नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि ६ पार्टी र २ मोर्चाले त्यसको विरोधमा जुलुस प्रदर्शन र विरोधसभाको आयोजना गरेका हुन् । एमसीसीको खारेजीको पक्षमा रहेका अन्य पार्टी र समूहहरुले पनि विरोध प्रदर्शनको तयारी गरेको बुझिएको छ ।
६ कम्युनिस्ट पार्टी र २ मोर्चाले हालै जारी गरेको वक्तव्यमा भनिएको छ, “एमसीसी कम्प्याक्टका विरुद्ध नेपाली जनताको देशव्यापी खारेज आन्दोलन चल्दाचल्दै पनि देउवा सरकारले अमेरिकी मालिकको खातिरदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट एमसीसी पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरिराखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरुद्ध आगामी फागुन ४ गते पारित गर्ने षड्यन्त्रलाई चक्नाचुर पार्न हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चा घोषित संघर्षको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रुपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतामा सक्रिय सहभागिताको लागि विशेष आव्हान गर्दछौं ।”
नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसी खारेजीकै संघर्षको क्रममा फागुन १ गते साँझ काठमाडौं उपत्यका लगायत जिल्ला जिल्लामा समेत मशाल जुलुस र विरोध कार्यक्रमहरु सम्पन्न गरेको थियो । काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दुताबास, नयाँ बानेश्वर स्थित संसद भवन र ललितपुरको हरिहरभवन स्थित मन्त्रिक्वार्टर अगाडि मशाल जुलुस प्रदर्शन गर्दा अमेरिकी दुताबास अगाडिबाट पार्टीका पीवीएम नेता दिनेश शर्मा सागर, केसहरु ईश्वर तिमिल्सिना, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी लगायत १९ जना र मन्त्रीक्वार्टर अगाडिबाट केस कृष्णभक्त महर्जन, अमीर महर्जन लगायत ९ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका नेताहरुलाई व्यापक दबाबपछि भोलिपल्ट विहान मात्र छाडिएको थियो ।
त्यसैगरी उपत्यका बाहिर पनि चितवन, रामेछाप लगायतका जिल्लाहरुमा पनि मशाल जुलुस प्रदर्शन गरिएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी)ले फागुन १ गतेको जनयुद्ध दिवस देशैभर राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संघर्षको रुपमा मनाएको थियो ।