आमुख
नेपाल अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक अवस्थामा रहेको एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश हो । नेपाली जनता सामन्तवाद, साम्राज्यवाद र विस्तारवादबाट उत्पीडित रहिआएका छन् । नेपाली समाज ऐतिहासिक रुपले विकसित वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय तथा जातव्यवस्थामा आधारित अनेकौं अन्तर्विरोधहरुमा जेलिएको छ । नेपाली जातीय मुक्ति आन्दोलन पनि यसै प्रकारका अन्तर्विरोधहरु अन्तर्गत पर्दछ । नेवार जातिको उत्पीडन र मुक्तिको प्रश्न पनि यहीं जोडिएको छ । प्रस्तुत लेखमा माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा जातीय मुक्ति आन्दोलनबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
दार्शनिक मान्यता
माक्र्सवादी विश्वदृष्टिकोण भनेको द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । यसले सर्वहारावर्ग एवम् उत्पीडित जनसमुदायको मुक्ति एवम. हकहितको पक्षपोषण गर्दछ । द्वन्द्वात्मक भौतिकवादले जातीय मुक्तिआन्दोलनलाई सम्बन्धित युग, समाज तथा देश विशेषको विशिष्ट स्थिति र सामाजिक तथा आर्थिक पक्षको समग्रतामा हेर्दछ । यसले सबैखाले अधिभूतवाद र अमूर्तताका विरुद्ध ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा जातीय मुक्तिआनदोलनको अध्ययन गर्दछ । जातीय मुक्तिआन्दोलनको वास्तविक अध्ययन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताका आधारमा गर्न सकिन्छ ।
ऐतिहासिक भौतिकवादका अनुसार जातिको विकासको लामो ऐतिहासिक प्रक्रिया र पृष्ठभूमि रहेको छ । यसलाई हामीले निश्चित समाजको उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको अन्तर्विरोधको विकासको प्रक्रियामा बुझ्नुपर्दछ । मानवजातिको विकास आफ्ना आवश्यकताहरुको परिपूर्तिका लागि सम्पन्न गरिने श्रमकार्यका बीचबाट भएको हो । मानवसमुदायको ऐतिहासिक विकासको प्रक्रियामा सामाजिक ऐक्यबद्धताका विभिन्न रुपहरु देखापरेका छन्, ती हुन्–गोत्र, कबिला, जनजाति र जाति ।
गोत्र रक्तसम्बन्धमा आधारित हुन्छ । यसलाई वंशगत एक्यता पनि भनिन्छ । मानवजातिको इतिहासमा मातृसत्ता र पितृसत्तामा आधारित दुई प्रकारका गोत्रव्यवस्था रहेका छन् । विभिन्न गोत्रहरुको संयोजनबाट कबिलाको निर्माण हुन्छ र कबिलालाई गणजाति पनि भन्ने गरिन्छ । कबिलामा वंशगत ऐक्यताका साथै भाषा र भूगोलको ऐक्यता पनि रहेको हुन्छ । जनजाति समुदाय भनेको कबिलाभन्दा माथिको र जातिभन्दा तलको समुदाय हो । जनजाति समुदाय वंशगत रक्तसम्बन्धमा कम र भूगोल, भाषा एवम् संस्कृतिमा बढी आधारित हुन्छ । जाति मानिसहरुको ऐक्यताको विकसित रुप हो । जातिलाई अर्को शब्दमा राष्ट्र पनि भनिन्छ । जाति भनेको साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र साझा साँस्कृतिक मनोविज्ञानमा आधारित स्थिर मानवसमुदाय हो ।
जाति पुँजीवादी–जनवादी युगको ऐतिहासिक अवधारणा हो । जातिसम्बन्धी अवधारणाको विकास पश्चिममा सामन्तवादको अन्त र पुँजीवादको उदयको प्रक्रियामा भएको हो । यो जातीय मुक्ति र आत्मनिर्णयको अधिकारको प्रश्नजँग जोडिएको छ । लेनिनले जातीय आत्मनिर्णयको अधिकारबारे उल्लेख गर्दा तीन प्रकारका देशहरुको चर्चा गर्नुभएको छ । पहिलो श्रेणीमा जातीय राज्यहरुको विकास भएका देशहरु पर्दछन् । पश्चिमी यूरोपका इङ्गल्याण्ड, फ्रान्स, जर्मनी, इटली जस्ता राज्यहरु यसै प्रक्रियामा विकसित भएका हुन् । जहाँ सामन्तवाद बढी कमजोर र पुँजीवाद बढी मजबूत छ । ती देशहरुमा यस ढङ्गका राष्ट्रिय राज्यहरु विकसित भएका देखिन्छन् । दोस्रो श्रेणीमा ती देश पर्दछन् जहाँ बहुजातीय राज्यहरुको निर्माण भएको छ । रुस यही विशेषता भएको राज्य हो । जहाँ सामन्दवाद बढी मजबूत र पुँजीवाद कमजोर छ, त्यहाँ यस्तै भएको पाइन्छ ।
पुँजीवादले साम्राज्यवादको रुप लिएको, साम्राज्यवादद्वारा सामन्तवादी अवस्थामा रहेका अविकसित देशहरुमा उत्पीडनको प्रक्रिया अगाडि बढाइएको र ती देशहरुमा पुँजीवादको स्वाभाविक विकासको मार्ग अवरुद्ध भएको वर्तमान साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगमा जातीय मुक्तिआन्दोलन एसिया, अफ्रिका र दक्षिण अमेरिकाका अविकसित देशहरुमा संकेन्द्रित बन्न पुगेको छ । यस प्रकारका देशहरुमा सपन्न पहिलो जातीय मुक्ति आन्दोलनको कार्यभार दोहोरो बन्न गएको छ । यस प्रकारको दोहोरो कार्यभार भनेको आन्तरिक रुपमा सामन्तवादी उत्पीडक… र बाह्यरुपमा साम्राज्यवादको विरुद्ध जातीय मुक्ति आन्दोलन सम्पन्न गर्नु हो ।
भौतिकवादी द्वन्द्ववादको विशेषता दुनियाँ बुझ्नु र बदल्नु हो । यसलाई अर्को शब्दमा अन्तर्विरोधहरुको यही पहिचान गर्नु र तिनको सही समाधान गर्नु हो । हरेक प्रकारका उत्पीडित र उत्पीडक जातिहरुका बीच विद्यमान अन्तरविरोधको समाधान आत्मनिर्णयको अधिकार प्रदान गरेर हुन सक्दछ र यसको प्रयोग विभिन्न देशमा विभिन्न ढङ्गले हुने गर्दछ । यो जातीय एकीकरणका रुपमा समाजवादी आन्दोलन र विश्वव्यवस्थाको दिशातर्फ परिलक्षित रहेको छ ।
राजनीतिक कार्यदिशा
माक्सवादले के मान्दछ भने क्रान्तिका लागि क्रान्तिकारी राजनीतिक कार्यदिशाको आवश्यकता पर्दछ र यस प्रकारको कार्यदिशाको निर्धारण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्ेषणका आधारमा नै हुन्छ ।
पुँजीवादको प्रारम्भिक विकासको प्रक्रियामा सामन्तवादका विरुद्धको सङ्घर्षमा जातीय मुक्तिआन्दोलनको नेतृत्व पुँजीपतिले गरेको थियो । परन्तु, अब पुँजीवादले साम्राज्यवादको रुप लिएको र वर्तमान युगको क्रान्तिको नेता सर्वहारा वर्ग बन्न गएको स्थितिमा जातीय मुक्ति आन्दोलनको नेता पुँजीपतिवर्ग बन्न सक्दैन ।
आजको युग साम्राज्यवादी भूमण्डलीकरणको युग हो । आजको युगमा जातीय मुक्ति आन्दोलनको सफलताका लागि आफूलाई सर्वश्रेष्ठ र सर्वोत्कृष्ट ठान्दै बाँकी संसारलाई हेप्ने भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्न अनिवार्य भएको छ ।
जातीय आन्दोलन विशुद्ध जातीय आन्दोलन होइन, यो वर्गीय आन्दोलनको मातहतमा सञ्चालित हुन्छ । हरेक जातीय आन्दोलनको विशिष्ट जातीय स्वत्व अवश्य हुन्छ, परन्तु त्यो वर्तमान युगमा सर्वहाराको नेतृत्वमा सम्पन्न गरिने क्रान्ति अर्थात् नयाँ जनवादी तथा समाजवादी क्रान्तिको एक अभिन्न अङ्ग बनेको छ । त्यसैले, जातीय आन्दोलन र वर्गीय आन्दोलन बीचको एकता आजको अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न गएको छ ।
जुन मानवसमुदायहरुलाई हामीले जातिका रुपमा ग्रहण गर्दछौं ती जातिहरुले आत्मनिर्णयको अधिकार प्राप्त गर्नुपर्दछ र सिद्धान्ततः ती अलग राज्यको रुपमा पनि रहन सक्दछन् । परन्तु हामीले जातीय समस्याको समाधान ठोस परिस्थितिको ठोस अध्ययनका आधारमा गर्नुपर्दछ । जातीय मुक्ति र आत्मनिर्णयको अधिकारको प्रयोगका सन्दर्भमा दुई कुराहरु ध्यान दिन योग्य छन् । पहिलो, जातीय मुक्ति वा आत्मनिर्णयको अधिकारको प्रयोगका लागि, साझा भाषा, भूगोल आर्थिक जीवन र साँस्कृतिक मनोविज्ञानमा आधारित स्थिर मानवसमुदायको अस्तित्व अनिवार्य रुपमा आवश्यक हुन्छ । परन्तु त्यसो हुनु मात्र पर्याप्त हुँदैन । त्यसका लागि त्यसप्रकारको जातीय मुक्ति आन्दोलन समाजवादी क्रान्तिको अङ्गका रुपमा विकसित भइरहेको छ वा साम्राज्यवाद अन्तर्गत भन्ने कुरालाई राम्रोसँग प्रष्ट्याउनु पर्दछ । साम्राज्यवाद अन्तर्गत जातीय मुक्ति वा आत्मनिर्णयको अधिकारको प्रयोग असम्भव छ । दोस्रो, आत्मनिर्णयको अधिकारको प्रयोग निरपेक्ष रुपमा अलग राज्यको स्थापना भन्ने होइन , यसको असली अर्थ सबै जातिहरु अधिकार सम्पन्न हुने र समाजवाद अन्तर्गत एकीकृत भएर रहने नै हो । यहाँ हामीले के बुझ्न जरुरी छ भने आत्मनिर्णयको अधिकारको पारपाचुकेको अधिकार प्राप्त गरेको स्थितिमा महिलाहरुले लोग्नेहरुलाई छोड्दै हिँड्नुपर्छ भनेको होइन । ठीक यही कुरा अलग राज्य स्थापनाबारे पनि लागु हुन्छ ।
महान् लेनिनले जातीय मुक्तिका लागि जातीय आत्मनिर्णयको अधिकार अर्थात् अलग राज्य बनाउन पाउने अधिकार आवश्यक हुने कुरा बताउनुभयो । तदनुसार सोभियत समाजवादी राज्यसत्ताको निर्माणको प्रकृयामा सबै उत्पीडित जातिहरुले त्यो अधिकार प्राप्त गरे, परन्तु ती अलग भएनन् । आत्मनिर्णयको अधिकारको प्रयोगबारे सोभियत रुसलाई हामीले आदर्शका रुपमा लिनुपर्दछ ।
नेपाली सन्दर्भ
नेपाली समाजको ऐतिहासिक विकास प्रक्रियामाथि ध्यान दिँदा यहाँ मानवसमुदायको ऐक्यताका गोत्र, कबिला, जनजाति, जाति जस्ता सबै रुप पाइन्छन् । पश्चिममा सामन्तवादको अन्त्य र पुँजीवादका उदयको प्रक्रियासँगै जुन राष्ट्रिय राज्यहरुको विकास भयो नेपालमा त्यो पाइन्न । नेपाली समाजको ऐतिहासिक विकास प्रक्रिया आर्थिक, राजनीतिक र साँस्कृतिक रुपले असमान रुपमा रहिआएको र यहाँ सामन्तवादको अन्त नहुँदै साम्राज्यवादको घुसपैठ भएको हुँदा नेपालको जातीय मुक्ति आन्दोलनको प्रश्नलाई भिन्न अर्थमा ग्रहण गर्नुपर्दछ । नेपालमा यो समस्या अर्ध–औपनिवेशिक मुलुकमा रहेका देशहरुसँग बढी वा मूल रुपमा मेल खान्छ ।
नेपालमा उत्पीडित जाति–जनजातिका रुपमा रहिआएका नेवार, तामाङ, मगर, गुरुङ्ग, खम्बु, लिम्बु, थारुलगायतका मानव समुदाय मुक्तिका लागि लामो समयदेखि सङ्घर्ष सामन्तवाद र साम्राज्यवाद दुवैका विरुद्ध परिलक्षित रहेको छ । नेपाली समाजको ऐतिहासिक विकास प्रकृयामा मूलतः दुई प्रकारका अन्तर्विरोधहरु पाइन्छन्, ती हुन (१) सामन्त र जनसमुदायका बीचको अन्तर्विरोध तथा (२) नेपाल र वैदेशिक प्रतिक्रियावाद बीचको अन्तर्विरोध । जहाँसम्म उत्पीडक र उत्पीडित जातिहरुका बीचको अन्तर्विरोधको प्रश्न हो, त्यो सामन्ती–खस ब्राह्मणवादी उच्च जातीय अहङ्कारबाद र उत्पीडित जातिका बीचको अन्तर्विरोधका रुपमा अभिव्यक्त भएको छ । यसप्रकारको अन्तर्विरोध सामन्तवाद र साम्राज्यवाद वा विस्तारवाद दुवैपक्षसँग जेलिएको छ ।
हाम्रो देशमा विद्यमान उत्पीडक र उत्पीडित जातिका बीचको अन्तर्विरोधको समाधानका लागि नेकपा –क्रान्तिकारी माओवादी)३द्वारा आत्मनिर्णयको अधिकारको स्वीकृतिसहित जातीय स्वायत्त शासनको मान्यता प्रस्तुत हुँदै आएको छ र यो माक्र्सवादसम्मत रहेको छ ।
नेपालमा राष्ट्रिय स्वाधीनताको रक्षा, जन४गणतन्त्रको स्थापना, नयाँ आधारमा नयाँ ढङ्गले राज्यको पुनःसंरचना, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय तथा जातव्यवस्थामा आधारित समस्याहरुको समाधान आदि विषयमा विभिन्न तहका जनसमुदाय र जनवर्गबीच सचेत र सङ्घर्षरत बन्ने काममा ऐक्यबद्धता कायम रहिआएको छ । यो कुराको पुष्टि महान् जनयुद्धको प्रकृयामा शानदार रुपमा भएको छ ।
नेवार समुदाय
नेवार समुदाय नेपालको आदिवासी मानवसमुदाय हो । प्राचीय नेपालमा क्रमशः गोपाल, महिषपाल र किराँत समुदायको अवस्थिति रहेको उल्लेख हुँदै आए पनि गोपाल र महिषपाल समुदायको अस्तित्वबारे ठोस प्रमाण पाइँदैन । प्राचीन नेपालमा किराँतको अवस्थिति मूलतः प्रमाणित नै देखिन्छ र नेवार समुदायलाई किरातसमुदायसँग जोड्ने गरिएको छ । नेपालको नामाङ्कनको सन्दर्भ पत्ता लगाउने प्रकृयामा विभिन्न प्रकारका मतभेद प्रकट हुँदै आए पनि किराँत समुदाय अन्तर्गतको नेपार वा नेवारबाट नेपाल शब्दको उत्पत्ति भएको भन्ने कुरा बढी तथ्यसङ्गत देखिन्छ । त्यसैले नेपाल र नेवार शब्दका बीच घनिष्ट सम्बन्ध रहन गएको छ ।
प्रारम्भदेखि लिच्छविकाल हुँदै विभिन्न समयमा उत्तर र दक्षिणतिरबाट प्रदेश गरेका मङ्गोल, आग्ने र आर्य प्रजातिका समुदायसँगका पारस्परिक सम्बन्ध र अन्तर्घुलनका बीचबाट नेवार समुदाय विकसित हुँदै आएको बुझिन्छ र यसमा मङ्गोल समुदायको अधिकता रहेको पाइन्छ । यो प्रक्रियामा नेवार समुदाय गोत्रबाट कबिला र कबिलाबाट जनजातिमा विकसित हुँदै आएको छ । काठमाडौं उपत्यकामा समुन्नत सभ्यता र संस्कृतिको निर्माण तथा विकास गर्ने काममा नेवार समुदायले प्रमुख भूमिका निर्वाह गरेको छ । यो उपत्यकाले कला र संस्कृतिको क्षेत्रमा विविधता र मौलिकता प्रस्तुत गरी विश्वलाई नै विमुग्ध तुल्याउँदै आएको कुरा सुस्पष्ट छ । यसै प्रक्रियामा साझा भाषा, भूगोल, आर्थिक जीवन र साँस्कृतिक मनोविज्ञानका आधारमा नेवार समुदायले आफ्नो जातीय पहिचान स्थापित गर्दै आएको छ ।
परन्तु, यस सिंगो प्रकृयामा लिच्छवीकालदेखि शुरु भै पृथ्वीनारायण कालसम्म आउँदा वर्ण व्यवस्थामा आधारित जातवादी मान्यतालाई चरम रुप दिने र राजनीतिक, आर्थिक तथा साँस्कृतिक रुपमा अतिक्रमण गर्ने काम भए । फलतः नेवार समुदायको जाति वा राष्ट्रको रुपमा हुँदै गइरहेको विकासमा गंभीर प्रकारको अवरोध पैदा भयो । सामन्ती खस ब्रम्हाणवादी उच्च जातीय अहंकारवादद्वारा उत्पीडित रहिआउनुको कारण नेवार समुदायको भाषा, भूगोल, अर्थतन्त्र र संस्कृतिसहित आफ्नो जातीय स्वत्व, बर्चस्व र पहिचानमाथि गंभीर प्रकारको खतरा पैदा हुँदै आएको छ ।
नेवार समुदाय जातीय चेतनामात्र होइन, वर्गीय चेतनाले समेत संमृद्ध रहीआएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने र माक्र्सवादी चेतना फैलाउने काममा यो समुदायका वर्गसचेत नेताहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । राणातन्त्र तथा राजतन्त्र विरोधी संघर्ष, सामन्तवाद तथा साम्राज्यवाद विरोधी संघर्ष तथा देशभक्तिपूर्ण आन्दोलन, महान् जनयुद्ध, पहिलो तथा दोस्रो जनआन्दोलनमा यो समुदायको उल्लेखनीय भूमिका रहेको छ । साथै, नेवार जातीय मुक्ति आन्दोलनलाई अगाडि बढाउने काममा पनि यो समुदाय सचेत एंवम् सक्रिय रहीआएको छ । उपर्युक्त प्रकारका आन्दोलनहरुमा नेवार समुदायले त्याग, वीरता र वलिदानका अनुपम कीर्तिमानहरु स्थापित गर्दै आएको कुरा कसैबाट छिपेको छैन ।
उपसंहार
नेपाली जातीय मुक्ति आन्दोलनसहित सिंगो नेपाली नयाँ जनवादी क्रान्तिको सफलताका लागि जातीय मुक्ति आन्दोलन र वर्गीय आन्दोलनका बीच एकरुपता अनिवार्य रुपमा आवश्यक छ । आजको तात्कालिक आवश्यकता भनेको सामन्तवादी ब्रम्हाणवादी५ राज्यसत्ताको अन्त गरी नेपालमा नयाँ आधारमा राज्यको पुर्नसंरचनासहित संघीय जन४गणतन्त्रको स्थापना गर्नु र यसै प्रकृयामा जातीय मुक्ति आन्दोलनका समस्याहरुको समधान गर्दै अगाडि बढ्नु हो ।
आज विश्वभर र नेपालमा पनि जातीय मुक्ति वा आत्मनिर्णयको अधिकारको मान्यतालाई साम्राज्यवाद र सामन्तवाले साम्प्रदायिकतावादका रुपमा भ्रष्टीकरण र विद्रुपीकरण गर्ने धृष्टता गर्दै आएका छन् । उनीहरुको पुरा जोड जातीय आन्दोलनलाई वर्गीय आन्दोलनबाट कटाउनुमा रहेको छ । यो कुरालाई हामीले अत्यन्तै गंभीरतापूर्वक आत्मसात् गर्न जरुरी छ ।
सम्पादकको टिप्पणी
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य “किरण” हाल विमारी भई लेख लेख्न असमर्थ हुनु भएकोले उहाँको नेस ११२८ मा हयाउँ निभाःमा प्रकाशित लेखका केही शब्द हेरफेर गर्दा आजको लागि पनि सान्दर्भिक हुने भएकोले उहाँको स्वीकृतिमा यो लेख प्रकाशित गरिएको छ ।
१. यो लेख ह्याउँ निभाः वर्ष १ अंक १ मा नेस ११२८ मा प्रकाशित “जातीय मुक्ति आन्दोलन ः दार्शनिक मान्यता र नेवार समुदाय” शीर्षक रहेकोमा शीर्षकमा केही परिवर्तन गरी प्रकाशित गरिएको छ ।
२. नेस ११२८ मा प्रकाशन भएको वेलाको पार्टी जिम्मेवारीलाई परिर्वन गरी हालको पार्टी जिम्मेवारी अनुसार राखिएको छ ।
३. पार्टीको नाममा परिवर्तन गरी अहिलेको नाम राखिएको छ ।
४. पार्टीको वर्तमान नीतिअनुसार र सान्दर्भिकताका लागि लोकतान्त्रिक शब्दलाई जन बनाइएको छ ।
५. हालको सन्दर्भ मिलाउन एकात्मकको स्थानमा ब्रम्हाणवादी राखिएको छ ।
साभार ः ह्याउँ निभाः वर्ष १० पूर्णङंक ४ कार्तिक २०७८
मूछ्याञ्जे, नेकपा (क्रान्तिकारी माओवादी)