
काठमाडौं । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)को आठौ महाधिवेशन सम्पन्न भएको छ । प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा तीन नेताले फरक मत प्रस्तुत गरेका थिए । राम कार्की र हरिबोल गजुरेलले प्रस्तुत गरेको फरक मतलाई पुरक प्रस्तावको रुपमा र लेखनाथ न्यौपानेको मतलाई फरकै मतको रुमा लैजाने माओवादी केन्द्रले जनाएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान सम्पन्न महाधिवेशनको बन्दसत्रले प्रतिवेदनमाथि समूहगत छलफल सकेर निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले हलमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिएपछि दिएपछि प्रतिवेदन पारित गरिएको थियो ।
प्रचण्डले प्रस्तुत गरेको दस्तावेजका विषयमा विभिन्न कोषबाट टिक्का टिप्पणीहरु भइरहेका छन् । सोही पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डको दस्तावेजलाई दक्षिणपन्थी संशोधनवादी भएको आफ्नो १० बुँदे फरक मतमा बताएका छन् ।

प्रचण्डको दस्तावेज माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक मान्यतामा आधारित नभएको, सारसंग्रहवादी, दक्षिणपन्थी अवसरवादी, संशोधनवादी रहेको टिप्पणी नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले गर्नुभएको छ । वर्गदृष्टि साप्ताहिक÷मूलबाटो डटकमसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रचण्डले भनेको समाजवादलाई ‘प्रतिक्रियावादी समाजवाद’को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभयो, “प्रचण्डको दस्तावेज एकातिर पुरानो सत्ता, व्यवस्था र संविधानको संरक्षण, अर्कोतिर दक्षिणपन्थी अवसरवादको सम्मिश्रणको रुपमा आएको छ ।”
माक्र्सवाद, लेनिनवाद र माओवाद भनेर दस्तावजेमा उल्लेख गरेपनि ‘माओवाद’ देखाउन र भ्रम छर्नका लागि मात्र प्रयोग गरिएको उहाँको दाबी छ ।
उहाँ भन्नुहुन्छ, “ओलीसँग एकता गर्दा ‘माओवाद’ फालिएको थियो । अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि ‘माओवाद’ राखिएको हो । देखावटी रुपमा मात्र प्रचण्डले ‘माओवाद’को प्रयोग गरेका हुन् ।”
शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भनेर प्रचण्डले दस्तावेजमा माक्र्सवादविरोधी कुरा गरेको भन्दै उहाँ भन्नुहुन्छ, “कम्युनिस्ट घोषणा पत्रमा माक्र्सले प्रतिक्रियावादी समाजवाद, सुधारवादी समाजवादको चर्चा गर्नुभएको छ । हो प्रचण्डले भनेको समाजवाद त्यस्तै प्रतिक्रियावादी समाजवाद हो । सर्वहारावर्गीय समाजवाद होइन । माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा स्थापिम गरिने समाजवाद भनेको सर्वहारावर्गीय समाजवाद हो । त्यस्तो समाजवाद सर्वहारावर्गको नेतृत्वमा सर्वहारावर्गको सत्ता (वैज्ञानिक समाजवाद) स्थापना गरिन्छ । त्यो भनेको शान्तिपूर्ण रुपमा होइन, वर्गसंघर्षको बाटोबाट स्थापित हुने हो । शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भन्नु सरासर माक्र्सवादविरोधी कुरा हो । वर्गसंघर्षलाई माक्र्सवादले सार्वभौम सिद्धान्त मानेको छ ।”
प्रचण्डले वकालत गरेको समाजवादलाई महासचिव किरणले कांग्रेसको जस्तो प्रतिक्रियावादी, सुधारवादी, सारसंग्रहवादी समाजवादको संज्ञा दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “कांग्रेस, राप्रपा, एमाले र प्रचण्डले भनेको समाजवादमा केही फरक छैन । त्यस्तो समाजवाद स्थापित गर्न किन माओवादी केन्द्र नामको पार्टी चाहियो, त्यसका लागि कांग्रेस नै खाँटी छँदैछ नि !’
राष्ट्रिय स्वाधीनताको कोणबाट हेर्दा प्रचण्डको दस्तावेजलाई कस्तो पाउनु भयो ? भन्ने प्रश्नमा महासचिव किरण भन्नुहुन्छ, “नेपालको स्वाधीनतामाथि विगत लामो समयदेखि भारतीय विस्तारवादले सीमा अतिक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । लिम्पियाधुरा–लिपुलेक–कालापानीमाथि अहिले पनि कब्जा जमाइराखेको छ । नेपालको नक्सामा समेटिएपनि उक्त भूमि फिर्ताको विषय राष्ट्रिय स्वाधीनताको प्रमुख विषय हो । यो विषय प्रचण्डले दस्तावेजमा उल्लेख नै गरेका छैनन् । एमसीसी सम्झौताको विषयमा पनि प्रष्ट धारणा आएको छैन । स्वाधीनता र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दा अमेरिकी साम्राज्यवादको अर्थनीति उदारवादका विरुद्ध लड्न जरुरी हुन्छ । त्यसका विषयमा पनि प्रचण्डको दस्तावेजमा ठोस कुरा केही पनि उल्लेख छैन ।”
राष्ट्रिय स्वाधीनताका दृष्टिबाट हेर्दा प्रचण्डको दस्तावेजलाई महासचिव किरणले राष्ट्रिय आत्मसमर्पणवादी रहेको ठहर गर्नुभएको छ । स्वतन्त्र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नका निम्ति नवउदारवाद र दलाल पुँजीवादका विरुद्धको संघर्ष अपरिहार्य हुने उहाँको कथन छ ।
उहाँ भन्नुहुन्छ, “प्रचण्डको दस्तावेजमा वित्तीय पुँजीवादको विरोध पनि टालटुले खालको छ । राष्ट्रिय पुँजीवादको विकासको कुरा गरे पनि सारतः दलाल पुँजीपति वर्गलाई संरक्षण गर्ने विचार र दृष्टिकोण रहेको देखिन्छ । प्रचण्डका थुप्रै कुराहरु अमूर्त छन् ।”
प्रचण्डको दस्तावेजका विरुद्ध फरक मतको रुपमा आएका प्रस्तावहरु खासगरी लेखनाथ न्यौपानेको प्रस्ताव ठिकै भए पनि त्यो मतले अहिल्यै माओवादी केन्द्रमा ठूलो बहसको सिर्जना गर्ने र रुपान्तरण गर्ने स्थिति नदेखिएको उहाँको भनाइ छ ।
भनेपछि माओवादी केन्द्र संसदीय धारबाट बाहिर आउने देख्नुभएन ? भन्ने प्रश्नमा महासचिव करिण भन्नुहुन्छ, “प्रचण्डको यो दस्तावेजबाट त माओवादी केन्द्र अझ मजबुत रुपमा संसदीय व्यवस्थाको बफादार बन्ने देखिएको छ । शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भनेर प्रचण्डले पार्टीलाई खाँटी संशोधनवादी पार्टीको रुपमा स्थापित गरेका छन् । अब उहाँहरुको लडाइँ भनेको कांग्रेस र एमालेको भाग खोस्ने हो । कांग्रेस, एमाले र माकेको समाजवादको नारा एउटै भएपछि अब उनीहरुलाई अप्ठ्यारो परेको छ ।”
प्रचण्डले एउटा संशोधनवादी बुर्जुवा पार्टीले जे जे भन्दा कार्यकर्ता र जनतालाई आफ्नो पक्षमा पार्न सकिन्छ, त्यही र त्यस्तै शब्द र शब्दावलीहरु दस्तावेजमा प्रयोग गरेका छन् । ४५ पेज लामो दस्तावेज शब्दजालले भरिएको छ । भन्ने तर नगर्ने पात्रको रुपमा बद्नाम प्रचण्डको दस्तावेज सारतत्वमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले भनेजस्तै प्रतिक्रियावादी, संशोधनवादी, दक्षिणपन्थी अवसरवादी र सुरधारवादी रहेको छ । नयाँ विचार र क्रान्तिको नाममा प्रचण्डले छरेका भ्रमबाट सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु अब भ्रमित हुने छैनन् ।