काठमाडौं । आज भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालबाट एमसीसी नहटेसम्म आन्दोलन जारी रहने बताउनु भएको छ ।


एमसीसी मार्फत् अमेरिका रणनीतिक रुपमा नेपालमा प्रवेश गर्न खोजेको बताउनु हुँदै उहाँले भन्नुभयो, “एक पटक प्रवेश गरेपछि फर्किन जान्दैन अमेरिका, जुन देशमा जान्छ त्यो देश खरानी पारेर छाड्छ । अफगानिस्तान र सिरियालाई मात्र हेरे पुष्टि हुन्छ ।”


आफ्नो साम्राज्यवादी अभिष्ट पुरा गर्न अमेरिकाले नेपालको भूमि, कच्चा पदार्थ र मानव शक्ति समेतको दुरुपयोग गरेर चीनका विरुद्ध युद्ध गर्न खोजेको र त्यसो भएमा नेपालको अस्तित्व नै जोखिममा पर्ने भएकोले सम्पूर्ण नेपालीहरुले एक भएर एमसीसीको खारेजीको लागि आवाज उठाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।


नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागरको सञ्चालनमा रहेको विरोधसभालाई अध्यक्ष गजुरेल सहित राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, पुष्पलाल अध्ययन समाजका सुर्य कार्की, नेकपा (माले)का घनश्याम मिश्र, माक्र्सवादी एकता अभियानका संयोजक शम्भू कट्टेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा लगायत २२ राजनीतिक पार्टी तथा संगठनहरुको संयुक्त आयोजनामा एमसीसीको खारेजीको माग गर्दै विरोध प्रदर्शनसहितको सभाको कार्यक्रम गरिएको थियो ।

राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदको कार्यसूचि बन्न नदिने उद्देश्यले २२ दलीय कार्यगत एकताको आयोजनामा आजको विरोध प्रदर्शनको आयोजना गरिएको थियो । आजको संसदको बैठकमा एमसीसी टेवल हुने आशंका गरिएको थियो । तर संसद २२ पुसमा बस्ने भन्दै आजको बैठक स्थगित गरियो ।

 

२२ पुसमा संसदको बैठक बोलाएपछि २२ दलीय कार्यगत एकताले पनि २२ गते सशक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् । आजको कार्यक्रममा २२ गते संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरिएको छ । यसअघिको संसद भवन घेराउ कार्यक्रममा ७५ जना नेता कार्यकर्ताको गिरफ्तारी र २६ जनता नेता कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर