
नेपाल र नेपालीको दुर्भाग्यका दिन अब नजिकिँदै छन् जस्तो लाग्दैछ । कमजोर र अभावका स्थितिमा बाँच्नु पनि आफैँमा एउट दुर्भाग्य हो । संसार बलियाको मात्रै रहेछ । सानादेखि ठूलासम्म सबै प्राणीबीच सङ्घर्ष देखिन्छ र सो सङ्घर्षमा बलियाको जीत र कमजोरको हार देखिन्छ । यसो हुनु स्वाभाविक र प्राकृतिक कुरा रहेछ क्यारे, दुनिया देख्दा र भोग्दा मलाई यस्तै लाग्यो ।
दु:ख र दुर्भाग्य जन्मबाटै लिएर आउँदो रहेछ मान्छेले । गरीब, भीखमङ्गाका पनि सन्तान हुन्छन् । जन्मेदेखि नै तिनका सन्तानले रोग र भोकसँग जुधेर बाँच्नु पर्छ । जुध्न नसके मर्नुपर्छ । दुनियामा छरपस्ट देखिने भौतिक वस्तुहरूको उपभोग तिनका नसीबमा हुँदैनन् कतिपय सम्पन्न परिवारमा जन्मन्छन् र जन्मबाटै तिनलाई सम्पूर्ण सुख–सुविधाका चीजहरू प्राप्त हुन्छन् । म एउटा मान्छे यस्तो देशमा जन्मेँ जहाँ जन्मकै कारणले म अभागी भएँ, दुखी भएँ । अपमान र तिरस्कारका घुट्का पाइला–पाइलामा पिउँदै बाँच्नु परेको छ आज ।




म जन्मेको देश ठूला दुई देशहरू, चीन र भारतका बीचमा अवस्थित छ । मेरो देश नेपाल चीनभन्दा पचास गुना सानो र भारतभन्दा २५औँ गुना सानो छ । हजारौँ विगाहाका मालिक जमिन्दारहरूका बीचमा हामी एक विगाहा जमिन लिएर बाँच्न विवश छौँ । बाहिरी संसारमा पुग्ने हाम्रो अर्को बाटो छैन । ठूला छिमेकीहरूले अनुमति दिए अल्लि बाहिरका छिमेकीहरूसँग भेट गर्न पाउँछौँ । अनुमति नदिए पाउँदैनौँ । ठूलाबडा मान्छे अल्लि असजिलो मानसिकताले बनेका हुन्छन् । उनीहरू आफूभन्दा कमजोर मान्छेलाई मान्छेका रूपमै गन्दैनन् । ती साना मान्छेहरूले ठाडो शीर गरेर हिँडेको पनि उनीहरू मन पराउँदैनन् । राम्रो लगाएर हिँडेको पनि मन पराउँदैनन् । खुसी अनुहार लिएर उभिएको पनि उनीहरूलाई मन पर्दैन । हाम्रा सन्तानले प्रगति गरेको देख्दा पनि उनीहरूलाई सैह्य हुँदैन । समग्रमा हाम्रो उन्नति–प्रगतिले उनीहरूलाई डाह हुन्छ, इष्र्याले जल्छन् । हाम्रो आफ्नै घरमा हामीलाई आत्मनिर्भर भएर बाँच्न पनि दिँदैनन् । हामी सबै सधैँ तिनका आसेपासे भएर मात्र बाँची रहूँ भन्ने चाहना राख्दा रहेछन् ।
भारतीयहरूलाई अङ्ग्रेजहरूले २०० वर्षसम्म दास बनाएर राखे पनि फाइदै–फाइदा भएछ । सयौँ टुक्रामा छरिएर आपसमा लड्दै बाँचेका भारतीयहरूलाई अङ्ग्रेजहरूले आजको एउटा विशाल राष्ट्र हातमा राखिदिए । अङ्ग्रेजहरू भारत आउँदा हामीलाई पो ठूलो नोक्सान भएछ । उनीहरूले हाम्रो विस्तार र निर्माणलाई रोकिदिए । स्वतन्त्र रहेर हामीचाहिँ अपाङ्गजस्तै भयौँ कतै हलचल गर्न नसक्ने अपाङ्ग ।
सन् १९४७ मा अङ्ग्रेजहरूले भारत छोडेर जाँदा भारतीयहरूलाई एउटा विशाल राष्ट्र बन्ने पूर्वाधार पनि बनाइदिए । अङ्ग्रेजहरू जाँदा सुगौली सन्धिअघिको पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मको र दक्षिणमा सुगौलीसम्मको भूभाग फिर्ता लिनुपथ्र्यो । १०४ वर्षसम्म रजाइँ गरेका राणाहरुले यति काम पनि नगरेर नेपाल र नेपालीप्रति ठूलो गद्धारी गरे । हिजोको तिनको त्यो गद्धारी आज हाम्रो लागि ठूलो अभिशाप बनेको छ । विरासतमा भारतीयहरूले आफ्ना मालिकहरूको साम्राज्यवादी विस्तारवादी सोच पनि पाए । स्वतन्त्रतापछि सत्तामा पुग्ने हरेक भारतीय नेताहरूले अङ्ग्रेजहरूको जस्तो दमनकारी र कपटी दुर्गुण वंशानुगत रूपमा पाएछन् ।
मलाई निकै अघिदेखि लागेको हो । हाम्रो दक्षिण सीमानामा एउटा अजङ्गको विषालु र डरलाग्दो अजिङ्गर सुतिरहेको छ । बेला–बेला ऊ फुङ्कार छोड्छ । हामीले यताउति हेर्नै हुन्न ऊ रिसले भाउन्न हुन्छ । उसको पेटमा हाम्रा सुस्ता, सोमेश्वर, टनकपुर, कालापानी, लिपुलेक र लिम्पियाधुरा छन् । उसको पेटमा अझ पहिल्यै मेची पचिसकेको छ । सिक्किम पचिसकेको छ । हाम्रो माने भञ्ज्याङ मेचीकिनार सबै–सबै पचाइसकेको छ । यो लामो आयु पाएको अजिङ्गर हो, यो सित्तिमित्ती मर्दैन ।
आजको केही दिनअघि नेपाली समाचार माध्यमहरूमा वीरगञ्ज न.पा.–१, छपकैया गाउँको करिब ५० विगाहा जमिन त्यो अजिङ्गरले निल्नका लागि तीखा दाँत गाडिसकेको समाचार आए । यही माघ १७ गते मैले पनि दे.ज.मो. का साथीहरूसँग छपकैया पुग्ने मौका पाएको थिएँ । यात्राभरि मनमा अनेकौँ उकुस–मुकुस र कौतुहलका छालहरू उफ्रँदै थिए । मन एकतमासको हलचलले कम्पायमान थियो । देशभक्त विज्ञहरू (फणिन्द्र नेपाल, नोबल खड्का र बुद्धिनारायण श्रेष्ठ) छिमेकी भारतले हाम्रो सानो देश नेपालका ७१ भन्दा बढी ठाउँहरूमा सीमा अतिक्रमण गरिसकेको छ, सिमानामा बाँध बाँधेर हाम्रा गाउँबस्तीहरू डुबानमा पारिसकेको छ, “लौन सत्तामा बसेर शासन चलाउनेहरू । देशमाथि हुने गरेको अतिक्रमणको विरोध गर र मिचिएको (अतिक्रमित) भूभागहरू फिर्ता गर” भनेर चिच्याइरहेका छन् । तर विडम्बना कस्तो भैरहेछ भने सत्तासीन र सत्तामा पुग्न लालायित कुनै पनि दलका नेताहरू यस्ता अतिक्रमणका विरुद्ध एक शब्द पनि बोल्दैनन् । ती विभिन्न अतिक्रमणका पीडाले छट्पटिएका बेला विभिन्न समयमा म पनि सुस्ता, सोमेश्वर, जोगवनी, पशुपतिनगर, वनवासा र टनकपुर पुगेँ । ती अतिक्रमित ठाउँहरूको दु:खद दृष्टिले मात्र पनि मन एकदम क्षत्विक्षत भयो । टुलुटुलु हेरेँ, आँखाभरि आँशु लिएर । के गर्नु देशको एउटा नागरिकले गर्ने कुरा केही हुँदो रहेनछ । सत्तामा पुग्ने जो कोही पनि तिनै प्रभुको दलाल भैसक्दो रहेछ ।
७ बजे हिँड्ने भनिए पनि सि.एम.सि. अगाडिबाट पौने आठमा मात्र एउटा मिनी बसमा हामी हिँड्यौँ । टाँडी, पर्सा र भण्डाराबाट विभिन्न कलेजका विद्यार्थीहरू पनि यात्रामा सामेल भएपछि बस भरीभराउ भयो । सबैलाई सिट पुगेन । हामी बूढाहरूलाई भने विद्यार्थीहरूले माया नै गरे । बीचबीचमा ओर्लेर चढ्दा पनि सिट कब्जा गरेनन् । बसे नै पनि लौ बुबाहरू बस्नोस् भनेर छोडिदिए । नयाँ पिढीमा एउटा सभ्यताको भने विकास भएछ कि भन्ने पनि लाग्यो ।
साथमा अ.ने.ज.साँ.स. का मित्रहरू रविकिरण निर्जीव, ईश्वरी ओझा, मोदनाथ मरहठ्ठा र अशोक शर्मा पनि हुनुहुन्थ्यो ।
हेटौँडा पुग्दा ११ बजेको (खानाखाने बेला टर्न लागेको) थियो । हाम्रो बसलाई किन हो ट्राफिकले पार्कभित्र प्रवेश दिएनन् । पार्किङ्का लागि वनविज्ञान अध्ययन संस्थान अगाडि पुग्नु पर्यो । खानाको खोजीमा पुन: १ कि.मि. जति हिँडेर बसपार्क नै आउनु पर्यो । खाना खाएर हिँड्दा १२ बज्यो । यहाँ पनि केही स्थानीय भाइहरू सीमा अवलोकन अभियानमा थपिए ।
२:३० मा वीरगञ्जको घण्टघरनेर पुगियो । त्यसपछि हाम्रो बस त्यहाँको अव्यवस्थित ट्राफिक जाममा फस्यो । कछुवा गतिमा कहिले पूर्व, कहिले पश्चिम र कहिले दक्षिण अनि कहिले पश्चिम घुम्दै धुलाम्मे र साँगुरा गल्ली, गल्छेडाहरू पार गर्दै सीमा नजिक–नजिकै अलिकति सडक छेउमा बस पार्किङ्को लागि ठाउँ मिल्यो र चालकले बसलाई त्यहीँ विश्राम दिए । हाम्रो अघि–अघि दुईजना स्थानीय व्यक्तिहरू मोटरबाइकमा पथप्रदर्शन गरिरहेका थिए । तिनीहरू पनि नभएका भए त वीरगञ्जको माकुरे जालजस्तो बस्तीमा हामी हराउने रहेछौँ । पैदल पनि करीब ३ कि.मि. जति हिँड्नु पर्यो । बसबाट ओर्लेपछि नै हामी सडकमा पङ्क्तिबद्ध भयौँ । हातहातमा प्लेकार्ड, राष्ट्रिय झण्डा, अनि छाती–छातीमा भारतीय हस्तक्षेपका विरुद्ध र दलाल नेता र सरकारका विरुद्ध लेखिएका नाराहरू टाँसेर हामी स–स्वर नारा लगाउँदै मुठ्ठी उठाउँदै अघि बढ्यौँ । ने.क.पा. क्रान्तिकारीका साथीहरू पनि आफ्नो पार्टीको झण्डा फहराउँदै अघि बढ्नु भएको थियो ।
तत्काल गर्न सकिने केही नभए पनि राष्ट्रप्रति आपत आइलाग्दा सचेत जनता त उठ्नै पर्ने थियो जाग्नै पर्ने थियो । सुतेकाहरूलाई ब्युँझाउनु पर्ने थियो । त्यसक्षेत्रका जनताका कानमा राष्ट्रभक्तिका भावना भर्नु थियो । त्यसतर्फ केही काम त भयो कि भन्ने लाग्यो ।
सीमा नजिक हाम्रो जुलुस पुग्दा प्रहरीहरू पनि सँगै मिसिए । यिनीहरूलाई लागेको हुँदो हो यी मान्छेहरू कतै नयाँ सीमा पारी पनि पुगेर केही गडबडीको सुरुवात गर्छन् कि ?
विरोधका स्वरहरू घन्काउँदै जाँदा सिर्सिया खोला पनि भेटियो । जुन उत्तरतिरबाट नागबेली पर्दै दक्षिण–पूर्वतिर बग्दै थियो । भारततिर बग्दै गरेको यो खोलो भारतीय नेताहरूको मनजस्तै मैलो र कालो थियो । यो खोलो नभएर फोहोरी नाला थियो । खोलाको डीलमा पुग्ने बित्तिकै पश्चिम पारिपट्टि दुई ठूला सेता नयाँ खम्बाहरू गजधम्म बसेका देखिए । स्थानीयहरू देखाउँदै थिए । केही दिन अघिसम्म त्यो हाम्रै जमिन थियो ।
एकजना स्थानीय बृद्ध जो सारै दुब्ला पातला थिए । उनी पनि हामीसँग हिँड्दै थिए । उनीसँग मैले सोधेँ “यो सिर्सिया कहिलेदेखि यता आएको हो ?”
“त्यही बीस पच्चीस दिन भयो ।”
“त्यसभन्दा अगाडि कता बग्दै थियो त ?”
“त्यो खोला त धेरै माथिबाट सिधा दक्षिणतिर बग्दै थियो ।”
“अहिले बर्खा पनि होइन, बाढी आएको पनि छैन । अनि कसरी यता आयो त ?”
“कहाँ हजुर, उनीहरूले उतातिर बाँध बाँधेर पानी यता बगाईदियो नि !”
अल्लि अगाडि बढ्दै जाँदा पारिपट्टि नेपाली भूभागतिर तीनवटा खाल्डा पिलर गाड्न ठिक्क पारेका भैटिए । यहाँचाहिँ पिलर गाड्न जनता, देशभक्त, बुद्धिजीवी र पत्रकारहरूको विरोधका कारण रोकिएको रहेछ । हामी सिर्सिया केही मोडिएर पूर्वतिर बग्दै गरेको किनारमा जम्मा भयौँ । त्यहाँ एउटा विरोध सभाको आयोजना गर्यौँ । सभाका प्रमुख वक्ता थिए अखिल क्रान्तिकारीका अध्यक्ष सेवन्त भण्डारी । उनको बोलाइको भाव थियो – पहिलो यो देशका सञ्चालकहरू दलाल हुन् । उनीहरूकै अकर्मण्यता र दलालीका कारणले भारत नेपाली भूमि अतिक्रमण गर्न उक्सिएको हो । नापी विभागको मिलेमतोमा नेपालका भूमिहरू बेचिएका हुन् । नेपालीहरू बेलैमा सचेत भएर देशको सूरक्षामा जुट्नुपर्छ । यो आमसभा चल्दै गर्दा पारिपट्टि भारतीयहरू चर्कोचर्को स्वरमा कराएर हल्ला गर्दै थिए, हाम्रो अभियानलाई गिल्ला गर्दै थिए ।
सभाका अर्का वक्ता थिए २ नं. प्रदेशका एकजना सक्रिय देशभक्त नेता कृष्णदेव सिंह उनले पारिपट्टिकाले पनि बुझून् भनेर हिन्दीमैँ बोले “हामी वारिपारिका जनतामा कुनै वैमनस्यता छैन । यो सबै स्थिति आएको हाम्रै नेता र सरकारका कारणले हो । हाम्रा नेताहरूलाई देशको माया छैन । उनीहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि देश बेच्ने गर्छन् । हाम्रो सीमा रातारात सारिएको हुन्छ । आज नेपाली भएर सुतेको मान्छे, भोलिपल्ट ऊ भारतीय भूमिमा हुन्छ । ऊ त्यो भूमिलाई आफ्नो भन्न पाउँदैन । लखेटिनु पर्छ, सुकुम्बासी बन्नुपर्छ, सुस्ताका जनताको त्यस्तै हालत भयो । मेची किनारका बस्तीहरू त्यसरी बलात्कृत भए । माने भञ्ज्याङ लुटियो । देश लुटिँदा, नेपाली जनता अनाथ हुँदा नेपालको सत्ता कहिल्यै बोलेकै छैन । भारतसँग नेपालका चारवटा नक्सा छन् । ऊ नयाँनयाँ नक्सा बनाइरहन्छ । आफ्ना दलाल हाम्रा सत्ता सञ्चालकहरूलाई पैसाले किन्छ र सीमाना मिचिरहन्छ जनता ब्युँझेर राष्ट्ररक्षा गर्ने कहिले हो खोई तर जनताले हरेस खानुहुन्न, देशभक्त नेता जन्माउनु पर्छ अनिमात्र देशको रक्षा हुन्छ ।”
कार्यक्रमको अन्तिममा केही पत्रिकाका पत्रकारहरू हुँ भन्नेहरूले भण्डारीसँग अन्तर्वार्ता पनि लिए । ती मध्ये एकजनाले म नवभारत टाइम्स पत्रिकाको संवाददाता हुँ पनि भन्दै थियो । उनीहरूको प्रश्न सोधाइ बुझ्दा लाग्थ्यो यिनीहरू सबै भारतीय नै हुन् । ५ बजे हामी अतिक्रमित सीमाबाट दु:खी र आक्रोशित मन लिएर फक्र्याैँ । घण्टाघरचोकमा एक कोणसभा राखियो । केही विद्यार्थीहरूबाट आजको कार्यक्रमबारे प्रकाश पार्दै दलाल हाम्रो सरकार र अतिक्रमणकारी भारतीय सत्तालाई चेतावनी दिए ।
घण्टाघरकै तल एउटा अनसन कार्यक्रम पनि २७औँ दिनमा चल्दैरहेछ । तीन–तीन घण्टाको रिले अनसन रहेछ त्यो । बुझ्दा थाहा पाइयो यो अनसन त दुई नम्बर प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्छ भन्नेरहेछ । यहाँका नेताहरूको यो गैह्रराष्ट्रवादी नियत देख्दा मन साह्रै दुख्यो । आफ्नै आङ्मा आगो लागेको छ । यिनलाई मतलब छैन । नपालप्रति माया भए, यो अनसन त, ‘देशको सूरक्षा गरी पाऊँ’, भन्नका लागि हुनुपथ्र्यो । यो अनसनको पारा देखेर मोदनाथजी भन्दै हुनुहुन्थ्यो, “यी बदमासहरूलाई के को देशको चिन्ता ? यसलाई राजधानी बनाउन पाए । ठूलो व्यापार गरेर सम्पत्ति कमाउँला भन्ने मात्रै छ ।”
करीब ५:३० बजे घण्टाघरबाट बसतिर जाँदै गर्दा भोको पेटले मकै देख्यो । दश–दशका पाँच पोका फुल मकै र एकमाना बदाम लिएँ । त्यो फुटपाथ पसले सोध्दै थियो, “के को कार्यक्रम हो यो ?”
मैले सोधेँ, “भाइ, तिमीलाई भारतले ५० विगाहा छपकैयाको जमिन मिचेको थाहा छैन ?”
“अहँ, थाहा छैन ।”
“तिमी वीरगञ्जकै मान्छे । वीरगञ्ज छेउको जमिन लुटिँदा तिमी थाहा छैन भन्छौ, यस्तो पनि हुन्छ ?”
“के गर्ने त, कसैले कुरै गर्दैन ।”
“लौ हेर्नोस् त, वीरगञ्जवासीको चाला ?”
यिनीहरूको भित्री आशय पनि होला – भारतले नेपाल मिचेर के फरक पर्छ र ?
५:२० बजेतिर हाम्रो बस फिर्ता भयो । आजको यो सीमा अवलोकनले मन एकदम व्यथीत बनायो । सन् १९७१ मा भारतले २५ वर्ष लगाएर सिक्किम निल्यो । सिक्किममा आफ्ना नागरिकहरू बसाएर सांसदहरूलाई किनेर बहुमत बनाएपछि सिक्किमलाई एक रातमा निलेको थियो । सिक्किमका राष्ट्रवादी सेना थुप्रैलाई गोलीले भुटेर दरबार कब्जा गरेको थियो । मेरो मन चिसो भयो । कतै कुनै एक समयमा हाम्रो प्रतिनिधि सभाका सबै सदस्यहरूलाई किनेर त्यही सिक्किमकै इतिहास त दोहोरिँदैन ? आशा गरौँ सबै नेता त्यस्तै दलाल हुने छैनन् । अधिकांशको मन, मुटुमा नेपाली रगत बगेकै होला । नेपाल आमाले धेरै नभए पनि केही न केही त मातृभूमिप्रेमी सन्तान जन्माएकै होलिन्