काठमाडौं । ‘अक्टोबर क्रान्तिको सन्दर्भ र मजदुर आन्दोलनको दिशा’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले प्रचण्ड मालेमावादी नभएर केरेन्स्कीवादी भएको बताउनु भएको छ । रुसको फरबरी क्रान्तिलाई नेपालको सन्दर्भसँग तुलना गर्दै रुसमा भएको फरबरी क्रान्तिले त्यहाँको जारशाहीको सत्ता ढालेजस्तै नेपालमा पनि दशवर्षे जनयुद्ध र १९ दिने आन्दोलनले राजतन्त्रलाई समाप्त पारेको बताउनु भयो । रुसमा फरबरी क्रान्तिपछि भएको अक्टोबर क्रान्तिले समाजवादी सत्ता स्थापना गरेजस्तो नेपालमा भने अर्को क्रान्ति नहुँदै प्रतिक्रान्ति भएको चर्चा गर्नुभयो । विचार र राजनीतिको तहमा पार्टीको मूल नेतृत्वमा आएको विचलनका कारण क्रान्ति प्रतिक्रान्तिमा फेरिएको बताउनु भयो ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले प्रचण्डले मालेमावादी विचार छाडेर केरेन्स्की विचार अर्थात् संशोधनवादी र अवसरवादी विचार समातेपछि क्रान्ति प्रतिक्रान्तिमा फेरिन पुगेको पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केरेन्स्कीको विचार बोकेर प्रचण्डले समाजवादको भ्रम छरिरहेका छन् । अब उनले छरेको भ्रम लामो समयसम्म टिक्नेवाला छैन ।’
दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था अन्तर्गतको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबैभन्दा बढी प्रचण्ड लागिपरेको चर्चा गर्दै उहाँले दशवर्षको जनयुद्ध यो संसदीय व्यवस्थाको समूल नस्ट गरेर नयाँ जनवादी व्यवस्था स्थापनका लागि भएको स्पष्ट पार्नु भयो ।

‘भियतनाम युद्धमा नराम्ररी पराजित भएपछि पुँजीवादी साम्राज्यवादीहरुले युद्ध गरेर, मान्छे मारेर कम्युनिस्ट सत्ता र व्यवस्थालाई सिध्याउन नसकिने रहेछ भन्ने निष्कर्ष निकाल्दै कम्युनिस्ट क्रान्ति तथा व्यवस्थालाई खत्तम पार्न एकातिर विचार र राजनीतिक रुपमा नेतृत्वलाई सिध्याउने, अर्कोतिर नेतृत्वलाई जेल हाल्ने वा हत्या गर्ने नीति लिए । पेरुमा गोन्जालोलाई जेल हालेर त्यहाँ क्रान्तिलाई निस्तेज पारे भने नेपालमा प्रचण्डलाई विचार र राजनीतिका च्युत गरेर उनलाई नै खलनायकको रुपमा प्रयोग गरेर क्रान्तिलाई सिध्याए ।’ अध्यक्ष गजुरेलले अगाडि भन्नुभयो, “प्रचण्डले दक्षिणपन्थी संशोधनवादी÷अवसरवादी लाइन लिएका कारण जनयुद्धका सबै उपलब्धिहरु गुम्न पुगे ।”
उहाँले दाबी गर्नुभयो, “प्रचण्डलाई नै प्रयोग गरेर जनमुक्ति सेना सिध्याइयो, बाबुरामलाई प्रयोग गरेर संविधानसभा विघटन गरियो ।”
अक्टोबर क्रान्ति युगान्तकारी परिघटना रहेको चर्चा गर्दै उहाँले नेपाली क्रान्तिका लागि सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा पुनः जोड दिनुभयो ।

उहाँले अहिले अनेकथरी समाजवादी देखिएको चर्चा गर्दै जनमतसंग्रहबाट वैज्ञानिक समाजवादको स्थापना गर्ने विचारले अर्को भ्रम छरेको बताउनु भयो । नेपाली क्रान्तिमा दायाँ र बायाँबाट छरिएका भ्रमहरुलाई साफ नगरी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन गाह«ो पर्ने बताउनु हुँदै संघर्षकै प्रक्रियाबाट यस्ता भ्रमहरु साफ हुँदै जाने पनि बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पीवीएम इन्द्रमोहन सिग्देलले अक्टोबर क्रान्तिबाट नेपाली क्रान्तिका लागि महत्वपूर्ण शिक्षा लिन सकिने कुरा बताउनु भयो । हरेक समस्याको समाधान विचार र राजनीतिमा खोज्नुपर्ने बताउनु हुँदै अक्टोबर क्रान्तिले विचारको महत्वलाई सबैभन्दा बढी महत्व दिएको बताउनु भयो ।
कार्यक्रमलाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, जिल्ला जनगणतािन्त्रक सम्पर्क मञ्चका अध्यक्ष विष्णु खड्का, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष पासाङ मोक्तान, वामपन्थी अभियन्ता सत्यबहादुर ऐडी लगायतका नेताहरुले अक्टोबर क्रान्तिको बहुआयामिक महत्व र नेपाली क्रान्तिको बाटोको विषयमा चर्चा गर्नुभएको थियो ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको सुरुमा अध्यक्ष तिमिल्सिनाले ‘अक्टोबर क्रान्ति र मजदुर आन्दोलनको दिशा’ शीर्षकको विषयमा संक्षिप्त अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी सम्बद्ध नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम क्रान्तिकारी माओवादीको सम्पर्क कार्यालय कुपण्डोलमा सम्पन्न भएको थियो ।































